निराले ल्याइन् पञ्चेबाजा ‘फूल केशरी’

काठमाडौं । विवाहको लागि लगनको महिना विषेश मंसिर, माघ र फागुनलाई मानिन्छ । विवाहको लागि मुख्य बाजाको रुपमा पञ्चेबाजालाई महत्वपूर्णले लिइन्छ र रमाइलो नाचगानको साथ विवाह सम्पन्न गरिन्छ । यस्तै महिनाको अवसर पारेर कलाकारहरुले पञ्चेबाजाका गीतहरु ल्याउने गर्दछन् ।

सोही अनुसार माघ महिना सुरु भएलगत्तै लगनको छेको पारेर गायिका निरा छन्त्यालले ‘फूल केशरी’ बोलको पञ्चेबाजा गीत ल्याएकी छन् । केही दिन अगाडि उनको आफ्नै युट्युब च्यानलमार्फत बजारमा आएको उक्त गीतले दर्शक स्रोताको मन पनि जितेको अनुमान गर्न सकिन्छ ।

विवाहको रौनकलाई प्रतिनिधित्व गरेको गीतमा अर्का गायक विष्णु खत्रीले गायिका छन्त्याललाई आवाजमा साथ दिएका छन् । गायक खत्रीकै उक्त गीतमा मौलिक शब्द समावेश गरिएको छ भने संगीत पनि उनले नै भरेका हुन् ।

यसभन्दा अगाडि पनि धेरै मौलिक पञ्चेबाजा गीत बजारमा ल्याएर आम दर्शक स्रोताको मन जितेका गायक खत्रीले पछिल्लो यस गीतले पनि बिगतका गीतहरुले जस्तै मार्केट लिने विश्वास व्यक्त गरे । ‘पहिलाका गीतलाई लाखौँ दर्शक स्रोताहरुले मन पराउनुभएको थियो,’ उनले भने, ‘यस गीतमा पनि त्यस्तै मौलिक शब्द समावेश छन् ।’

राग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा आशीष अविरलको संगीत संयोजन रहेको छ । त्यसैगरी गीतको भिडियोमा दिलिप रेग्मीको निर्देशन रहनुका साथै राम केसीले छायांकन गरेका छन् । अमृत चापागाईंले सम्पादन गरेको भिडियोमा सलिना नेपाली र जीवन साहनीले अभिनय गरेका छन् ।

सानै उमेरदेखि गीत संगीतमा लगाव राख्दै आएको सुनाउँदै गायिका निराले आम नागरिकको रोजाइमा परेको पञ्चेबाजा विवाहकै लगनको मेसो पारेर आफ्नो कोसेली स्वरुप ‘फूल केशरी’ बोलको उक्त गीत ल्याएको बताइन् ।

परम्परागत सबैको रोजाइको पञ्चेबाजा पछिल्लो समय लोप हुँदै जान थालेकाले यसको संरक्षण गर्न सबैले भूमिका खेल्नुपर्ने समेत उनको भनाई छ ।

‘विवाह–ब्रतबन्धमा समेत पञ्चेबाजालाई मुख्य आकर्षणको रुपमा लिइन्छ, तर पछिल्लो समय लोप हुन थालेको छ’, गायिका छन्त्यालले भनिन्, ‘यसको संरक्षण गर्न सबैको भूमिका हुनुपर्छ ।’

प्रतिक्रिया