हरायो सित्खाका मसान !

देवशंकर पौडेल

सुप्रसिद्ध खाँडादेवी मन्दिरदेखिको जलप्रवाह प्रवाहित भएर सुनकोसी नदीमा समाहित हुनु अगाडि यस खोलालाई सित्खाखोला भन्दछन् । नजिकै सुनुवारखोप गाउँको सिरानमा रहेको सूर्य, चन्द्र र नाग अंकित बोक्सी पहराबाट उत्पत्ति भएर बग्ने खोलालाई सुनकोशीमा समाहित हुनु अगाडि गुन्द्रुकखोला भन्ने गरिन्छ । यी दुवै खोलाको शिर र दोभान नजिक नजिक छन् । यी खोलाका माझमा लुकेछिपेका अनेकौँ किंवदन्तीहरू छन् । जो आज पनि मान्छे सुनाउँछन् र सुन्छन्, कसैले पत्याउँछन् कोही कोही होइन, भ्रम हो भन्छन् ।

आजभन्दा ठिक सय वर्षअगाडि नेपालमा सबैतिर सतिप्रथा कायम थियो । त्यस समयमा पति मरेपछि उनकी पत्नीलाई लाससँगै चितामा बाँधेर जीवितै पोल्ने गरिन्थ्यो । पत्नीले चाहे पनि वा नचाहे पनि पतिसँगै चितामा जल्नु पथ्यो । त्यही बेला कुनै एक सतिलाई जीवितै चितामा राखेर जलाउन भनेर भिरपानीको ओरालो हिँडाएर खोलाको बगरै बगर सुनकोशीको घाटतर्फ लगिँदै थियो । मृतकलाई त बाँधे मलामीले बाक्दै तल झारे । जीवित सतिलाई भने नांगा खुट्टा ओरालो बाटो हिँडाएर ल्याए । हिँड्दै गर्दा उनलाई तिर्खा लाग्यो । सतिले चहरी पुगेपछि खानका निमित्त पानी मागिन् । त्यस समयमा स्थानीयका गाग्रामा पानी रहेनछ । सबैका गाग्री रित्तै रहेछन् । उनले मागे पनि कसैले पानी दिन सकेनन् । सतिलाई पानीको साटोमा दही र मोहि चाहिँ प्रशस्त खुवाए । उनले पानीको तिर्खा दहीमोहीले मेटाउने प्रयास त गरिन् तर सन्तुष्ट भइनन् । पानीको तीर्खा मेटाउन नपाएपछि सतिले भनिछन्, ‘यो खोलामा अब कहिल्यै पनि पानी नहोस्, खोला गुन्द्रुक सुकेझैँ सुकेर जाओस् । तर यहाँका गाईभैँसी फस्टाउन्, गोरस भने प्रशस्त हवस,’ भनेर श्राप दिइछन् ।

उनले श्राप दिएको बेलादेखि त्यस खोलामा पानीको अभाव भयो । उनले भने जस्तै खोला सुकेछ र परम्परागत मूलहरू पनि सुके । अनि खोलाको नाम नै ‘गुन्द्रुक खोला,’ रहन गएको हो, भन्ने गरिन्छ । रामेछाप तर्फको गुन्द्रुक खोला र सिन्धुलीतर्फको बालुनदी (भोटेखोला) आमुन्नेसामुन्ने भएर सुनकोसीमा मिल्दछन् । बालुनदी सहस्रधारा नामको तीर्थस्थल भएर बहन्छ । यस्तो तीन नदीको संगमस्थललाई आज पनि पवित्र मानिँदो रहेछ । स्थानीय बुढापाका भन्ने गर्छन्, ‘सत्ययुगमा ऋषि मार्केण्डेयले यहि गुन्द्रुक खोला दोभान (चहरी) मा उनका पितृ उद्धारका खातिर श्राद्ध गरेका थिए रे ! त्यस घाटमा गएर पितृहरूको नाम संझिएर अञ्जुलीभरि जल उघाएर नजिकै रहेको बाल्मीकेश्वर मन्दिरतर्फ फर्किएर तर्पण मात्र दिए पनि पितृ प्रसन्न हुन्छन्,’ भन्ने गरिन्छ । यो ठाउँ सिन्धुली जिल्ला, मूलकोट नजिकै भएर बहने खोलाको त्रिवेणीभन्दा ठीक पारिपट्टी रहेको छ । आज पनि त्यही विश्वासका आधारमा कतिले आफ्ना पितृको नाममा तर्पण दिँदै आएका छन् ।

यस्तै सतिको अर्को पनि घटना छ । कुनै सति गुन्द्रुक दोभानसम्म खेदिएर जीउँदै पोलिनबाट बच्न स्मसानघाट जानुको साटो विद्रोह गरेर बीचबाटै भागिछन् । तत्काल लुक्नसम्म त लुकिन् । एक महिला कहाँ जानु थियो र ! त्यतै ओडार र जंगलतिर केही रात लुकिन्, सकेसम्म केही दिन छिपिन् । जंगली कन्दमूल खाएर बाँचिन् । क्रुर परम्पराले जेलिएको दुष्ट समाजले निगरानी गरिरहेको थियो । केही दिनमै उनी लुकिछिपी त्यहाँ बसेको थाहा पाइहाल्यो । गाउँलेले थाहा पाएपछि ज्यान जोगाउन उनी त्यहाँबाट पनि भाग्ने प्रयास गरिन् । स्थानीय नातेदार गाउँलेहरूले ‘समाउँ यस असतिलाई !’ भन्दै चारैतिरबाट घेरा हालेर पक्रिए । पाता फर्काएर लडाए, त्यहिं चिता बनाए, जीउँदै चितामा तेस्र्याए, बाँसका घाराले थिचे अनि पोलेर खरानी पारे । यी दुई खोलाको शीर नजिकै खाँडादेवी मन्दिरभन्दा केही तल हिलेचउरका छेउमा उक्त ठाउँलाई सतिपोल्ने डाँडाका नामले आज पनि चिनिन्छ ।

अर्कातिर हालको सित्खा दोभानलाई लोस्याट भनिन्छ । लोस्याट सित्खा पानीढलोका गाउँहरू निगालपानी, धुसाल, मझुवा, घिच्याट, कम्राती, आँपचउर, सित्खाटार, कोलचउर आदि गाउँको स्मसान घाट हो । यहाँको कथा अर्कै छ । यी गाउँहरूमा कोही मानिस मर्नु छ भने अघिल्लो रात लोस्याटबाट नौमति बाजा बजाएर मसाने जन्ती सित्खा गाउँतिर उकालो लागेका हुन्थे । सित्खाटारका बरका हाँगा भाँचेर उपद्रो मचाउँथे । बिहान हेर्दा बर भाँचिएको हुँदैनथ्यो । जस्ताको त्यस्तै हुन्थ्यो भन्ने जनविश्वास रहेको छ ।

यी मसानहरू कुतुर्साको जंगलसम्म तर्साउन पुग्थे । कतै सेतो मानिस गजधम्म उभिएको देखिन्थ्यो । हेर्दा टाउको नभएको कुमकुममा आँखा भएको हुन्थ्यो । आँप चउरको धारामा राती लुगा पिटिपिटी धोएको आवाज आउँथ्यो । मानिस रहेछन् भनेर धारामा गयो, मानिस जाने बित्तिकै चकमन्न हुन्थ्यो, कोही भेटिदैनथ्यो । केही पर विश्वकर्मा टोल नजिक पुग्दा अगिअगी सँुगुर हिँडेको चाल र आवाज दिन्थ्यो, केही हुँदैनथ्यो । घिच्याट स्कुल छेउको पहराबाट अनायास ढुंगा लडाएको ठूलो ठूलो आवाज आउथ्यो । डरले विद्यालय छेउमा पुग्यो, बाल बच्चाहरू झ्याउँझ्याउँ कराइकराइ पढिरहेको सुनिन्थ्यो । भदौरे आँप भएको खोल्सामा जानै हुँदैनथ्यो । नजिक पुग्ने बित्तिकै अनेक आवाज निकालेर आफ्नो छेवैबाट तर्साउने मसानहरू स्वाट्ट दौडिन्थे । यहाँको भेद बुझेका गाउँबेँशी गर्नेहरूलाई पनि रात साँझ हिँड्न आतेश लाग्थ्यो । उनीहरू सकेसम्म समय छलेर वा साथीहरूसँग हिँड्थे

त्यस बेला बाल मृत्युदर आजभन्दा बढी थियो । अकालमा मरेका सित्खाटारका बालबालिलकालाई त्यतै खोल्सातिर गाडिन्थ्यो । त्यहि बाटो भएर रात साँझ गाउँबेँशी गर्नुपथ्र्यो । चिहान खोल्सामा पुग्दा बच्चा रोएको आवाज आउँथ्यो । डरले स्थानीय मानिसहरूको सातोपुत्लो जान्थ्यो । अझै पनि सित्खाटारतिर ‘बालबच्चाहरू साँझ पहेँला घाममा बाहिर ननिस्किनु, मसानले फेलापार्छ’ भन्ने चलन छ । मानिस अहिले पनि डराउँछन् । खास गरी बालबालिकालाई मसान लाग्छ भनेर स्थानीय डराउँछन् ।

तर आज सित्खा दोभानको लोस्याट भन्ने ठाउँमा पहिले झोलुंगे र पछि पक्की पुल बनेका छन् । ढुंगा र बालुमा मात्रै देखिने बगर भरी पक्की घरहरू लटरम्म छन् । त्यो ठाउँ हिजोको जस्तो बगर होइन, एउटा सुन्दर बजार बसेको छ । महत्वपूर्ण व्यापारिक केन्द्र भएको छ यो ठाउँ । मसान कराउँछ भनेर डराउने र त्रसित हुनेले सित्खा गाउँको चिहान खोल्साको बाटो हर्न बजाउँदै गाडी हेर्ने गरेका छन् । अचेल तर्साउने, भूत, प्रेत, मसानले न पञ्चेबाजा, न नौमति बाजा नै बजाउँछन् । मान्छे मर्ने संकेत दिन न बरका हाँगा भाँच्छन्, न बच्चा नै रुन्छन् । न बाटामा गजधम्म मुर्कुटाहरू नै देखा पर्छन् । वैज्ञानिक चमत्कारका अगाडि सबै सबै हराए । हिजोका ती सबै कुरा आज किम्बदन्ती जस्तो भएको छ । ठाउँ उही हो रूप फेरिएको छ । स्वरूप सुन्दर भएको छ र ती सबै प्रकारका भूत र मसान बिलाएका छन् । त्यसैले आजकाल कोही पनि डराउँदैनन् ढुक्कले हिँड्छन्, आफ्नो काम गर्छन् ।

प्रतिक्रिया