कालीगण्डकी सभ्यताको गन्तव्य, ‘केलादीधाम’

स्याङ्जा पाल्पा, तनहुँ र नवलपरासीको संगमस्थल केलादीधाम कालीगण्डकी सभ्यताको केन्द्रका रूपमा परिचित छ । कालीगण्डकी तटीय क्षेत्रअन्तर्गत स्याङ्जाको चापाकोट नगरपालिका–६ मा पर्ने यो ठाउँ हुँदै पुस्तौंँदेखि कास्की, स्याङ्जा, तनहँुलगायत आसपासका जिल्लाबाट सर्वसाधारण नुन लिन जाने प्रचलनका कारण पनि तत्कालीन समयदेखि नै यहाँको चर्चा चुलिएको हो ।

कालीगण्डकीमा वारपार गर्नका लागि प्राचीन समयदेखि नै यहाँस्थित डुंगाघाट आसपासको क्षेत्रको नै केन्द्र मानिन्छ । ठाउँठाउँबाट आवतजावतका लागि सर्वसाधारण आउने तथा भेट हुने भएकाले केलादीघाट तत्कालीन सूचनाको केन्द्र जस्तै बनेको थियो । वैशाख संक्रान्ति, माघे संक्रान्ति या अन्य विभिन्न चाडपर्व र तिथिमा सो घाटमा आएर स्नान गरे पूण्य सञ्चय हुने विश्वास रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले जानकारी दिए ।

प्रकृति र संस्कृतिको अनुपम संगम सो स्थलमा मुक्तिनाथदेखि बगेको कालीगण्डकीले शीतलता प्रदान गरेको छ नै, वरपर डाँडाले घेरिएको यस सुन्दर क्षेत्रमा आउने जोकोही लोभिने गरेका छन् । विभिन्न धर्मग्रन्थमा यहाँको महिमा र गरिमा चर्चा गरिनाले पनि यस धार्मिक–पर्यटकीय तीर्थस्थलको विशिष्टता झल्काएको सचिव खनालले बताए ।

शालिग्राम पाइने विश्वको एक मात्र नदी कालीगण्डकीका किनारमा रहेको सो स्थानको आध्यात्मिक रूपमा पनि विशेष महत्व रहेको छ । उनले सो धामको दर्शन गर्न नसक्नेले नाम उच्चारण गर्दा पनि पूण्य मिल्ने जनविश्वास रहेको बताए । प्राचीन धर्मग्रन्थ ‘बराह पुराण’मा ‘स्नात्वा समीपतीर्थे तु कृष्णगंगोद्भवे सदा । एवं नित्यप्रसक्तो हि कुरुते द्रव्यगर्वितः’ उल्लेख गरी कालीगण्डकी र त्यसका नजिकका तीर्थमा गरिने स्नानको महत्व सम्बन्धमा प्रकाश पारिएको छ । अहिंसालाई सर्वोपरि राख्ने निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठका रूपमा यहाँस्थित राधादामोदर निम्बार्क पीठ रहनाले पनि यहाँको महत्व बढाएको समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले बताए । ‘वैष्णव सम्प्रदायसँगै विभिन्न स्थानबाट धार्मिक पर्यटकहरू केलादीधाम आउने गरेका छन्,’ उनले भने, ‘धार्मिक तथा ऐतिहासिक धरोहर यस धाममा भौतिक पूर्वाधार र विकास भने अपेक्षित हुन सकेको छैन ।’

यस क्षेत्रलाई महत्वपूर्ण तीर्थस्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ एक दशकअघि गरिएको महायज्ञबाट संकलित ६८ लाख रुपैयाँबाट पूर्वाधार विकासका कामलाई प्राथमिकताअनुसार बढाउन थालिएको हो । सचिव खनालका अनुसार यहाँस्थित पुरानो मन्दिर पुनःनिर्माण गरिएको छ । प्राचीनकालदेखि नै पूजाआजा गर्दै आइएको यहाँस्थित राधादामोदर मन्दिर ०१३ सालमा पुनःनिर्माण गरिएको थियो । झण्डै ६ दशकपछि मन्दिर जीर्ण बनेपछि स्थानीयको सक्रियतामा ०७० मा निर्माण थालेर ०७४ सालमा पुरानै शैलीमा निर्माण गरिएको हो । छाने र गुम्बज शैली सम्मिश्रण गरी बनाइएको नयाँ मन्दिरमा ०७५ साल वैशाख पूर्णिमादेखि पूजाआजा गर्ने गरिएको छ । मन्दिर पुरानै स्वरुपमा निर्माण गर्नका लागि काठमाडाँैंदेखि कालिगढ मगाइएको समितिले जनाएको छ । मन्दिर निर्माणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ०६६ देखि ०७४ सम्म पटकपटक गरी ६५ लाख रुपैयाँ सहयोग भएको थियो ।

केलादीधामको ऐतिहासिक एवम् धार्मिक महत्वलाई दृष्टिगत गरी सहरी विकास विभागद्वारा पूर्वाधार विकासका लागि १४ करोड रुपैयाँको लागत अनुमानसहित गुरुयोजना तयार गरिएको सचिव खनालले जानकारी दिए । मन्दिर परिसरमा हाल महन्त निवास, भान्छाघर, हवनकुण्ड, प्रवेशद्वार आदि पूर्वाधार निर्माण भइसकेको तथा निम्बार्क समुदायको पहिचानस्वरुप निम्बार्क स्तम्भ निर्माण गर्ने काम भइरहेको छ । गुरुयोजनाअन्तर्गत केलादीधाममा वाचनालय, विभिन्न कुण्ड, अतिथि निवास, गुरुकुल पाठशाला, ज्येष्ठ नागरिक ग्रामअन्तर्गत २० आवास भवन निर्माण गरिने छ । यहाँ नै नेपाल संस्कृत विश्वविद्यालय, राधादामोदर संस्कृत विद्यापीठ मातहत योग तथा प्राकृतिक चिकित्साको स्नातक तहको अध्यापन गराउने विषय पनि चर्चामा रहेको सचिव खनालले बताए ।

पौराणिक महत्वका हिसाबले यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले बताए । ‘केलादीधामको विकास हाम्रो प्राथमिकतामा छ, सीमित बजेटका कारण अपेक्षित काम गर्न सकेका छैनौंँ,’ उनले भने, ‘सम्बद्ध सबैको साथ र सहयोगमा यस क्षेत्रलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्नेतर्फ लाग्नु जरुरी छ ।’

यहाँको राधादामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । विशेषगरी महत्वपूर्ण तिथिमितिका साथै बिदाका दिन यहाँ अवलोकन गर्ने र तस्बिर खिंचाउन आउनेको लर्को लाग्छ यहाँ । शीतल हावासँगै मन्दिर दर्शन र अवलोकन गर्न जानेक्रम विस्तारै बढ्दो छ । कालीगण्डकी तटमा रहेकाले पनि पुण्यप्राप्ति गर्ने विश्वासका साथ वैशाखे संक्रान्ति, माघे संक्रान्ति,, एकादशीजस्ता पर्वमा स्नान गर्न आउनेको भीड लाग्छ । दिवंगत व्यक्तिलाई केलादीघाटमा अन्तिम संस्कार गरेमा उनीहरूको आत्माले शान्ति मिल्ने र वैकुण्ठबास हुने विश्वासले टाढाटाढाबाट शव ल्याइने गरेको स्थानीय बताउँछन् ।

राधादामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा गरी करीब १८५ रोपनी जग्गा छ । यस क्षेत्र स्याङ्जाको चापाकोट नगरपालिका–६ मा रहे पनि संरक्षण, रेखदेख, भौतिक संरचना निर्माणलगायत क्षेत्रमा पाल्पा, रामपुर नगरपालिका र तनहुँ घिरिङ गाउँपालिकावासीले सहयोग गरिरहेका छन् । केलादीधामको आन्तरिक व्यवस्थापनका लागि नगर र वडास्तरबाट समयसमयमा बजेट उपलब्ध गराउँदै आइएको चापाकोट–६ का वडाध्यक्ष एकदेव भट्टराईले बताए । उनका अनुसार कालीगण्डकी सभ्यताको महत्वपूर्ण गन्तव्यका रूपमा यहाँको विकास हुने सम्भावना छ । आवश्यक पूर्वाधार विकाससँगै राम्रो प्रवद्र्धन भएमा यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनले बताए । केलादीधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न स्थानीय तहका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता उनले गरे ।

पुरानो सत्तल : यहाँको पुरानो राधादामोदर मन्दिर जीर्ण बनेपछि सोही शैलीमा नयाँ मन्दिर निर्माण गरिए पनि परिसरमा रहेको प्राचीन सत्तल यतिखेर जीर्णोद्धारको पर्खाइमा छ । २००८ सालमा प्राचीन शैलीमा निर्मित नौ कोठासहितको चारतले सत्तल ०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बनेको छ । दर्शनार्थी तथा बटुवा बस्ने सत्तलको पुरानै स्वरुपमा निर्माण गर्न गण्डकी प्रदेश सरकारसँग तीन वर्षअघि नै निवेदन प्रस्तुत गरिए पनि कार्यान्वयन बढ्न नसकेको सचिव खनालले बताए ।

