खेलाडीले अनावश्यक दबाब महसुस गरेको भए जारी खेलमा सहभागी हुँदिन : अल्मुताइरी

काठमाडौं । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई कुनै प्रकारको दबाब नदिएको स्पष्ट पारेका छन् । सहिद स्मारक ए डिभिजन लिग चलिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३५ जना खेलाडीलाई मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएको थियो ।

लिगमा सहभागी टोलीका केही प्रशिक्षकहरूले उक्त बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूलाई अल्मुताइरीले दबाब दिएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूलाई अल्मुताइरीले अगाडि अर्को खेल हुँदा खुट्टा जोगाएर खेल्नुलगायतको निर्देशन दिइनुले क्लबको प्रदर्शनमा फरक पर्नुका साथै खेलाडीमाथि अनावश्यक दबाब सिर्जना गरेको क्लबका प्रशिक्षकहरूको दाबी छ ।

तर, अल्मुताइरीले क्लबका प्रशिक्षकहरूको उक्त दाबीमाथि अनविज्ञता प्रकट गरेका छन् । ‘कुनै पनि खेलाडीलाई नखेल भनेर मैले कहिल्यै भनिनँ र लिगका खेलहरूमा १०० प्रतिशत नदिनु पनि भनेको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई थाहा छ क्लबमा १०० प्रतिशत दिने खेलाडीले राष्ट्रिय टोलीमा उत्तिकै योगदान दिन सक्दैनन् ।’

उनले क्लब र लिग प्रतियोगिता फुटबल विकासको मुख्य कारक भएको स्मरण गराउँदै खेलाडीले अनावश्यक दबाब महसुस गरेको भए जारी लिगको खेलहरूमा सहभागी नहुने बताएका छन् । ‘यदि लिगका खेलहरूमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरूले दबाब महसुस गरेका छन् भने म सहभागी हुँदिन। खेलहरू टिभीमा हेर्छु,’ उनले लेखेका छन्, ‘लिगका सबै क्लब र खेलाडीहरूलाई शुभकामना ।’

प्रतिक्रिया