राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग स्थगित गरेको छ । कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो । एन्फाले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रतियोगिता स्थगित भएको जनाएको हो । यस्तै एन्फाले नयाँ मिति भने अर्को सूचनामार्फत जारी गर्ने जनाएको छ । यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले बोल्दै राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताएका थिए ।

एन्फाको २२ पुसमा बसेको २४ घण्टा लामो साधारण सभाले महिला राष्ट्रिय लिग यही १५ माघदेखि संशोधित बजेटसहित पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय गरेको थियो । यस पटक एन्फाले आठ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो । तर, कोरोना संक्रमण बढ्दै जाँदा मैदान तयारीदेखि क्लबको तयारीलाई समेत प्रभावित हुँदा एन्फा कोरोना परिस्थिति हेरेर लिग गर्ने निर्णयमा पुगेको हो ।

यसअघि एन्फा महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराएका थिए । लिगमा गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले लिग खेल्नेछन् । गत फागुनमा सम्पन्न लिगमा एन्फाले सहभागी टोलीलाई ४ विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।

प्रतिक्रिया