अस्करको युट्युबमा ‘जय भिम’

मुम्बई । दक्षिण भारतीय अभिनेता सूर्याको भूमिका रहेको तमिल चलचित्र ‘जय भिम’ ले अस्करको युट्युब च्यानलमा स्थान पाएको छ । सत्य घटनामा आधारित रही निर्माण गरिएको यो चलचित्रमा सन् १९९३ मा घटेको एक घटनालाई देखाइएको छ । चलचित्रको एउटा दृश्य र निर्देशकको छोटो भनाइलाई अस्करको युट्युब च्यानलले स्थान दिएको हो । चलचित्रले केही समयअघि हलिउडको गोल्डेन ग्लोबमा समेत प्रवेश पाएर निकै चर्चा बटुल्न सफल भएको थियो । दर्शक तथा समीक्षकबाट निकै तारिफ पाएको यो केही विवादमा समेत फसेको थियो ।

चलचित्रले दलितको मुद्दालाई सतहमा ल्याएको यसको प्रशंसा गरिएको थियो । व्यवसायिक रुपमा चलचित्र निकै सफल भएको थियो । यस चलचित्रमा अभिनेता सूर्याले न्यायाधीश चन्द्रुको भूमिका निभाएका छन् । चलचित्रमा जस्टिश चन्द्रुका नामले चिनिने चन्द्रुले तमिलनाडुमा अन्यायमा परेको दलित परिवारलाई न्याय दिलाउन गरेको संघर्षको विषयलाई प्रस्तुत गरिएको छ । अस्करमा समेटिएको भिडियो १२ मिनेट ४७ सेकेन्डको रहेको छ ।

प्रतिक्रिया