दुबईबाट फर्किएका व्यक्तिलाई बन्धक बनाएको अभियोगमा तीनजना पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीबाट नेपाल फर्किएका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले तारकेश्वर नगरपालिकाका ३० वर्षीय रमेश अर्याल, ३२ वर्षीय सञ्जोग राई र मकवानपुरगढी गाउँपालिकाका ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गरेको हो।

उनीहरूले गत असोज ८ गते दुबईबाट फर्किएका सिराहाका ३० वर्षीय रामेश्वर रामलाई ९ गते होटेलबाट अपहरण गरी बन्धक बनाएका थिए । होटेलमा बसेका रामेश्वरलाई उनीहरूले ज्याठास्थित होटेल प्लेजर होममा पुर्‍याएका थिए । त्यहाँ रामेश्वरलाई बन्धक बनाएर कुटपिटसमेत गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार तीनजनाको समूहले रामेश्वरलाई ज्यान मार्ने धम्की दिँदै झोला र मोबाइल खोसेको थियो । यसबाहेक बन्धक बनाएको कारण अरू पनि हुन सक्ने प्रवक्ता मैनालीको भनाइ छ । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया