नेप्से ६९ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलब ७४ अंकमा बन्द भएको छ । नयाँ वर्ष २०२२ सुरु भएसँगै लगातर बढीरहेको नेप्सेमा ४ सय अंक भन्दा बढीको वृद्धि भइसकेको छ । सन् २०२१ को अन्तिम कारोबार दिन २ हजार ५ सय २४ दशमलब ५० अंकमा बन्द भएको नेप्से नयाँ वर्ष सुरु भएपछिको ११ कारोबार दिनमा ४ सय २ अंकले बढेको हो ।

नेप्सेसँगै कारोबार रकम पनि सुधार आएको छ । आइतबार नेप्सेमा कारोबार रकम साढे ९ अर्ब नाघेको छ । एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजारको कारोबार भएको हो । बजारमा सबै उपसूचकमा हरीयाली छाउँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक २ दशमलव १४ अंकले बढेको छ । यस्तै उत्पादनमुलक उपसूचक ५ दशमलव ६२ प्रतिशत, अन्य उपसूचक ३ दशमलव शुन्य ९ प्रतिशत, विकास बैंक उपसूचक २ दशमलव ७७ प्रतिशत र जीवत तथा निर्जीवन बिमा, व्यापार हाइड्रोपावर र फाइनान्स उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।

कोभिड संक्रमण बढ्न सुरु भएसँगै लकडाउन हुने चर्चाले पछिल्लो केही दिनयता लगानीकर्ताले बजार बढ्नेमा विश्वस्त भएर लगानी बढाएको देखिन्छ । तर, कतिपय लगानीकर्ता भने बजारबाट बाहिरिन थालेका छन । बजारमा वृद्धि हुँदै गर्दा सेयर कारोबारमा लगानीकर्ताको रोजाइमा हाइड्रोपावर कम्पनी पर्दै गएका छन् । सोही कारण अरूण भ्याली हाइड्रोपावरको ३६ करोडको कारोबार हुँदा अपी पावरको ३० करोड माथि कारोबार भएको छ भने अपर तामाकोशीको पनि करिब ३० करोडकै सेयर किनबेच भएको छ ।

नेप्सेमा १ सय ८९ कम्पनीको सेयर कारोबार हुँदा १ सय ६७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १६ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा किसान लघुवित्तको सेयरमूल्य पनि ९ दशमलव ९४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया