अन्तर्राष्ट्रिय निर्णायक खड्काको पदोन्नती

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लूटी) को रेफ्री कमिटीले पनि उनको पदोन्नतीको प्रमाणपत्र पठाइसकेको जानकारी उनले दिए ।

तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नती हुन करिब तीन वर्ष समय लागेको अशोकले बताए । तेक्वान्दोको ¥याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लेका हुन् ।

तेश्रोबाट दोश्रोमा उक्लन कम्तीमा आठ अंक आवश्यक पर्छ । करिब तीन वर्षको अवधिमा अशोकले सातवटा प्रतियोगिता र तीनवटा रिफ्रेसर कोर्ष (एक अनलाइनसहित) मा सहभागिता जनाइ १० अंक प्राप्त गरेका थिए ।

अशोकअघि तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ र रविन्द्र मल्ला मात्र अन्तर्राष्ट्रिय दोश्रो श्रेणीका रेफ्री थिए । अशोकले सन् २०१९ मा मात्र पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी उनले दुईवटा रिफ्रेसर कोर्षमा सहभागिता जनाएका थिए । सो अवधिमा उनले जोर्डनमा आयोजना भएको अल हसन ओपन, जर्मन ओपन, नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग), अस्ट्रेलियामा आयोजना भएको ओसिएना प्रेसिडेन्ट कप र अस्ट्रेलियन ओपनमा निर्णायकको रुपमा सहभागिता जनाएका थिए ।

यसैगरी उनी ट्युनिसिया र अस्ट्रेलियामा आयोजना भएको रिफ्रेसर कोर्षमा पनि सहभागी भएका थिए । सन् २०२० मा भएको मेक्सिको ओपन र २०२१ मा भएको पाकिस्तान ओपनमा निर्णायकको भूमिका निर्वाह गरेका अशोक सन् २०२० मा ग्योरोगी अनलाइन रिफ्रेसर कोर्षमा पनि सहभागी भएका थिए ।

अशोकलाई गत पुस ४ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकको विधामा सम्मान पनि गरेको थियो । अशोक पारा तेक्वान्दो र पुम्सेका पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

प्रतिक्रिया