नर्सिङ सेवासहितको वृद्धाश्रम

बागलुङ । बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गरेका छन् । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग २ करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरिएको सो भवनको पिल्लर राख्ने कार्य भइरहेको छ । हेलोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिष्कारमा परेका व्यक्ति र स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा र सुविधासहित आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्षअघि नै गरिए पनि अहिले आएर बजेट विनियोजन भएकाले निर्माण कार्यसमेत थालिएको नगरप्रमुख पौडेलले जानकारी दिए ।

‘सकेसम्म मानिसलाई वृद्धाश्रम लग्नु हुँदैन तर अहिले वृद्धाश्रम नभई नहुनेजस्तो भइसक्यो’, उनले भने, ‘घरमा बस्ने वातावरण नभएका, हेलामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान तथा योग सिकाउने र खुसी जीवनयापन गर्न सिकाउने मूल उद्देश्यले वृद्धाश्रम बनाउन थालिएको छ, अन्य वृद्धाश्रमभन्दा यो निकै फरक ढंगको र वृद्धवृद्धा मैत्री हुनेछ ।’

आव ०७८/७९ मा एक तलाको दुई वटा सुविधा सम्पन्न भवन निर्माण गरिनेछ । भूकम्प प्रतिरोधी, अपांगमैत्री र सबै सेवा सुविधा एकैतलामा हुनेगरी भवनको निर्माण सुरु भइसकेको र असार मसान्तसम्म एक तला भवन तयार हुने नगरपलिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिए । निरयघाटमा रहेको जंगेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा भवन निर्माण थालिएको हो । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा, डाइनिङसहित १४ कोठा निर्माण गरिने इञ्जिनियर शर्माको भनाइ थियो । उक्त गुठीको जग्गामा मानव सेवाआश्रम निर्माण गर्न सात रोपनी जग्गा उपलब्ध गाराइएको नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवाआश्रम र वृद्धाश्रम दुवैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको हो । पाँच रोपनी जग्गामा कम्पाउड, पार्क, व्यायम केन्द्र, ध्यान गर्ने सभाकक्ष सहितको तीन वटा तीनतले भवन निर्माण भएर आश्रमले पूर्णता पाउन झण्डै रु १२ करोड खर्च हुने अनुमान गरिएको छ । वृद्धाश्रममा स्वास्थ्यकर्मीसहितको सेवा दिइनेछ । असार मसान्तसम्म सम्झौताबमोजिम भवन तयार गरेर वृद्धाश्रम सञ्चालनका लागि हस्तान्तरण गरिने निर्माण कम्पनीका कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया