विश्वकप छनोटको तयारी : चार देशबीचको शृंखला

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपको ग्लोबल छनोटअघि नेपाली टोलीले ओमानमा चार देश सम्मिलित टीट्वेन्टी शृंखलामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपालले चारदेशीय टी–ट्वान्टी शृंखला निश्चित भएको जनाएको छ । शृंखलामा नेपालसहित आयरल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई) र ओमानको सहभागिता रहने छ । शृंखलाको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल आगामी फेब्रुअरी ११ तारिखमा खेलिने छ । यसैगरी नेपाली टोलीले दोसो खेल फेब्रअरी १२ तारिखमा युएईसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले फेब्रुअरी १४ तारिखमा आयरल्यान्डको सामना गर्नेछ । उक्त शृंखलापछि नेपाली टोली विश्वकपको ग्लोबल छनोटमा सहभागी हुनेछ । नेपाल ग्लोबल छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म आयोजना हुनेछ । यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

समूह ‘ए’ अन्तर्गत विभाजन भएको समूह ‘दुई’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । नेपालले ओमानविरुद्ध खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा खेलिनेछ । नेपालको दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ तारिखमा हुनेछ । नेपालले आफ्नो तेस्रो खेल क्यानाडासँग फेब्रुअरी २१ तरिखमा खेल्ने कार्यक्रम छ । समूह ‘ए’ अन्तर्गतको समूह ‘एक’ मा भने युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

समूहगत चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल खेल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली विश्वकपका लागि छनोट हुनेछन् । आगामी टीट्वेन्टी विश्वकप भने अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुँदैछ । विश्वकपको खेल तालिका समेत प्रकाशित भइसकेको छ ।

विश्वकपको उद्घाटन खेलमा श्रीलंका र नामिबियाबीच भिडन्त हुने भएको छ । पहिलो चरणअन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ तारिखमा गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा खेलिने छ । पहिलो चरणको समूह ‘ए’ मा नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टोली पनि सहभागी हुनेछन् ।

यसैगरी समूह ‘बी’ मा स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टोलीको सहभागिता रहने छ । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ । ग्लोबल छनोटबाट चार टोली आगामी विश्वकपमा छनोट हुनेछन् । प्रतियोगिताको फाइनल भने मेलवर्न क्रिकेट ग्राउन्डमा नोभेम्बर १३ तारिखमा खेलिनेछ ।

प्रतिक्रिया