‘लोकसेवाप्रति जनताको विश्वास बढ्दै’

मोरङ । प्रदेश–१ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोग निष्पक्ष रूपमा कार्य सम्पादन गर्दै जनतामा विश्वसनीयता कायम गर्न सफल भएको बताएका छन् । प्रदेश लोक आयोगको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा विराटनगरमा आइतबार आयोजित कार्यक्रममा उनले निष्पक्ष, दक्ष, इमानदार, समक्ष कर्मचारी उत्पादन गरेर आयोगले विश्वसनीयता कायम गरेको बताए ।

प्रदेश प्रमुख खापुङले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न प्रदेस सरकारले आयोगलाई सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार जनशक्ति पूर्वाधारको अभाव साथै कानुनी अडचनका बाबुजुद पनि प्रदेश लोकसभाले दुई वर्षको अवधिमा उल्ल्लेखनीय काम गरेको बताए ।

उनले निजामति ऐन आउन नसक्दा कानुनी वाधा अड्चनका कारण आयोगले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै ऐनकानुन निमार्णमा संघीय सरकारको ध्यान जानु आवश्यक रहेको बताए । उनले संघको निजामति ऐन जारी नभएको अवस्थामा प्रदेश निजामति ऐनमार्फत के कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने सम्वन्धमा आवश्यक सुझाव दिन आग्रह गरे ।

मुख्यमन्त्री राईले संघीय सरकारले दिने अनुदानको बजेट रकम अत्यन्त कम भएको तथा, राजस्व संकलन सीमित दायराको कारण प्रदेश सरकारले अपेक्षित रूपमा आफ्नो दायित्व पूरा गर्न नसकेको बताए । संघीय सरकारको नीति कार्यक्रमले प्रदेश र स्थानीयतह बलियो बन्न नसकेका कारण संघीय प्राणालीमाथि नै प्रश्न उठिरहेको उनको भनाइ थियो ।
प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले संघीय सरकारको समायोजन ऐनलाई टेकेर खाली भएका स्थानमा मागअनुसार कर्मचारी पदपूर्ति गर्न सकिने बताए ।

प्रदेश लोकसेवा आयोगका सचिव यज्ञराज कोइराला र लोकसेवा आयोगका सदस्य सजना दाहालले प्रदेशका स्थानीय तहहरूले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री राईले संयुक्त रूपमा प्रदेश लोक सेवा आयोग स्मारिका विमोचनसमेत गरेका थिए ।

प्रतिक्रिया