‘कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक बनाउदा सरकार मौन बस्नु रहस्यमय’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको भन्दै आपत्ति जनाएको छ । कालापानी लिपुलेक नेपाली भूमि भएको भन्दै राप्रपाले आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने बताएको छ ।

‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ,’ राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कालापानी लिपुलेक नेपाली भूमि हो । आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’

भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय भएको राप्रपाको ठहर छ । ‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँगग कुटनैतिक र राजनीतिक तहको संवादमार्फत तत्काल निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया