आहा—रारा गोल्डकप फुटबल : सेमिफाइनलमा पुग्यो मनाङ

पोखरा । मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी ‘२०औं आहा—रारा गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङ्ले आइतबार खेलिएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पोखरा रंगशालामा भएको उक्त खेलमा मनाङलाई सजिलो जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक÷एक गोलको योगदान गरेका थिए । उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

मनाङले दुबै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित समयको ६४औं मिनेटमा रुपेशले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । उनले ओलावालेको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । निर्धारित समयको ८७औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को सजह जित दिलाए । उक्त खेलमा उनी म्यान अफ दि म्याच पनि घोषित भए । मनाङले सेमिफाइनलमा टोली विभागी त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ ।

हारसँगै पुलिस क्लब भने उपाधि होडबाट बाहिरिएको छ । यसअघि एपीएफ क्लब बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोलले हराउँदै प्रतियोगिताको अन्तिम चारमा पुगिसकेको छ । सहारा क्लब पोखराले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया