परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा कोरोना

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ३ सय २९ नमुनाको पिसिआर परीक्षण गर्दा १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । जुन संक्रमित संख्या परीक्षणको ६० दशमलव ४८ प्रतिशत छ ।

उनका अनुसार मंगलबारसम्म अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये तीन जनाको आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ । त्यस्तै मंगलबार दुई जना संक्रमित निको भई घर फर्किएका र एक जना संक्रमित अस्पताल भर्ना भएको उनले बताए । सोमबार पनि सेती अस्पतालको प्रयोगशालामा १ सय ५६ नमुनाको पीसिआर परीक्षण गरिएकोमा आधाभन्दा बढी ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ लाख २१ हजार २ सय १५ नमुनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएकोमा २१ हजार ७ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । त्यसैगरी हालसम्म अस्पतालमा उपचाररतमध्ये २ सय १२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया