‘रंग भिरंगी’ मा स्वस्तिमाको आइटम

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेको दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ को गीत ‘रंग भिरंगी’ सार्वजनिक भएको छ । स्वस्तिमाको आइटम नृत्य रहेको गीतको भिडियो शनिबार साँझ सार्वजनिक गरिएको हो । गायिका सुनिधि चौहानको स्वर भरेको उक्त गीतमा संगीत विजिवाल र शब्द तनिश्क नब्बरको रहेको छ । गीतको भिडियोमा रेडलाइट एरिया देखाइएको छ । नेपालमा रेडलाइट क्षेत्र देखाइएको गीतमा भारतबाट आएका चलचित्रका पात्रहरु यो क्षेत्रमा गएको प्रसंग गीतमा प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलर र स्वस्तिमाको नृत्य रहेको गीत सार्वजनिक भए पनि उनको भूमिकाबारे केही पनि सार्वजनिक गरिएको छैन । अभिनेत्री स्वस्तिमाको यो गीतमा आइटम नृत्यमात्रै छ कि अन्य पनि भूमिका छ भन्ने अहिलेसम्म खुलाइएको छैन । जेभियर एलेक्सले लेखेको यो चलचित्रको निर्देशन राजीव सेट्टीले गरेका छन् । चलचित्रमा अभिनेत्री स्वस्तिमासँगै नेपाली कलाकार माओत्से गुरुङ, उमेश लामा लगायतको अभिनय छ । यीसँगै चलचित्रमा दक्षिण भारतीय अभिनेता विविन जर्ज, धर्माजन बोल्गट्टी, जोन्नी एन्टोनी, सलिम कुमार, हरिश कनारन लगायतको अभिनय छ ।


नेपालका विभिन्न स्थानमा छायांकन गरिएको यो मलयालम चलचित्रमा अभिनेत्री स्वस्तिमाको आइटम गीतले नेपालमा तरंग ल्याएको छ । चलचित्रमा स्वस्तिमा हिन्दी गीतमा नृत्य गरेकी छन् । ट्रेलर र गीतमा केरलाबाट घुम्न आएका भारतीय नेपालमा वेश्यालय खोज्दै हिँडेको देखाइएको छ । सोक्रममा उनीहरु स्वस्तिमा नाचेको ठाउँमा पुगेको देखाइएको छ । जहाँ भोग्नका लागि राखिएका तस्बिर हेर्दै मन परेको युवतीलाई उनीहरुले छान्छन् । केहीदिन अघिसम्म यस्ता तस्बिर राख्ने ठाउँमा निर्माण टिमले नेपाली अभिनेत्री अदिती बुढाथोकी र जसिता गुरुङको तस्बिरसमेत राखेको थियो । यसका बारेमा टिकाटिप्पणी र समाचार आएपछि निर्माण पक्षले उनीहरुको तस्बिर भएको भाग हटाएको छ । गीतको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको विरोध भएको छ । साथै उनीहरुले अभिनेत्री स्वस्तिमा नेपाललाई गलत तरिकाले चिनाउने गरी तयार पारिएको गीतमा नृत्य गर्न किन राजी भइन् भन्ने प्रश्न उठाएका छन् । गीतले नेपाल केटीहरु भोग्नका लागि छानी छानी पाइने ठाउँको रुपमा देखाएको छ ।

प्रतिक्रिया