प्रधानमन्त्री कप क्रिकेट : बागमति प्रदेशको जित

काठमाडौं । प्रधानमन्त्री कप टीट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको शनिबार भएको खेलमा बागमति प्रदेशले सफलता हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बागमति प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्यो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको बागमतिले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४३ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकीले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय तीन रनमात्र बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको बागमतिका लागि मध्यक्रमका ब्याट्सम्यान विपिन आचार्यले ३० रनको योगदान गरे । रनआउट भई पेभेलियन फर्किनुअघि उनले १९ बलको सामना गरी तीन चौका पनि प्रहार गरे । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

यसैगरी ओपनर ब्याट्सम्यान सुवाष खकुरेलले २७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान खकुरेलले ३० बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरे । अर्का ओपनर ईशान पाण्डे भने नौ रनमै पेभेलियन फर्किएका थिए । प्रतिश जिसीले पनि टोलीको खातामा महत्वपूर्ण २७ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका प्रतिशले केवल आठ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए । लक्की कठायतले १७ र नन्दन यादबले १४ रन बनाए ।

बागमतिले अतिरिक्त रुपमा १४ रन पायो । गण्डकीका बलर कृष्ण पौडेल र विशाल पौडेलले दुई÷दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकीका लागि कमल परियारले सर्वाधिक ११ रन बनाए । विधान श्रेष्ठ, दिपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र विशाल पौडेलले १०/१० रन जोडे ।

गण्डकी प्रदेशले अतिरिक्त रुपमा १६ रन पाएको थियो । गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यानले बनाएको भन्दा यो बढी रन हो । बागमति प्रदेशका बलर नन्दन यादब, विपिन आचार्य र सुवाष खत्रीले दुई÷दुई विकेट लिए ।

समूह ‘बी’ मा चार खेलबाट आठ अंक जोडेको एपीएफ क्लब पहिलो र समान खेलबाट ६ अंक बटुलेको बागमति दोस्रो स्थानमा छन् । चार खेल खेलेको प्रदेश नम्बर २ भने दुई अंकसहित तेस्रो स्थानमा आसिन छ । तीन खेलबाट दुई अंक जोड्दै लुम्बिनी प्रदेश चौथो र तीनवटै खेलमा पराजित भएको गण्डकी प्रदेश पाँचौं स्थानमा छन् ।

कोरोनाका आशंकाले खेल स्थगित
प्रधानमन्त्री कप टीट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीचको खेल स्थगित भएको हो । प्रदेश नम्बर १ का खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको आशंकाका कारण उक्त खेल स्थगित गरिएको हो । उक्त खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने कार्यक्रम थियो । अब खेलाडीमा कोरोनाको परीक्षणपछि मात्र उक्त खेलबारे निर्णय गरिने बताइएको छ । समूह ‘ए’ मा रहेको विभागीय टोली पुलिस क्लब लगातार तीन खेल जित्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया