इन्टरनेट समस्या समाधान हुन समय लाग्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपीएन)ले मुम्बइ–गल्फ रुटमा एक साताअघि आएको टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोटनका कारण उत्पन्न सुनामीले बिग्रिएको इन्टरनेट सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने बताएको छ । आईएसपीएनले विज्ञप्ति जारी गर्दै मुम्बई–गल्फ रुटमा समस्या आएपछि यसको असर नेपाली इन्टरनेटको गतिमा समेत परेको जनाएको हो ।

भारतका इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरटेल, टाटा र साइफाइमार्फत नेपालले इन्टरनेट ल्याइरहेको छ । तिनीहरूमा समस्या देखिएकाले नेपालमा पनि समस्या देखिने आईएसपीएनले जनाएको छ । समुन्द्रमुनिको इन्टरनेट सञ्जालको लाइनमा समस्या आएपछि नेपालमा समेत असर देखिएको र केही साताभित्रै समस्या समाधान हुने आईएसपीएनले भनेको पनि विज्ञप्तिमा उल्लेख छ । मुम्बई–गल्फ रुट हुँदै मध्यपूर्व, अमेरिका र युरोपमा समेत इन्टरनेट सञ्जाल लगिएको छ । उक्त रुटका कतिपय तारहरू चुँडिएपछि वैकल्पिक माध्यममार्फत इन्टरनेट लैजान प्रयास भइरहेको समेत बताइएको छ । केबल–सीप, मौसमको अवस्था, खुला समुन्द्र र श्रम अनुमतिको उपलब्धताजस्ता कुरामा इन्टरनेटको समस्या कति चाँडो समाधान हुनेछ भन्ने कुरा निर्भर हुने अपेक्षा गरिएको छ ।

गत शनिबार प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोट हुँदा त्यसले आकाशमा धुवाँ र खरानीको मुस्लो निस्किएको थियो भने टोंगाको तटीय क्षेत्रमा बज्रिने गरी १ दशमलव २ मिटरसम्मका छाल सिर्जना गरेको थियो । त्यसको केही घण्टापछि टोंगाको इन्टरनेट र फोन लाइन भंग हुँदा त्यहाँका मानिर्स बाँकी विश्वबाट सम्पर्कविहीन हुन पुगेका थिए ।

प्रतिक्रिया