२०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ देखि ३० पुससम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ ।
सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफू अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषय उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । दुई वर्षदेखि उनी भूगोल केन्द्रित राजनीतिमा सक्रिय छन् ।
उनले मदन भण्डारी मेमोरियल कलेजबाट मानविकी संकायमा उच्च माध्यमिक तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्र र पत्रकारिता विषयमा स्नातक गरेका हुन् । यादवले करिब चार वर्ष राष्ट्रियस्तरमा पत्रकारितासमेत गरेका छन् । एपीवान टेलिभिजनमा केन्द्रीय कार्यालयमा स्थापनाकालदेखि करिब दुई वर्ष संवाददाताको रूपमा काम गरेका यादवले न्युज २४ टेलिभिजन तथा हिमालय टेलिभिजनमा समेत काम गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारमा प्रभु साह सहरी विकासमन्त्री रहँदा यादव उनको प्रेस सल्लाहकार थिए । यादव पत्रकारिता छाडेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध भएका थिए । नेकपा विघटनपछि उनी एमालेमै रहे । एमाले केन्द्रीय संगठन विभागको प्रारम्भिक तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यसपटक जिल्ला अधिवेशनहरुबाट ठूलो संख्यामा ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ ।
प्रतिक्रिया