कसले बनायो पहिलो चित्र ?

कलाकार मोलारामले बनाएकाे पृथ्वीनारायणको पहिलो चित्र 

काठमाडौं । गोर्खा राज्य बिस्तार अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको पहिलो चित्र गढवाली कलाकार मोलारामले बनाएका हुन् । मोलारामको जन्म १७४०÷४३ को बीचमा श्रीनगरमा भएको थियो । उनका मातापिताको नाम रामदेवी र मंगतराम थियो । उनको परिवारको परम्परागत पेशा सुनको काम गर्ने थियो । मोलाराम भने चित्रप्रति पनि आकर्षित थिए र यसलाई पेशाका रुपमा अँगाले । भारतीय विद्वान वाचस्पति गैरोलका अनुसार उनी मूलतः चित्रकार थिए साथै कविता, इतिहास तथा राजनीतिमा समेत उत्तिकै दख्खल राख्र्थे ।

अठारौं शताब्दीको उत्तराद्र्ध र उन्नाइसौ शताब्दीको सुरुमा मोलारामले गढवाली कला शैलीको बीजारोपण गरेको भारतीय इतिहासकारले उल्लेख गरेका छन् । वास्तवमा लामो समयसम्म गढवालमै अपरिचित जस्तै मोलारामलाई मुकुन्दीलाल बार ऐट–लाले प्रकाशमा ल्याएका हुन् । मुकुन्दीलालले ‘गढवाल की दिवंगत विभूतियाँ’ पुस्तकमा प्रमाणसहित मोलारामको जीवनी प्रकाशित गरेका छन् । मोलारामको सन् १८३३ मा निधन भयो ।

गढवाली कलाकार मोलाराम

पुस २७ गते पृथ्वीजयन्ती हो । जब पृथ्वीनारायणको कुरा आउँछ एक औंला ठड्याइरहेको आकृति हाम्रो दिमागमा घुम्छ । उनको यो चित्र कसले बनायो भन्नेमा हाम्रो ध्यान त्यति गएको पाइँदैन । अहिलेसम्म भेटिएका चित्रमा पहिलो चित्र मोलारामले बनाएको नेपालका सुप्रसिद्ध कलाकार मनुजबाबु मिश्रले उल्लेख गरेका छन् । यसैगरी २०२४ सालमा हुलाक टिकट बनाउनेक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य बनाएको चित्र पनि उल्लेख गर्नलायक छ । अर्का कलाकार अमर चित्रकारले बनाएको चित्र तथा मूर्ति भने अहिले व्यापक प्रचलनमा छ ।

मोलारामले बनाएको गढवाली शैली (जसमा मुगल र राजपूत शैलीको मिश्रण देखिन्छ) मा बनाएको पृथ्वीनारायणको चित्रमा एक हातमा कमलको फूल लिइरहेको देखाइएको छ । गढवालमा गोर्खाले विजय हासिल गरेपछि मोलारामले गोर्खालीसँग मैत्री सम्बन्ध कायम राखे । उनले त्यहीबेला केही चित्र उपहार स्वरुप गोर्खाली सेनाका गढवाल प्रमुख हस्तिदल चौतरियालाई दिएको विद्वानको मत रहेको छ । सोहीक्रममा उनले पृथ्वीनारायणको चित्र बनाए र नेपाल पठाए ।
प्रसिद्ध कलाकार मनुजबाबुले ‘अनुहारका पानाहरू’ पुस्तकमा ‘व्यक्तित्व एक अनुहार अनेक’ शीर्षकमा लेखेको लेखमा पृथ्वीनारायणका तीनवटा फरक मुहारचित्रका बारेमा चर्चा गरेका छन् । उनका अनुसार यी तीनवटा चित्रमा वेशभूषा, अनुहार, पृष्ठभाग भिन्न–भिन्न छन् । मनुजबाबुले चर्चा गरेको मध्येको पहिलो चित्र राजा रणबहादुर शाहको पालामा मोलारामले बनाएको लेखिएको छ । उनले मोलारामले बनाएको चित्र मुगलशैली र पृथ्वीनारायण शाह मुगल सम्राटजस्तै देखिएको जिकिर गरेका छन् ।

