हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया अवरूद्द

काठमाडौं । हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको विशेष प्रस्ताव अस्वीकृत गरेको छ । शुक्रबार सम्पन्न बैंकको २९औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव अस्वीकृत गरेको हो । मर्जर विषयमा सेयरधनीहरुबीच विवाद भएपछि उक्त प्रस्ताव पारित हुन नसकेको हो । मर्जर सम्बन्धी प्रस्तावमा सहमति हुन नसकेपछि बैंकले बहुमतका आधारमा पारित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भएको मतदानको नतिजा आइसकेको छैन । स्रोतका अनुसार अहिले मतगणनाको काम भइरहेको छ ।

सेयरधनीहरुमध्ये खासगरी कर्मचारी संचयकोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेशनल कम्पनी नै मर्जरको विपक्षमा रहेपछि मर्जर प्रस्ताव पारित हुन नसकेको हो । हिमालयन बैंकमा संचय कोषको १४.८७ प्रतिशत सेयर लगानी छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यसरी ३६.५८ प्रतिशत सेयरधनीको असहमतिपछि हिमालयन बैंकको साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुन नसकेको हो ।

मर्जरका लागि कम्तिमा ७५ प्रतिशत सेयरधनीको सहमति चाहिन्छ । हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर लगानी छ । यो बैंकको सबैभन्दा ठूलो सेयरधनी हो । दोस्रो ठूलो सेयरधनी कर्मचारी सञ्चय कोष हो । बैंकमा कोषको १४.८७ प्रतिशत सेयर छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर छ । शशिकान्त अग्रवालको २.६५ प्रतिशत, अन्जु खेतानको ०.७७ र शर्मा एण्ड कम्पनीको ०.६६ प्रतिशत सेयर लगानी छ । बाँकी सेयर सर्वसाधारण र साना लगानीकर्ताको छ ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेदेखि नै हिमालयन बैंक सञ्चालक समितिमा मतभेद देखिएको थियो । संस्थापक लगानीकर्ताहरु हबिब बैंक, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल र खेतान समूह मर्जरको पक्षमा रहेका थिए भने संचय कोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेसनल विपक्षमा रहँदै आएका थिए । यही कारण समझदारी पत्रमा हस्ताक्षर भएको करिब ९ महिना पछि यी दुबै बैंकको मर्जर प्रक्रिया रद्द हुने भएको हो ।

प्रतिक्रिया