हराउँदै बहुपति प्रथा

सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो । नेपालमा अहिले पनि बहुपति प्रथा जीवितै छ । यो सुन्ने धेरैका लागि अनौठा लाग्छ, यस्तो पनि होला र भन्ने लाग्छ ! हो यो प्रथा कायम नै छ । लमजुङ, गोरखा, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङलमा बसोबास गर्ने केही लामा समुदायमा अहिले पनि यो प्रथा कायम नै छ ।

केही समय वर्षअघि हुम्लाका सांसद छक्कबहादुर लामाले सौर्य दैनिकसँगको लामो कुराकानीमा आफू यही प्रथाबाट पीडित भएका बताएका थिए । ‘आफ्नी श्रीमती भाइहरूले पनि भोगचलन गरेपछि मैले परिवारको विरुद्ध अर्को विवाह गरेँ र घर पैतृक सम्पती सबै त्यागेँ,’ उनले भनेका थिए । उनले आफू सधैँ घरबाहिर बस्ने र बाहिर बस्दा आफ्नो घरभित्रको सो संस्कार गलत रहेको बुझेको बताएका थिए ।

राजनीतिमा लागेका छक्कबहादुर घर बाहिर बसिरहने हुँदा घरकी श्रीमतीसँग सँगै हुन पाएनन् । कहिलेकाहीँ घरमा जाँदा श्रीमतीले माया गरेको अनुभूती उनलाई भएन । आफूले मन पराएर भित्र्याएको श्रीमतीको भाइहरूसँग सम्बन्ध चित्त बुझेन र अर्कै विवाह गरे । अहिले उनको परिवार राम्रोसँग चलेको छ । तर, यही कारण उनी आजसम्म घर जान सकेका छैनन् । दशकौँ भयो उनले विद्रोह गरेको । अहिलेका नयाँ पुस्ताले पनि त्यसै गर्दैछन् । उनले भनेका थिए, ‘म बहुपति प्रथाका पीडित हुँ, आपैmँले भित्र्याएको श्रीमतीको सम्बन्ध मसँग भन्दा बढी भाइहरूसँग भयो । उनीहरूको समुदायमा महिलाले जोसँग बस्न चाहे उसैसँग बस्न पाउँछिन् ।

यो प्रथा एकातिर कायम नै छ भने अर्कोतर्फ त्यसलाई स्वीकार न गरेर विद्रोह गरी घर छाड्नेको संख्या पनि बढदै छ । उनीहरूको समुदायमा बहुपति प्रथा स्वीकार नगर्नेले परिवार र पैतृक सम्पती पनि त्याग्नुपर्छ । एक प्रकारले उनीहरू सामाजिक बहिष्कृत हुन्छन् । पछिल्ला दिनमा युवाहरूले यसबाट विद्रोह गर्न थालेका छन् । समय क्रममा बुढापाकाहरूले पनि यो ठिक होइन, भन्ने बुझ्न थालेका छन् ।

तिब्बतको फ्याङ तुङगारबाट हुम्ला आएको बताउने चम्फासिंह लामाको परिवारमा १७ पुस्तासम्म बहुपति प्रथा चल्यो । तर अहिले उनका छोरा–नातिको पालादेखि भने यो चलन हटेको चम्फासिंहले बताए । उनका अनुसार पनि नयाँ पुस्ताले यसलाई रुचाएका छैनन् । उनीहरू यसलाई गलत ठान्दछन् र त्याग्दै छन् ।

उनले भने, ‘हामी चार दाजुभाइले एउटै पत्नी अपनायौँ । हाम्रा छोराहरूले त्यसलाई मानेनन् । सबैले आ–आपैmँले विवाह गरे । सबै छुट्टिएर बसेका छन् ।’ चार दाजुभाइकी एक्ली पत्नी छोडोल्माले चार छोरा र पाँच छोरीलाई जन्म दिएकी थिइन् । उनीहरूमध्ये कान्छा छोराबाहेक सबै छोराछोरीको विवाह भइसकेको छ ।

करिब दुई दशक अघिसम्म लामा समुदायमा घरघरै रहेको भनिएको बहुपति प्रथा पछिल्लो समय केही परिवारमा मात्रै सीमित हुन पुगेको लामा समुदायका अगुवाहरू बताउँछन् । ‘युवा पुस्ता शिक्षित भएपछि उनीहरूले यो चलन छाड्दै गएका छन्,’ सिमकोट बुरौँसेका राप्दान लामा भन्छन्, ‘पहिले अशिक्षित हुँदा धेरैको त्यस्तै थियो । अहिले सबै जना शिक्षित भए । त्यसैले बहुपतिको चलन पनि हट्दैछ ।’ चेतना र शिक्षका कारण युवापुस्ताले यसलाई त्याग्दै छन् ।
काठमाडौंमा बसेर स्नातकोत्तर अध्ययन गरिरहेका युवा सांगे तंजन लामाले समय परिस्थितिले नै बहुपति प्रथाको संस्कारमा परिवर्तन ल्याएको बताए । उनले भने, ‘शिक्षाले धेरै कुरा सिकायो । यो संस्कारलाई कैयौँले नराम्रो रूपमा लिएको पाइयो ।’

बहुपति प्रथामा भएका जटिलता र व्यक्तिगत स्वतन्त्रताले गर्दा पनि युवा पिँढीले यो संस्कारलाई निरन्तरता दिन नसकेको जानकारीहरू बताउँछन् । बहुपति प्रथामा जुन भाइले पहिला विवाह गर्छ अरू दाइभाइले पनि उनैलाई श्रीमती स्विकार्नुपर्छ । दाजुले बिहे गरेर भित्र्याएको श्रीमतीलाई भाउले सम्बोधन गरे पनि सम्बन्ध भने श्रीमतीको हुनेगर्छ ।
तर कान्छो वा अरू भाइको उमेर ८–१० वर्ष वा त्योभन्दा बढी फरक भएमा उनीहरूलाई एकल विवाह गर्ने छुट छ । लामा समुदायमा प्रायजसो जेठो भाइले मागेर वा मन पराएर विवाह गर्ने र अरू भाइले उनैलाई श्रीमती स्विकार्ने चलन रहँदै आएको थियो ।

तर केही वर्ष यता भने शिक्षा र चेतनाको विकाससँगै एउटै श्रीमती हुँदा दाजु–भाइबीच हुने मनमुटाव र झगडाले गर्दा पनि यो चलन हट्दै गएको लामा समुदायका अगुवाहरू दाबी गर्छन् । पहिला धेरै भेडा बाख्रा, च्यांग्रा, चौँरी पाल्ने र व्यापार व्यवसायको लागि भोट–मधेस गर्ने चलन थियो । त्यो बेला एउटा भाइ व्यापारमा, अर्को भेडी गोठमा, कोही कतै कोही कतै हुने भएकोले एउटै श्रीमती विवाह गरे पनि दाजुभाइहरू सधैँ सँगै बस्न पाउँदैनथे ।

‘फरक–फरक ठाउँमा बस्ने भएकोले घरमा पालोअनुसार आउने गर्थे,’ ८० बर्से चम्फासिं लामाले भने, ‘अहिले पशुपालन र व्यापार व्यवसाय गर्न बाहिर जानुपर्दैन ।’ उनका अनुसार पनि हिजको जस्तो यो प्रथामा निकै कमी आएको छ । सबै दाजुभाइ सँगै बस्दा मनमुटाव हुने भएकोले पनि अहिले धेरै युवाहरूले बहुपति प्रथा त्यागेर एकल विवाह गर्न थालेको बताइन्छ ।

लामा समुदायमा चिन्डोमा छ्याङ (जाँडको झोल) लिएर केटी माग्न जाने चलन छ । चिन्डोबाहेक अन्य भाँडामा छ्याङ लिएर केटी माग्न गए कम मान्यता हुने राप्दान लामाले बताए । ‘छोरी दिन्छन् भन्ने पूर्ण विश्वास भएका घरमा मात्रै केटा पक्ष केटी माग्न जान्छन्,’ उनले भने, ‘तर कहिलेकाहीँ विश्वास गरेकै घरले छोरी दिँदैनन्,’ बहुपति झेलेका महिलाहरूको स्वास्थ्यमा स्वास्थ्यमा समस्या आउने र भाइहरूबीचको झगडाले कहिलेकाहीँ पीडा खेप्नु परेको बताइन्छ ।
बहुपति प्रथामा महिलाले जस्तै पुरुषहरूले पनि विभिन्न समस्या खेप्ने गरेको उनीहरू बताउँछन् । मन परेको भाइसँग श्रीमती बस्दा अरू भाइहरूले बुढेसकालमा दुःख पाउने गर्छन् ।

बहुपति प्रथामा घरको मुली श्रीमती हुने र उनले नै श्रीमान्हरूलाई काममा खटाउने गर्छिन् । सन्तानहरू जुन दाजुभाइको भए पनि नागरिकतामा भने बाबुको रूपमा जेठो भाइको मात्र नाम राख्ने चलन छ । यसलाई कतिले महिलाको अधिकार धेरै भएको र घर मुलीका भूमिका निभाउने गरेको पनि भन्ने गरेका छन् । लामा समुदायका अगुवाहरू चलअचल सम्पत्ति बाँड्नु नपर्ने, कामको बोझ कम हुने भएकोले पूर्वजहरूले बहुपति प्रथा अपनाएको दाबी गर्छन् ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको बुरौंसे, तोर्पा, लिमाटाङ, बरगाउँ, रिमी, दोजाम लगायतका गाउँमा बहुपति प्रथा संस्कारमा बिस्तारै कमी आइरहेको पाइन्छ । हुम्लासहित नेपालका लमजुङ, गोरखा, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङ लगायतका जिल्लाका विभिन्न गाउँ बस्तीमा यो प्रथा कायम नै छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया