खुम्चियो खेलकुद गतिविधि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कोरोना महामारीका कारण आफ्नो मातहतमा रहेको रंगशाला, कभर्डहल, स्विमिङपुल, जिमखान, फुटसललगायतका खेल पूर्वाधारहरु अनिश्चितकालका लागि बन्द गरेको छ । राखेपले आइतबार एक सूचना जारी गर्दै रंगशालालगायतका स्थानमा हुने खेलकुद गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । सरकारले कोभिड–१९ को संक्रमण रोकथामका लागि भिडभाड हुने कार्यक्रमहरु निषेध गरेका कारण खेल पूर्वाधार बन्द गरिएको राखेपले जनाएको छ ।

उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अत्यधिक भिडभाड हुने स्थानमा कुनै पनि गतिविधि नगर्न सूचना जारी गरेको थियो । त्यसमा सामुहिक खेलकुद गतिविधि पनि परेको थियो । ‘ओमिक्रोन सहितको संक्रमण तिब्र रुपमा बढ्दै गएको सन्दर्भमा सो को रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयबाट जारी आदेश अनुसार जिमखाना, रंगशाला, कभर्डहल, स्विमिङपुल, फुटसल लगायतका मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रमहरु गर्न गराउन निषेध गरिएको हुँदा राखेपअन्तर्गत रहेका रंगशाला, कभर्डहल र स्विमिङपुल लगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको व्यहोरा अनुरोध गरिन्छ’, राखेपद्वारा जारीसूचनामा भनिएको छ ।

प्रतिक्रिया