राजनीतिक दलभित्रका बिकृति र समाधान !

मुकुन्द न्यौपाने

नेपालको राजनीति लामो कालदेखि निम्न पुँजीवादी जड्ताको घेराभित्र जेलिएको छ । यो जडताबाट ग्रस्त नेपालका राजनीतिक पार्टीका नेताहरूमा अर्काको मनको तराजुलाई मात्र तौलने गर्छन् । एकपटक पनि आफ्नो अन्तरमनको तराजुतर्फ फर्केर हेर्दैनन् । हरेक दिनको चासो हुन्छ, उसले के गर्छ ? के भन्छ ? के खान्छ ? कहाँ जान्छ । हाम्रो ध्यान अरूको चियो गर्नमा मात्र जान्छ । आफ्नो मनभित्र हामी कहिल्यै चियो गर्दैनौँ । म के गर्दै छु, कसको हितमा गर्दैछु कहाँबाट खर्च गर्दैछु के खाँदैछु जीवनको लागि खाँदैछु कि जिब्रोको लागि ? केमा खर्च गर्दैछु ? राष्ट्रको लागि गर्दै छु कि फगत आफ्नो नामको प्रचारको लागि समय खर्चंदै छु ? हामी अन्तर समिक्षामुखी नभएर बाह्यमुखी भएका छौँ र समस्या सुल्झाउने भन्दा पनि समस्या छिरोलेर अस्तव्यस्त हुँदै गइरहेका छौँ ।

आफूलाई समग्रतामा हेर्न र बुझ्न नसक्दा नेपालको राजनीतिक नेतृत्व सधैँ द्विविधामा छ । हाम्रो पार्टी ठिक कि माओवादी ठिक, कांग्रेस ठिक कि जसपा ठिक, प्रचण्ड ठिक कि माधव नेपाल ठिक, शेरबहादुर ठिक कि रामचन्द्र ठिक, यही द्विविधाले कहिल्यै पनि नेताहरूले पार्टीको भिन्नतालाई छुट्याउन सकेनन् । पार्टी केबाट चल्छ ? पार्टीको माहाधिवेशन भनेको के हो ? त्यसका पारित दस्ताबेजहरू के का लागि हुन्छन् ? यसबारे कहिल्यै पार्टीहरूभित्र गम्भीर छलफल भएन । न त महाधिवेशको निर्देशनकै पालना भयो । महाधिवेशन गर्ने सकाउने र नेतृत्वमा पुग्नेबाहेक केही भएन ।

यस्तो प्रवृत्तिको विकासले व्यक्तिमा रहेको द्विविधा सर्वत्र फैलियो, राज्यमा द्विविधा, दलहरूमा द्विविधा, व्यक्तिमा द्विबिधा, विदेशी शक्तिलाई हेर्ने सबालमा द्विविधा । यो द्विविधाले सात सालदेखि हालसम्म नेपालमा कुनै पनि विचारधारा बोक्ने दलको एकीकृत पार्टी निर्माण हुन सकेन । दलहरू दलजस्ता होइन, गुटमा विभाजन भए । महाधिवेशन सम्मेलन गुटका मञ्च मात्र बने । गुटमा छलफल गरेर निष्कर्ष मञ्चमा लाने । आफ्नो कुरो माने स्वीकार गर्ने । कुरा नमाने विरोध गर्ने आआफ्ना गुटले आफ्नै गुट नेता छान्ने संस्कारको विकास भयो ।

माथि चर्चा गरिएका विषयहरू हाम्रो देशको राजनीतिभित्र देखिएका राजनीतिक सामाजिक संस्कारका नफेरिएका जडवत संस्कारबाट उत्पन्न समस्या भए । यी समस्याको समाधान गर्न यसको खाली पात र टुप्पो मात्र केलाएर पुग्न सकिँदैन । यी समस्याको पछाडि रहेका सामाजिक संस्कार संस्कृतिका क्षेत्रहरूबाट मानिसको मन र मस्तिष्कमा परेको प्रभावलाई राम्ररी केलाएर तिनको उचित आलोचना र शिक्षाको क्षेत्रमा आमूल रूपान्तरण गर्न सकिएन भने सय वर्षमा पनि समाज ठिगुरिएर रहनेछ प्रगति गर्न सक्दैन । के हुन् त हाम्रो सामाजिक राजनीतिक क्षेत्रमा देखापरेका निम्न बुर्जुवा संस्कार र संस्कृतिका ज्वलन्त प्रमाण यसलाई हामी यसरी सूत्रबद्ध गर्न सक्छौँ ।

१. पद र सम्मान प्राप्ति, मर्यादा क्रम, शक्ता प्राप्ति, सम्पत्ति, शक्ति र अहंकार ।
२. अधिकभन्दा अधिक मान अधिकभन्दा अधिक धन । पदमा निरन्तर बनिरहने प्रयास र पद प्राप्त गर्ने निरन्तर प्रयत्न ।
३. सीमित क्षमता असीमित संग्रहको इच्छा नै वर्तमान नेतृत्वभित्र रहेको समस्याको जड हो ।
४. आज तिनै साथीहरू सबैभन्दा बढी असन्तुष्ट छन्, जोसँग सबैभन्दा ठूला घर छन् । जसले अनधिकृत राज्यको सुविधा र पार्टीको सुविधा प्रयोग गरेका छन् । यी साथीहरू सिंगोे पार्टी र देशका सम्पूर्ण कार्यकर्तामाथि होइन, आफ्ना वरिपरि घुम्ने थोरै ज्ञान र कमजोर मनस्थिति भएका मानिसमाथि भरोसा गर्छन् । अध्ययनशील सत्यवादी र आमपार्टी कार्यकर्तालाइ उपेक्षा गर्छन् ।
५. केही साथीहरू छन् । उनीहरूको काम नेताको घरदैलो धाउने र यताका कुरा उता लाउने उताका कुरा ल्याएर यता कान भर्ने मात्र गर्छन् उनीहरू वातावरणलाई सधैँ विशाक्त बनाउन चहान्छन् । नेता लडाएर आफ्नो दाउ निकान्ले र स्वार्थ पूर्ति गर्ने बानी यिनीहरूमा परेको छ । प्रशंसाको भोक कस्तो हुन्छ भन्ने बुझेका चप्लुसबाजले नामको भोको नेतालाई कसरी जोक्कर बनाउन सकिन्छ ७० वर्षदेखि चाप्लुसबाज कार्यकर्ताले त्यस्ता नेतालाई कोलमा बयल घुमाएझैं घुमाइरहेका छन् ।

माथि चर्चा गरिएका गलत चिन्तन गलत व्यवहारबाट आफ्नो राजनीतिक दलभित्र प्रवेश गरेका समाजका पिछडिएका संस्कृति र संस्कारबाट उत्पन्न स्वभावहरूलाई नहटाएसम्म राजनीतिक दलहरूले सही ढंगबाट पार्टी परिचालन र समाजको रूपान्तरण गर्न सम्भव देखिँदैन । यसको लागि राजनीतिक संगठनभित्र कार्यकर्तामा देखापरेका सामाजिक संस्कृतिबाट उत्पन्न संस्कारगत स्वभावहरूको बारेमा पार्टीको नेतृत्व स्पष्ट हुनुपर्छ । कार्यकर्तालाई म कस्तो समाजमा छु ? मेरो समाजको राजनीतिक सामाजिक र सांस्कृतिक स्तर कहाँ छ ? मैले हटाउन खोजेको कुरा केहो र त्यसको ठाउँमा स्थापित गर्न खोजेको कुरा के हो ? र मैले चाहेको समाज स्थापना गर्न कस्तो संगठन निर्माण गर्नुपर्छ ? भन्नेबारे स्पष्ट हुनु जरुरी छ ।

संगठन भनेको के हो ?
१.संगठनको ढाँचा तहगत हुन्छ । केन्द्रीय कमिटीदेखि गाउँ र वडा कमिटीसम्म संगठिन कमिटीहरू हुन्छन् ।
२. हरेक कमिटीमा पद हुन्छ, पदीय जिम्मेवारी हुन्छ र त्यसै अनुसार कामको बाँडफाँड हुन्छ । कामको जिम्मा पूरा गर्ने कमिटीका सदस्यको पदीय मर्यादा हुन्छ ।
३. संगठनमा विधि हुन्छ नियम हुन्छन् । बोलीचालीदेखि लिएर बस्दा खाँदासम्मका र साथीहरूसँगका व्यवहारमा समेत राजनीतिक मर्यादाहरूको पालना हुन्छ । विगतमा केपी ओलीको नेतृत्वमा रहेको एमालेमा यी सांगठानिक मर्यादाका राजनीतिक सामाजिक सांस्कृतिक मूल्य र मान्यताहरू सबै भताभुंग भए । ‘भावि भुलबाट बच्नको लागि विगतका भुलबाट सिक’ आजका समाजवादी पार्टीका कार्यकर्ताले ओलीकालका राजनीतिक सांगठनिक विधिपद्धतिमा रहेका गम्भीर भुलबाट पाठ सिक्नै पर्छ । नत्र फेरि ताल उस्तै हुनेछ ।

४. जहाँ राजनीतिक संगठन हुन्छ । त्यहाँ सिनियर र जुनियरको मर्यादाक्रम हुन्छ । तिनीहरूको मर्यादाक्रम छुट्याउने पनि विधि र प्रक्रिया हुन्छ । या त्यो सामूहिक छलफलबाट समझदारीमा तोकिन्छ या निर्वाचनको बिधिबाट । तर नेपालका राजनीतिक दलहरूभित्र यो विधि पद्धतिको कसरी ठाडो उल्लंघन हुन्छ भन्ने कुराको उदाहरण चितवनमा सम्पन्न एमालेको १०औँ माहाधिवेशनमा पदाधिकारी छनौटमा देखिएको नेताको मनपरि तन्त्रलाई लिन सकिन्छ । उक्त महाधिवेशनमा हिन्दूहरूको शिव संस्कृतिको ‘चाप्लुसे सर्वपूज्यन्ते कर्मनिष्ठे बहिस्कृतम्’, भन्ने संस्कारलाई राम्रोसँग पार्टीभित्र स्थापित गरेको पाइयो र त्यसै अनुसार नेतृत्व चयन भयो ।

५. संगठनमा मूल्यांकन हुन्छ । भनेपछि मूल्यांकनका आधारहरू पनि हुन्छन् के हुन् त मूल्यांकनका ती आधारहरू ? कार्य दक्षता, निरन्तरता, मिल्न सक्ने क्षमता, मिलाउन सक्ने क्षमता, अध्ययनशीलता, सिद्धान्त र राजनीतिक प्रशिक्षण गर्न सक्ने र कुरा बुझाउन सक्ने क्षमता आदि हुन् । यसैका आधारमा नेतृत्व र कार्यकर्ताको मूल्यांकन हुन्छ ।

६. जुनियरले सिनियर हुन कति खुड्किला पार गर्नुपर्छ ? कति दक्षता हासिल गर्नुपर्छ ? संसारभरि यसको मूल्य र मान्यता छ त्यसैका आधारमा पार्टी र संगठन चल्छन् । त्यो राज्यमा पनि छ, संगठनमा पनि छ । तर नेपालजस्तो पिछडिएको अर्थतन्त्र भएको मुलुकमा राजनीतिक र सांस्कृतिक स्तर पिछडिएको हुनाले यहाँका राजनीतिक नेताहरू पिछडिएकै दिमागबाट यो मूल्य मान्यताको उल्लंघन गर्दे आएका छन् ।

७. जुन संगठनमा सिनियर जुनियर बीचमा भेद छैन । सिनियरको मर्यादा छैन, पद विभाजनको विधि छैन, नेता चाप्लुसबाजको कानफुके शैलीबाट प्रभावित हुन्छ । जहाँ परिश्रम र ज्ञानको कुनै मूल्य छैन । त्यो संगठनको विनास अनिवार्य छ । त्यसले विकास गर्न सक्दैन र जनताका बीचमा स्थापित हुन पनि कठिन हुन्छ । त्यसैले आज हामीले सोच विचार गरेर अगाडि बढ्नुपर्नेछ ।

यी माथि बताइएका राजनीतिक दलहरूभित्र रहेका सांगठनिक वैचारिक विधिपद्धति तथा कार्यशैलीका विषयहरू जो लामो कालदेखि आदतको रूपमा जमेर बसेका छन् जसलाई आदतको ताकत भनिन्छ त्यसलाई हटाउने कसरी ? यो एउटा जटिल र गम्भीर प्रश्न छ । स्वयं ती राजनीतिक दलहरू यस आदतबाट मुक्त हुन चाहान्छन् भने उनीहरूले माथि बताइएका कमजोरीहरूको आफू र आफ्नो संगठनभित्र जाँचपडताल गर्नुपर्छ र तल उल्लेख गरिएका विषयमा पार्टीव्यापी कार्यकर्तालाई प्रशिक्षण गर्नुपर्छ ।

१.संगठन मानिसले सञ्चालन गर्छ त्यसैले संगठन बदल्न मानिस बद्लिनुपर्छ ।

२.संगठनमा नेतृत्व दिनेले समस्या होइन, समाधान दिनुपर्छ ।

३. नेतृत्व दिनेले नीति, भिजन, योजना, मिसन, आचरण दिन सक्नुपर्छ । नेतृत्वले माथिमा पाँचकुरा कार्यकर्तालाई दिन सक्नुपर्छ भने कार्यकर्ताले आपूmभित्र पाँचै कुरा लागू गर्नुपर्छ ।

४. कार्यकर्ता स्वावलम्वी बन्नुपर्छ, स्वाभिमानलाई उचो राख्नुपर्छ, नैतिकवान हुनुपर्छ, सक्रिय र क्रियाशील हुनुपर्छ, समाधानमुखी हुनुपर्छ ।

५.कार्यकर्ताले आफ्ना समस्या नेताको टाउकोमा हाल्नुहुन्न नेताले कार्यकर्ताको टाउकोमा थोपर्नु हुन्न ।

६.आआफ्ना कमिटीभित्र रहेर गरेका निर्णयको पालना गर्ने परिपाटी बसाउनुपर्छ ।

७.विचार गर्ने, काम गर्ने, सोच र व्यवहार संस्थामुखी हुनुपर्छ । संस्थालाई केन्द्र भागमा राख्नुपर्छ । संस्थालाई केन्द्र भागमा नराखेर व्यक्ति केन्द्र भागमा रहन्छ भने त्यो पार्टी नभएर गुटहरूको मण्डली हुन्छ ।

८. जब व्यक्ति केन्द्र भागमा हुन्छन् त्यहाँ द्वन्द्व बढ्छ र संस्था गुटहरूको अखडामा विभाजन हुन्छ । संस्था गुटहरूको मञ्च बन्छ र यस्तोमा त्यो एउटा मोर्चा संगठन मात्र हुन्छ जस्तो कि हाल नेपालमा यस्तै भइरहेको छ ।

९.जब संस्था गुटहरूको मञ्चमा बदलिन्छ यस्तोमा गुटका बोसहरूले अलग बैठक गरेर आउँछन् र संस्थामा आफ्नो निर्णय लाद्ने कोसिस गर्छन् यदि उनीहरूको कोसिस पूरा नहुने देखे भने संस्था फुटाउने र आफू अलग हुने धम्की दिन्छन् ।

१०. एउटा पार्टीभित्र तीन÷तिनओटा चरित्र बोकेका नेता हुन्छन् । राजनेता, नेता र सरदार (बोस) । राजनेताले पार्टीभन्दा माथि उठेर सोच्दछ । राजनेताको पहिलो प्राथमिकता देश र जनता हुन्छ दोस्रो प्राथमिकता पार्टी नेताले पहिलो प्राथमिकतामा पार्टीलाई राख्छ । पार्टी बलियो यो भने देश र जनताको भलो गर्न सक्छु भन्ने उसको बुझाइ हुन्छ । बोसले गुटलाई पहिलो प्राथमिकतामा राख्छ । बोसलाई बिचार र सिद्धान्तका मूल्यमान्यतासँग कुनै लेनादेना हँुदैन । उसलाई आफ्नो गुट कसरी बलियो बनाउने र बलियो गुटमार्फत पार्टी कब्जा गर्ने भन्ने चिन्ता हुन्छ । यसको लागि उसले पैसाको जोहो गर्छ । पैसाको प्रयोग गरेर आफ्ना वरिपरि विचारहिन मानिसको भिड जम्मा गर्न थाल्छ । जहाँबाट पैसा तान्न सकिन्छ तिनै मानिसहरू उसका प्रियपात्र हुन्छन् ।

११. यस्तो अवस्थामा पार्टीभित्र नेता र राजनेताले त्याग्न योग्यलाई त्याग्न सक्नुपर्छ । ग्रहणगर्न योग्यलाई ग्रहण गर्न सक्नुपर्छ । गुण र दोषको आधारमा प्रमोसन र डिमोसन गर्न सक्नुपर्छ ।

१२. सैद्धान्तिक राजनीतिक वैचारिक र कार्यशैलीका व्यावहारिक मापदण्डको आधारमा मुल्यांकन गर्न सक्नुपर्छ । अर्गानिक बुद्धिजीवीबाट आएका नेता कार्यकर्ता र रासायनिक बुद्धिजीवीबाट आएका कार्यकर्ताका विशेषताको पहिचान गरी कामको जिम्मेवारी छुट्याउन सक्नुपर्छ ।

१३. महाधिवेशन वा केन्द्रीय कमिटीबाट पारित निर्णयहरू कार्यक्रम र विधानको पालना माथिदेखि तलसम्मका कमिटीमा संगठित सदस्यहरूले कडाइका साथ पालना गर्नुपर्छ ।

१४.तलका कार्यकर्तालाई उपदेश दिँदै हिँड्ने माथिल्लो शीर्ष तहमा बसेर मनपरी गर्ने नेपालका राजनीतिक दलको आजको आचरण माथितलका कार्यकर्ताले अंकुश लगाउन सकेनन् भने त्यो पार्टी नेता र कार्यकर्ताको नभएर दास र मालिकको जस्तो हुनेछ । नेपालका कतिपय राजनीतिक पार्टीको भविष्य यसै अन्धकार सुरुङ मार्गतिर प्रवेश गर्न लागेको आभास अहिले आफूलाई अबल दर्जामा राख्ने केही पार्टीहरूले दिन थालेका छन् ।

१५. अर्गानिक बुद्धिजीवीबाट आएका हरेक पार्टीका कार्यकर्ताहरू साच्चिकै व्यावहारिक र जनताप्रति उत्तरदायी भएर चल्छन् र राष्ट्रको हित चाहान्छन् भने उनीहरूले आफ्नो राजनीतिक दलभित्र पार्टीको गतिलाई सही धारमा अघि बढाउनु आवश्यक छ । जता पानी बग्छ त्यतै नाउ लानु ठूलो कुरो होइन, धारको प्रतिकूल नाउ लानु सच्चा माझीको परिचय हो ।

प्रतिक्रिया