सप्तरी । कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा कोरोनाविरुद्ध दुवै डोज खोप लगाएका विष्णुपुर गाउँपालिका– ७ का ६५ वर्षीय एक पुरूष रहेका छ्न् ।
विरामी परेपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने, ‘मृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।’
यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका– १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।
प्रतिक्रिया