भिडभाडका कार्यक्रम नगर्न राजनीतिक दललाई मुख्यमन्त्रीको आग्रह

विराटनगर । प्रदेश–१ सरकारले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा शुक्रबार राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा छलफल आयोजना गरिएको हो । छलफल कार्यक्रममा मुख्यमन्त्री राईले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गरे । ‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्’ मुख्यमन्त्री राईले भने ।

प्रदेश–१ मा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने संख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन उनले अपिल गरे । कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउनेगरी सामाना गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिँदै पटकपटकको लकडाउनले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार संवेदनशील रहेको बताए ।

छलफल कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोभिड रोगविरुद्ध संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गरे । उनले रोगविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बुस्टर डोजका रूपमा दिइने खोप दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले रोगको संक्रमण फैलिएको अवस्थामा एकले अर्कामा जिम्मेवारी पन्छाएर भन्दा पनि मिलेर अघि बढ्न आग्रह गरे ।

सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भिडभाड हुने खालको कार्यक्रम नगरीदिन अपिल गरे । उनले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभिडविरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट पारे ।

छलफल कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस प्रदेश–१ अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सूयर्माराज राई, नेकपा माओवादी केन्द्र प्रदेश–१ अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश–१ सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश–१ अध्यक्ष प्रवीण चाम्लिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश–१ सचिव वासुदेव भट्टराई लगायतले आआफ्नो दलका तर्फबाट धारणा राखेका थिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले रोगविरुद्ध भए गरेका प्रयासबारे प्रकाश पारेका थिए । छलफल कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश–१ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, सशस्त्र प्रहरी बल पकलीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान प्रदेश–१ कार्यालयका प्रमुख अनुसन्धान निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना थलाहा गणका प्रमुख सेनानी अमृत थापा मगरले कार्यालयबाट भए गरेका कामका बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया