तालिवानले तीन हजार लडाकुलाई संगठनबाट हटायो

काबुल । तालिवानले झण्डै तीन हजार सदस्यलाई संगठनबाट हटाएको छ । तालिवानले सत्तामा आएयता सुरु गरेको शुद्धीकरण अभियानका क्रममा पछिल्लो कदम चालेको हो । गत वर्षको अगस्टमा सत्तामा आएको तालिवानले अभद्र र दुर्व्यवहारपूर्ण क्रियाकलाप गरी अफगानिस्तानको बदनाम गरेको भन्दै आफ्ना झण्डै तीन हजार सदस्यलाई संगठनबाट हटाएको अल अरेबिया समाचार माध्यमले जनाएको छ ।

शनिबार तालिवानका एक अधिकारीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झण्डै तीन हजार सदस्यलाई हटाइएको बताए । ‘उनीहरूले इस्लामिक इमिरेट (अफगानिस्तान)को बदनाम गरिरहेका थिए’, शुद्धीकरण आयोगका प्रमुख लतिफुल्लाह हकिमीले भने, ‘भविष्यमा स्वच्छ छविको सेना एवं प्रहरी निर्माण गर्न सकियोस् भनेर शुद्धीकरण अभियानका क्रममा उनीहरूलाई हटाइएको हो ।’

‘उनीहरू भ्रष्टाचार र लागूऔषधमा संलग्न थिए भने मानिसको व्यक्तिगत जीवनमा दख्खल दिइरहेका थिए’, हकिमीले थपे, ‘उनीहरूमध्ये केहीको सम्बन्ध इस्लामिक स्टेटसँग थियो ।’ हालसम्म दुई हजार ८४० जना तालिवान सदस्यलाई संगठनबाट हटाइएको उनको भनाइ छ ।
हकिमीका अनुसार १४ वटा प्रान्तमा उक्त संख्या बराबरका सदस्यलाई संगठनबाट हटाइएको हो र बाँकी प्रान्तमा शुद्धीकरण अभियान जारी रहने छ । सर्वोच्च नेता हिबातुल्लाह अखुन्दजादाले आम माफी दिने घोषणा गरेपछि तालिवानका लडाकुमाथि सुरक्षा बलका पूर्वसदस्यको गैरकानुनी हत्या गरेको आरोप लागेको छ ।

तालिवानले सत्तामा आएयता अफगान नागरिकमाथि कडाई गरेको छ । खासगरी महिला तथा बालिकालाई स्वतन्त्रपूर्वक हिड्न, काम गर्न र पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, पुरुष आफन्तको साथमा मात्रै महिलाले लामो दूरीको यात्रा गर्न पाउने नियम लागू गरिएको छ ।

प्रतिक्रिया