अस्ट्रेलियन ओपन टेनिस : हालेप र वाट्सन दोस्रो चरणमा

मेलबर्न । रोमानियाकी सिमोना हालेप र ब्रिटेनकी हेथर वाट्सन वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘अस्ट्रेलियन ओपन’ को दोस्रो चरणमा प्रवेश गरेका छन् । हाल १४औं वरीयातमा रहेकी अनुभवी खेलाडी हालेपले पहिलो चरणको खेलमा म्याग्दालेना फ्रेचलाई ६—४, ६—३ को सोझो सेटमा पराजित गरिन् । यसैगरी महिला एकलतर्फको मंगलबार भएको अर्को खेलमा बाट्सनले मायर सेरिफमाथि प्रतिस्पर्धात्म जित हासिल गरिन् । पहिलो सेटमा ६—३ ले विजयी भएकी वाट्सन दोस्रो सटमो भने ५—७ अंकले पछि परेकी थिइन् । तर, तेस्रो सेटको नतिजालाई ६—२ अंकले आफ्नो पक्षमा पार्दै वाट्सन दोस्रो चरणमा पुग्न सफल भइन् ।

यसैगरी फ्रान्सकी एलिज कोर्नेट र स्पेनकी गार्बिन मुगुरुजा पनि प्रतियोगिताको दोस्रो चरणमा पुग्न सफल भएका छन् । पहिलो चरणको खेलमा कोर्नेटले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भिक्टोरिया तोमोभालाई ६—३, ६—३ को सोझो सेटमा पराजित गरिन् । तेस्रो वरीयतामा आसिन अनुभवी खेलाडी मुगुरुजा भने क्लारा बुरेललाई ६—३, ६—४ अंकले हराउँदै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेकी हुन् । चर्चित अस्ट्रेलियन खेलाडी सामन्था स्टोसर भने पहिलो चरणको खेलमै पराजित भइन् । उनलाई रोविन एन्डर्सनले ७—६, ६—३, ६—३ अंकले पराजित गरिन् ।

एलिस मेर्टन्स भने दोस्रो चरणमा पुग्न सफल भइन् । १९औं वरीयतामा आसिन मेन्र्टन्सले पहिलो चरणको खेलमा अनुभवी खेलाडी भेरा भोनारोभालाई ६—४, ७—५ अंकले पाखा लगाइन् । काइक कानेपी भने आफुभन्दा अनभवी खेलाडी एन्जेलिक केर्बरलाई ६—४, ६—३ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा पुग्न सफल भइन् ।

यसैगरी पुरुष एकलतर्फ ब्रिटेनका एन्डी मुरे प्रतियोगिताको दोस्रो चरणमा पुग्न सफल भएका छन् । ३४ वर्षिय मुरेले निकोलोज बासिलसभिलीमाथि प्रतिस्पर्धात्मक जित हासिल गरे । प्रतिस्पर्धात्मक खेलमा मुरेले ६—१, ३—६, ६—४, ६—७, ६—४ ले पराजित गरे ।

निक किर्गियस पनि दोस्रो चरणमा पुग्न सफल भए । उनले पहिलो चरणको खेलमा लियाम ब्रोडीलाई ६—४, ६—४, ६—३ अंकले पाखा लगाए । चौथो वरीयताका स्टेफानोस सिसिपस भने मिकेल एमरलाई ६—२, ६—४, ६—३ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरे ।

यसैगरी २४औं वरीयताका डान इभन्स पनि दोस्रो चरणमा पुग्न सफल भए । उनले डेभिड गोफिनलाई ६—४, ६—३, ६—० अंकले पाखा लगाए । ११औं वरीयताका जानिक सिनर भने जो सुसालाई ६—४, ७—५, ६—१ अंकले पराजित गर्दै दोस्रो चरणमा पुग्न सफल भए ।

यसैगरी दोस्रो वरीयतामा आसिन ड्यानिल नेदभेद र २६औं वरीयताका ग्रिगोर दिमित्रोभ पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै प्रतियोगिताको दोस्रो चरणमा पुग्न सफल भएका छन् । स्टिभ जोन्सन भने जोर्डन थम्सनलाई पाखा लगाउँदै दोस्रो चरणमा पुग्न सफल भए ।

यसैगरी चर्चित खेलाडी रिचर्ड गास्क्वेट र डिएगो स्वार्जम्यान पनि दोस्रो चरणमा प्रवेश गरे । १३औं वरीयताका स्वार्जम्यानले पहिलो चरणको खेलमा फिलिप क्राजिनोभिचलाई ६—३, ६—४, ७—५ अंकले पराजित गरेका थिए ।

प्रतिक्रिया