अमर चित्रकारले पश्चिमा शैलीमा बनाएको चित्र

मनुजबाबुले चर्चा गरेको दोस्रो चित्रमा प्रकाश र छायाँको प्रयोग गर्दै यथार्थपरक बनाउने कोशिस गरिएको छ । यो चित्र कसले बनायो भन्नेबारेमा उनले केही लेखेका छ्रैनन् । तेस्रो चित्र भने अमर चित्रकार बनाएको उल्लेख छ । मनुजबबाबुले सो पुस्तकमा २०२४ सालमै कलाकार केके कर्माचार्यले बनाएको हुलाक टिकटको चर्चा गरेका छैनन् । कर्माचार्यले टिकट प्रयोजनका लागि पृथ्वीनारायणले औँला ठ्डयाइरहेको चित्र पहिलो पटक बनाएका हुन् । उनले मुगल÷गढवाली शैलीमा उक्त चित्र बनाएको देखिन्छ । मनुजबाबुले चर्चा गरेको अमर चित्रकारकृत चित्र भने प्रकाश र छायाँ प्रयोग गरी पश्चिमा शैलीमा तयार पारिएको छ । यो चित्र तयार पार्दा तत्कालीन दरबारको निर्देशनमा बनाइएको कुलपति केके कर्माचार्य बताउँछन् ।

मोलारामले बनाएको चित्र इतिहासकार बाबुराम आचार्यले फेला पारेको सबभन्दा पुरानो हो । यस चित्रमा पृथ्वीनारायण फूल समाएर सिंहासनमा बसेका छन् । कुलपति कर्माचार्यले भने मोलारामले बनाएको भन्ने प्रमाण आफूले नभेटेको सुनाए । राजा महेन्द्रका कारण पृथ्वीनारायणको चित्रको खोजी भयो । सोक्रममा हातमा कमलको फूल समातेको चित्र फेला प¥यो । पृथ्वीनारायणलाई राष्ट्रिय विभूतिको रुपमा स्थापित गर्न र पञ्चायती व्यवस्थालाई प्रचार प्रसार गर्ने ध्ययेका साथ महेन्द्रले पृथ्वी जयन्ती मनाउने प्रचलनको सुरुवात् गरे । यसक्रममा पृथ्वीनारायणका चित्रको खोजी सुरु भयो तर पहिला बनेका चित्रले नेपाल एकीकरणको भावनालाई सम्बोधन गर्न नसक्ने भन्दै महेन्द्रले अर्को चित्र बनाउन लगाए ।

कुलपति कर्माचार्यले भने, ‘पृथ्वीनारायणलाई एकीकरण गरेका फरक राजा हुन भनेर कसरी देखाउने त ? उनको चित्र त्यस्तो थिएन । २०२४ सालतिर टिकट पृथ्वीनारायणको टिकट निकाल्ने भइयो । म हुलाक टिकटको डिजाइन गर्थे त्यसबेला । त्यही भएको पुरानो चित्रमा फूल हटाएर मैले नै औंला राखें ।’

 

आधिकारिक ज्ञान छैन : कुलपति कर्माचार्य

(नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य ।)

० पृथ्वीनारायण शाहको चित्र यहाँले कति सालतिर बनाउनुभएको हो ?
– २०२४ सालमा बनाएको हुँ ।
० यो चित्र हुलाक टिकटको प्रयोजनका लागि बनाउनुभएको हो ?
हुलाक टिकटमा भएको चित्र त्यसैको लागि प्रतिकृति बनाएको हो । त्यसमा रहेको फूल निकालेर एकताको प्रतीक औंला ठडाएको बनाएको मैले हो ।
० यहाँले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नुभएको पृथ्वीनारायणको चित्र कसले बनाउनुभएको हो ?
– आधिकारिक ज्ञान मलाई छैन ।
० पृथ्वीनारायणको अन्य चित्रका बारेमा यहाँलाई भएको जानकारी के के छ ?
– नौलो रियालिस्टिक अमर चित्रकारले बनाएको औँला उठाएको चित्रभन्दा पहिले हुलाक टिकटमा प्रयोग भएको चित्रलाई नैं मान्दछन् । त्यसभन्दा अगाडिको मौलिक चित्र हातमा फूल भएको मुगल अथवा राजस्थानी शैलीको चित्र हो । त्यो चित्र कसले बनाएको भन्ने कुरा कही आधिकारिक उल्लेख भएको जानकारी मलाई छैन ।
(नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य ।)

 

० कुलपति केके कर्माचार्यले २०२४ सालमा बनाएको हुलाक टिकटमा पृथ्वीनारायणको चित्र

प्रतिक्रिया