खोजखबर

सक्कली नागको शिर पूजा बिना नै सुरु भयो मकर स्नान

शुकदेव थपलिया २०७८ माघ १ गते १८:१२ मा प्रकाशित

काभ्रे । काभ्रेको पनौतीमा सक्कली नागको शिर पूजा बिना नै मकर स्नान सुरू गरिएको छ । माघ १ गते बिहान १२ बजेबाट सुरु भएको एैतीहासिक १२ वर्षे मकर मेलामा बासुकी नागको शिर मानिएको सक्कली नागको शिर पूजा बिनै मकर स्नान शुरू गरिएको हो । स्थानीय जानकार प्रेमबहादुर प्रधानका अनुसार सो नाग इन्द्रेश्वर मन्दिर भित्र पूर्व र उत्तरको कुनामा एक तला माथि राखिएको हुन्छ । यो १२ वर्षमा एक पटक निस्कने २ जात्रामा र जेठ पूर्णिमाको दिन एक चोटि यहाँ राख्ने र यो देउलहरुले लिएर आएर राख्नुपर्ने हुन्छ । यो डेलाहरुको काम हो ।

हालका पूजारी पूजारी रमेशप्रसाद गौतमले मेयर, उपमेयर तथा वडाध्यहरु जो आए पनि आफूले दिने बताए । हिजो सम्म मेयर भीम न्यौपाने वडा ७ का वडाध्यक्ष रामचन्द्र नसनानी र वडा सदस्य पुरुषोतम ताम्राकार लिन जाने कुरा भए पनि ल्याउनु पर्ने नाग नल्याएको प्रधानले बताए ।

मकर बारे बोल्दै उनले भने, ‘मकरले कसैलाई पनि कुर्दैन्, मकर भनेको सूर्य धनु राशि बाट मकर राशिमा सरेको दिन आज त्यो भनेको मकर संक्रान्ति हो । अब नुहाए पनि ननुहाए पनि विधि विधान पुर्याउनु पर्छ, तर यहाँ सामान्य कुरा समेत पूरा गर्न सकेको देखिएन । नाग राजाको शिर इन्द्रेश्वरबाट यहाँ ल्याएर राख्नुपर्यो अनि मात्रै मकरको स्नान गर्ने काम हुन्छ ।’

उनले आक्रोश पोख्दै प्रधानले भने, ‘भन्ने बेलामा धर्म संस्कृति जोगाऔं भन्ने ढवाङ फुकिन्छ । के यही हो धर्म संस्कृति जोगाएको ? घाटलाई फेरिएको कारण अब अनिष्ट ल्याउँछ । ०७७ साल जेठमा आएको जस्तो बाढी आए यो नयाँ बनेको संरचना निर्माण को अर्थ रहन्न सबै बगाउछ । यो त्रिवेणी घाट बनाएको पनि ठाउँ मिलेन् ।’

पनौतीमा जारी मकर मेलामा १ माघको बिहान रातको १२ बजेबाट नै स्नान गर्ने श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस विषयमा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले भने नागको पूजा गरिएको दावी गरेका छन् । उनले भने, ‘सक्कली नाग नक्कली नाग भन्ने चाहिँ थाह भएन पूजा गरिएको छ । पूजा भएन भन्ने स्थानीय सँग म बुझौंला ।’

त्यस्तै, विषयमा वडा ७ का वडाध्यक्ष रामचन्द्र नस्नानीले हरेक १२ वर्षमा लाग्ने मकर मेलामा सो विधि विधान अनुसार गरिँदै आएको बताए । उनले भने, ‘त्यो काम उहाँ(पुजारी)हरू आफैंले गर्नु पर्ने हो । यो वर्ष पनि खुरुक्क गरे त कुरै सकिएको थियो । यो वर्ष बासुकी सक्कल नागको पूजा नभएको जस्तो पनि र नयाँ ल्याइएको नागको पूजा हुँदा भए जस्तो पनि भएको छ ।’

नब्बे सालको महाभूकम्पबाट पनि कुनै क्षति नभएको पनौतीलाई बासुकी नागले सुरक्षित गराएका छन्, भन्ने विश्वास जनमानसमा छ । पाँच दर्जनभन्दा बढी मठ, मन्दिरहरू रहेको ऐतिहािसक पनौती क्षेत्रमा भक्तजनहरूले पनौतीघाटमा स्नान गरेपछि वासुकी, ब्रहृमायणी, घनञ्जय र इन्द्रेश्वर शिवको पूजा गर्ने गर्छन् । यसो गर्दा ठूलो पुण्य मिल्ने शास्त्रकारहरूको भनाइ छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय