सीमानाकाबाट एक सातामै ९ हजार बढी नेपाल भित्रिए

धनगढी । कोरोनाको तेस्रो लहर सुरु भएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरहरूमा गएका नेपाली दिनहुँ ठूलो संख्यामा नेपाल फर्कन थालेका छन् । सुदूरपश्चिमका मुख्य दुई सीमानाका कैलालीसँग सीमा जोडिएको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै दैनिक हजारभन्दा बढी नेपाल भित्रिने गरेको प्रहरीको तथ्यांक छ । पछिल्लो एक सातामा यी दुबै सीमानाका हुँदै ९ हजार ६ सय ३४ जना नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार गौरीफन्टा र गड्डाचौकी नाका हुँदै बिहीबार १ हजार ३ सय ९३ जना, बुधबार १ हजार ४ सय ५४ जना, मंगलबार ९ सय २५, सोमबार १ हजार १ सय ५१, आइतबार १ हजार ७ सय ६, गत शनिबार १ हजार ३ सय ३६ र ३० पुस शुक्रबार १ हजार ६ सय ६९ जना भित्रिएका छन् ।

सोही समयमा कामको सिलसिलामै गौरीफन्टा र गड्डाचौकी नाका हुँदै ५ हजार ३ सय ६४ जना बाहिरिएको जनाइएको छ । सीमानाकामा कोरोना महामारीलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिनेहरूको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्ने गरिएको छ । पछिल्लो एक सातामा यी दुबै सीमानाका हुँदै नेपाल भित्रिएका मध्ये ८ हजार १ सय २३ जनाको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्दा १ हजार ४७ जनामा पोजेटिभ देखिएको जनाइएको छ ।

गड्डाचौकी नाका हुँदै भित्रिएका एन्टिजेन पोजेटिभ देखिएकाहरूलाई सीमानाकाबाट एम्बुलेन्समार्फत महाकाली अस्पतालमा रहेको आइसोलेसनमा लैजाने गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए ।
कसैले घरमै गएर आइसोलेसन बस्न चाहे तोकिएको मापदण्ड पूरा गरी बस्ने गरी वडा, पालिकाको सिफारिसमा सुरक्षितसाथ होम आइसोलेसनमा पठाउने गरेको उनले बताए । साथै खोप नलगाएकालाई सीमामै खोपसमेत लगाउने गरेको उनको भनाइ छ ।

त्यसैगरी गौरिफन्टा हुँदै भित्रिएका एन्टिजेन पोजेटिभ देखिएकाहरूलाई सीमानाकाबाट एम्बुलेन्समार्फत धनगढी–१५ कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरेको धनगढी उपमहानगरपालिकाले गौरिफन्टा नाकामा स्थापना गरेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

प्रतिक्रिया