अस्ट्रेलियन ओपन टेनिस : उपाधि यात्रामा ओसाका

मेलबर्न । प्रभावशाली जापानी खेलाडी नाओमी ओसाकाले वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनमा विजयी सुरुआत गरेकी छन् । २४ वर्षीया ओसाका अस्ट्रेलियन ओपनकी साविक विजेता पनि हुन् । ओसाकाले सोमबार खेलिएको पहिलो चरणको खेलमा तुलनात्मक रुपमा कमजोर कोलम्बियन प्रतिद्वन्द्वी क्यामिला ओसोरियोलाई हराइन् । हाल विश्व वरीयताको १३औं स्थानमा रहेकी ओसाकाले ६—३, ६—३ को सोझो सेटमा नतिजालाई आफ्नो पक्षमा पारेकी हुन् ।

ओसाकाले हालसम्म दुई पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । साविक विजेता ओसाकाले सन् २०१९ मा पनि महिला एकलतर्फको उपाधि चुमेकी थिइन् । यसदेखि वाहेक उनले सन् २०१८ र सन् २०२० मा अर्को ग्रान्ड स्लाम प्रतियोगिता यूएस ओपनको उपाधि पनि जितेकी थिइन् ।

ओसाकाले बाँकी दुई ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन र विम्बल्डनको उपाधि भने जित्न सकेकी छैनन् । यी दुबै प्रतियोगितामा उनी हालसम्म तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् । यसैगरी महिला एकलतर्फ भिक्टोरिया अजारेन्का, वाङ् क्विङ, आस्लिघ बार्टी, बेलिन्डा बेनसिच, माडिसन किज र एलिना भितोलिनाले पनि पहिलो चरणमा सफलता हात पारेका छन् ।
यसैगरी पुरुष एकलतर्फ प्रभावशाली खेलाडी राफेल नाडालले विजयी सुरुआत गरेका छन् । स्पेनिस खेलाडी नाडालले अमेरिकाका मार्कोस गिरोनलाई ६—१, ६—४, ६—२ अंकले पराजित गरे । हाल छैटौं वरीयतामा आसिन नाडाल कीर्तिमानी २१औं ग्रान्डस्लाम उपाधिको खोजिमा छन् ।

प्रतिक्रिया