आजदेखि श्रीस्वस्थानी व्रत आरम्भ

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्री स्वस्थानीको व्रत बस्ने र पौराणिक कथा माघ महात्म्य श्रवण गर्ने परम्परा नेपालमा रहिआएको छ । यस वर्षको श्री स्वस्थानी व्रत तथा माघ महात्म्य आज माघ तीन गतेदेखि आरम्भ भएको छ । भगवान् शिवको विशेष उपासना गरिने श्री स्वस्थानी व्रत्त भक्ति मार्गसँग मात्रै नभएर ज्ञान मार्गसँग पनि जोडिएको छ । ज्ञान मार्गसँग जोडिएको वैदिक सनातन धर्मअन्तर्गत १८ पुराण छन् । त्यसमध्ये सबैभन्दा लामो पुराण हो स्कन्ध पुराण । कुल ८१ हजार श्लोक रहेको स्कन्ध पुराणमा विभिन्न खण्डहरू छन् । त्यसमध्ये पश्चिम सतलजदेखि पूर्व आसमसम्मको क्षेत्रलाई आधार मानिएर लेखिएको खण्डलाई केदार खण्ड भनिन्छ ।

माघ महात्म्य यही केदारखण्डअन्तर्गत छ । केदारनाथको शिर काठमाडौं उपत्यकामा र पाउ वर्तमान भारतको उत्तराखण्डमा रहेको कुरा पौराणिक ग्रन्थमा उल्लेख छ । त्यतिबेलाको कृषि युगमा माघ महिना अली फुर्सदिलो हुने भएकोले केदारखण्ड सुनेर ज्ञान आर्जन गर्ने परिपाटीको विकास हुँदै जाँदा श्रीस्वस्थानी व्रत सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । किनकी श्री स्वस्थानी व्रत नेपालको मौलिक चाडजस्तै हो । तर, नेपाली समाजमा श्री स्वस्थानी पूजा कहिलेदेखि गर्न थालियो भन्ने ठोस प्रमाण छैन । नेपालको धार्मिक र वास्तुकलाको स्वर्ण काल भएकाले लिच्छवी कालदेखि नै श्री स्वस्थानी पूजा गर्न थालिएको अनुमान गरिएको छ । त्यसमा पनि श्रीस्वस्थानी व्रतकथा पुस्तकको पछिल्लो खण्डको कथा काठमाडौं उपत्यकाको वरपरी घुमेको छ । विशेषतः काठमाडौंको नेवार समुदायमा श्री स्वस्थानीको गहिरो छाप छ । श्री स्वस्थानी व्रतकथाको हाल चलनचल्तीमा रहेको पुस्तक नेवारी भाषामा लेखिएको हो, त्यसपछि नेपाली भाषामा अनुवाद गरिएको हो । काठमाडौं उपत्यकाबाहेक देशका अन्य भागमा तथा अन्य समुदायमा पनि श्री स्वस्थानी पूजा गरिने प्रचलन छ ।

पहिलो कुरा त श्री स्वस्थानी व्रत नेपालको मौलिक पर्व हो । दोस्रो कुरा सबैभन्दा लामो समयसम्म उपासना गरिने नेपाली पर्व पनि श्री स्वस्थानी नै हो । श्री स्वस्थानीको व्रत लिँदा एकछाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । शरीरलाई स्वास्थ्य राख्न र ज्ञान आर्जनका लागि हाम्रो वैदिक सनातन सभ्यतामा धर्मको माध्यमबाट धेरै कुरा सिकाउने पद्धतिको विकास गरिएको छ । त्यही पद्धतिमध्येको एक हो श्री स्वस्थानी व्रत ।

एक महिनासम्म एकछाक चोखो अन्न र अर्को छाक कन्दमूल तथा फलपूmल सेवन गर्दा वर्षदिनसम्म शरीर स्वस्थ्य रहने कुरा विज्ञानले समेत प्रमाणित गरेको छ । अर्को कुरा हजारौँ वर्षअघि लेखिएको श्री स्वस्थानी व्रतकथामा सृष्टिको रहस्यदेखि जीवनयापन गर्ने तरिकाको समेत वर्णन गरिएको छ । अन्यायसँग कसरी जुध्ने ? जस्तासुकै संकटमा पनि निरास नहुन के के विधि अवलम्वन गर्ने ? व्यक्तिगत स्वतन्त्रताको महत्व के कति छ ? जीवनमा माया प्रेमको महत्व कस्तो छ ? लगायतका ज्ञानहरू सरल ढंगमा प्रस्तुत गरिएको छ । तर व्रतकथाका कतिपय प्रसंगहरू समयसापेक्ष परिवर्तन नगरिँदा अव्यावहारिक पनि छन् । व्रतकथाका यिनै अव्यावहारिक प्रसंगलाई लिएर हाम्रो वैदिक सनातन सभ्यतामाथि नै हिलो छ्याप्ने प्रयास विदेशीहरूबाट नभएको होइन ।

तर, अर्थ नबुझी पुराण सुन्न झन् प्रत्युत्पादक हुन्छ भन्ने यथार्थता थाहा पाउनु जरुरी छ । उदाहरणका लागि हामी नेपाली हरेक वर्ष श्री स्वस्थानी व्रतकथा श्रवण गर्छौं, तर आपूmलाई हिन्दू हौँ भन्न छाड्दैनौ । जबकी श्री स्वस्थानीको अर्थ हो, ‘आफू रहेको स्थान ।’ हामी नेपालमा छौँ । श्री स्वस्थानी मात्रै होइन हाम्रा कुनै पनि धार्मिक ग्रन्थमा हामी नेपालीलाई हिन्दू भनिएको छैन । हिन्दूस्थानमा बस्नेहरूलाई हिन्दू भनिएजस्तै नेपालमा बस्ने हामी नेपाली हौँ ।

प्रतिक्रिया