‘ए’ डिभिजन लिग फुटबल : दर्शनले एनआरटीलाई जिताए

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) ले सजिलो जित हात पारेको छ । दशरथ रंगशालामा भएको उक्त खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो । एनआरटीलाई सजिलो जित दिलाउन दुबै गोल कप्तान दर्शन गुरुङले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । दर्शनले दुबै गोल पाँच मिनेटको बीचमा गरेका थिए ।

निर्धारित समयको ६९औं मिनेटमा दर्शनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको पासमा उनले गोलरक्षक टेकेन्द्र थापालाई छक्याउँदै उक्त गोल गरेका हुन् । खेलको ७३औं मिनेटमा दर्शनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै एनआरटीलाई २–० को जित दिलाए ।

जितसँगै एनआरटीले नौ खेलबाट १३ अंक जोडेको छ । एनआरटी लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ । जावलाखेलले भने नौ खेलबाट आठ अंक बटुलेको छ । जावलाखेल तालिकाको १०औं स्थानमा आसिन छ । उक्त खेलमा खेलमा एनआरटीका दर्शन म्यान अफ दि म्याच घोषित भए । एनआरटीकै कृतिसरत्न छुन्जु इमर्जिङ प्लेयर चुनिए । लिग तालिकाको पहिलो स्थानमा आसिन मच्छिन्द्र क्लबले नौ खेलबाट २३ अंक जोडेको छ । समान खेलबाट १९ अंक जोड्दै मनाङ मस्र्याङ्दी क्लब दोस्रो स्थानमा छ ।

प्रतिक्रिया