२० कुटी निर्माण गरिने : ज्येष्ठ नागरिकका लागि मन्दिर आसपासमा विगतमा १ सय २० संख्यामा कुटी रहेकामा हाल २० मात्रै छन् । विगतमा यहाँका कुटीमा झण्डै १ सय ५० ज्येष्ठ नागरिक बस्थे । पछिल्ला वर्ष कुटी भत्कने, ज्येष्ठ नागरिक क्रमशः दिवंगत हँुदै जाने र पूर्वाधार विकास पनि अपेक्षित रूपमा नभएका कारण तिनको संख्या घट्दै गएको स्थानीय बताउँछन् । सहरी विकास विभागको गुरुयोजनाअन्तर्गत भान्छाघर, शौचालय तथा आवास कोठासहितका अर्काे २० कुटी निर्माण गर्ने योजना अघि सारिएको छ ।

अखण्ड कीर्तन चलाउन मुस्किल : केलादीधाममा ०३७ साल वैशाख १ गतेदेखि ०७६ चैतसम्म चौबिसै घण्टा अखण्ड कीर्तन गरिन्थ्यो । कीर्तन सञ्चालनका लागि प्रत्येक दुई÷दुई घण्टाका लागि चार÷चार व्यक्ति खटाइन्थ्यो । अखण्ड कीर्तन सुरु गरिएको पहिलो वर्ष स्थानीयवासीले सहयोग गरेकामा ०३८ देखि ०४५ सालसम्म त्यहाँ सहभागी बन्नेलाई मासिक जनही १५ रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरिन्थ्यो । त्यसपछि भने २ सय ५० रुपैयाँ बनाइएको थियो । जनशक्ति अभावका कारण हाल कीर्तन दैनिक १२ घण्टा मात्र हुन्छ ।

संस्कृत शिक्षाको केन्द्र : राधादामोदर मन्दिरकै नामबाट ०३८ सालमा स्थापित राधादामोदर संस्कृत माविले यस क्षेत्रको शैक्षिक विकासमा ठूलो योगदान पु¥याएको छ । मन्दिरकै नामबाट उच्च शिक्षा समेतलाई लक्ष्य गरी ०५१ सालमा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत स्थापित राधादामोदर संस्कृत विद्यापीठमा शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ । नेपाल संस्कृत विश्वविद्यालयको ६५औंँ र ७०औंँ विश्वविद्यालयसभाले विद्यापीठलाई आगिंक बनाउने निर्णय गरे पनि कार्यान्वयन नहुँदा सञ्चालनमा हम्मेहम्मे परेको छ । विश्वविद्यालयबाट एक शिक्षक काजमा दिनेबाहेक अन्य कुनै व्यवस्था नगरिएका कारण स्थानीय स्रोतबाटै सञ्चालन गर्न समस्या परेको र विश्वविद्यालयले दिने गरेको छात्रवृत्ति पनि उपलब्ध गराउन नसकिएको जनाइएको छ । विद्यापीठमा हाल ७१ विद्यार्थी अध्ययनरत छन् । केलादीधाममा गाई संरक्षणका लागि ०१३ सालदेखि नै गौशाला थियो । विगतमा सयौंँ गाई रहे पनि चरन अभाव आदिका कारण हाल ३० मात्र छन् । मन्दिरले गाईको हेरचाहका लागि स्थानीय दुई कर्मचारी व्यवस्था गरेको छ ।

प्रवद्र्धनको खाँचो : कालीगण्डकी सभ्यताको महत्वपूर्ण गन्तव्य केलादीघाटलाई धार्मिक– पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने प्रचुर सम्भावना रहेको पर्यटन व्यवसायी एवम् नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । ‘पौराणिक रुपमा उल्लिखित कालीगण्डकीको महिमाका साथै जोडिएका तीर्थस्थल सम्बन्धमा रहेका कथा सुनाएर यी स्थलको महत्व प्रचार गर्नु जरुरी छ,’ उनले भने, ‘आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी बस्ने, खाने जस्ता पूर्वाधार विकास गर्नु आवश्यक छ ।’ उनका अनुसार नदी किनारमा बालुवाले भरिएका स्थानमा समयसमयमा बीच भलिबल जस्ता प्रतियोगिता तथा अन्य साहसिक पर्यटनका अन्य गतिविधि पनि विस्तार गर्न सकेमा यसको प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरका सचिव घनश्याम खनाल नेपालका निम्बार्क सम्प्रदायका व्यक्तिको प्रमुख तीर्थ केलादीधामको प्रचारप्रसारसँगै आसपासका पहुँचमार्गलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिन्छन् । ‘केलादीधामको महिमा सुनेर आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी धाम परिसरमा भौतिक पूर्वाधार विकासलाई जोड दिनुपर्छ, यसलाई कालीगण्डकी सभ्यताको एउटा महत्वपूर्ण धरोहरका रूपमा प्रवद्र्धन गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया