अस्ट्रेलियन ओपन टेनिस : चौथो चरणमा पुगिन् आर्यना

मेलबर्न । दोस्रो वरीयतामा आसिन आर्यना साबालेन्का वर्षको पहिलो ग्रान्डस्लाम टेनिस ‘अस्ट्रेलियन ओपन’ को चौथो चरणमा पुगेकी छन् । बेलारुसकी उदीयमान खेलाडी आर्यनाले महिला एकलतर्फ शनिबार भएको तेस्रो चरणको खेलमा मार्केटा भोन्डरसोभालाई पराजित गरिन् । २३ वर्षया आर्यनाले खेलमा उत्कृष्ट पुनरागमन गरिन् । उनी पहिलो सेटको खेलमा ४—६ अंकले पछाडि परेकी थिइन् । तर, त्यसपछि बाँकी दुई सेटको नतिजालाई क्रमशः ६—३, ६—१ अंकले आफ्नो पक्षमा पार्दै आर्यना चौथो चरणमा पुग्न सफल भइन् ।

यसअघि सन् २०२१ म पनि अस्ट्रेलियन ओपनको चौथो चरणसम्म पुगेकी थिइन् । समग्र ग्रान्डस्लाम प्रतियोगितामा भने उनी सेमिफाइनलसम्म पुग्न सफल भएकी छन् । उनी सन् २०२१ मा विम्बल्डन र यूएस ओपनको सेमिफाइनलमा पुगेकी थिइन् । अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनमा भने उनी तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् । उनी सन् २०२० र सन् २०२१ मा फ्रेन्च ओपनको तेस्रो चरणसम्म पुगेकी थिइन् । पहिलो सेटको नतिजालाई आफ्नो पक्षमा पारेकी ३१औं वरीयतामा आसिन चेक खेलाडी मार्केटाले पछिल्लो दुई सेटमा भने गतिलो प्रदर्शन गर्न सकिनन् ।

मार्केटाले अब प्रतियोगिताको चौथो चरणमा अनुभवी खेलाडी काइक कानेपीसँग प्रतिस्पर्धा गर्नेछिन् । ३६ वर्षीया कानेपी भने तेस्रो चरणको खेलमा अस्ट्रेलियाकी माडिसन ईनग्लिसलाई २—६, ६—२, ६—० ले हराउँदै चौथो चरणमा पुगेकी हुन् ।
ईस्टोनियाकी खेलाडी कानेपी हालसम्म कुनै पनि ग्रान्डस्लाम प्रतियोगितामा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेकी छैनन् । उनी अस्ट्रेलियन ओपनको चौथो चरणमा पुगेको पनि यो पहिलो पटक हो । उनकी प्रतिद्वन्द्वी माडिसन ‘वाइल्ड कार्ड’ मार्फत प्रतियोगितामा सहभागी भएकी थिइन् ।

यसैगरी १४औं वरीयताकी सिमोना हालेप पनि प्रतियोगिताको चौथो चरणमा पुगेकी छन् । उनले तेस्रो चरणको खेलमा डान्का कोभिनिचलाई ६—२, ६—१ को सोझो सेटमा पराजित गरिन् । १९औं वरीयताकी एलिज मेर्टन्स पनि प्रतियोगिताको चौथो चरणमा पुग्न सफल भइन् ।

प्रतिक्रिया