मत-विमत

के हो सति प्रथा : कहाँ थियो सति प्रथा ?

सौर्य अनलाइन २०७८ पुष ३० गते ६:३२ मा प्रकाशित

अञ्जु कार्की

‘तिमीहरूको मुलुकमा, तिमीहरूको समाजमा पतिको निधनपछि पत्नीलाई जिउँदै डढाउने चलन थियो’ भनेर अंग्रेजहरूले लेखिदिएको कुरालाई हामीले थप अध्ययन अनुसन्धान गरेर बास्तविकता खोज्नतिर लाग्नुपथ्र्यो । ‘तर हो हो, जिउँदै डढाउँथे, सती प्रथा भनेकै जिउँदै डढाउनु हो’ भनेर हामीले ताली पिट्दै आयौँ । हाम्रा सन्ततीहरूलाई पनि त्यही झुठो कलंक पढाइरहेका छौँ । कहाँ थियो जिउँदै मान्छे जलाउने परम्परा कसकसलाई यसरी जलाइयो ? भनेर सत्य तथ्य खाज्नुपर्नेमा विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा अंग्रेजले लेखिदिएको यही अफवाहलाई इतिहास भन्दै अध्ययन गराइएको छ ।

विश्वका सबैभन्दा पुराना १० वटा मुलुकहरूमा नेपाल पनि पथ्र्यो भन्नु हाम्रो भ्रम हो या वास्तविकता ? अझै यकिन छैन । हाम्रो सभ्यता हजारौँ वर्ष पुरानो हो भन्ने विश्वास हामीलाई छ । प्राचीन ऋषिमुनिहरूले यही भूमिमा साधना गरेर धेरै सृष्टिका धेरै रहस्य तथा निमयहरू पत्ता लगाएका थिए भनेर हामी गर्व गर्छौं । तर हामीले गर्व गर्ने यी कुराहरू भ्रम हुन् कि वास्तविकता ? हाम्रा पुर्खाहरूले पुराण लेखे, तर इतिहास लेखेनन् । पुराणहरूलाई इतिहासले मान्यता दिएको छैन । खासगरी पश्चिमा जगतले मान्यता दिएको छैन । केवल काल्पनिक कथा मात्रै भनेको छ । पुराणमा लेखिएका कतिपय कुराहरू संस्कृत भाषा हुँदै नेपाली भाषासम्म अनुवाद हुँदै जाँदा थप भ्रमहरू उत्पन्न भएका छन् ।

हाम्रा पुराण तथा इतिहासहरूमा उल्लेख गरिएका कुन प्रसंगहरू भ्रम हुन् कुन प्रसंगहरू बास्तविक हुन् ? भन्ने अध्ययन तथा अनुसन्धान अझै हुन सकेको छैन । धेरै अन्योल बाँकी नै छ । त्यसमध्ये सबैभन्दा कहालीलाग्दो पक्ष सती प्रथाका बारेमा यस आलेखमा छोटो चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

हाम्रा पुराण तथा इतिहासमा सती प्रथा उल्लेख छ । पतिको मृत्युपछि त्यही चितामा पत्नीलाई पनि जिउँदै जलाएर मार्नुलाई सती प्रथा भनिएको छ । जिउँदो मान्छेलाई मरेको मान्छेसँगै चितामा सुताएर आगो लगाइन्थो भन्ने कुरा सुन्दैमा शरीर सिरिंग हुन्छ । अझ भोग्नेहरूलाई कस्तो हुन्थ्यो होला ? आफ्नी आमालाई जिउँदै जलाएको देख्दा तिनका लालाबाला छोराछोरीलाई कस्तो हुन्थ्यो होला ? आफ्नी छोरीलाई जिउँदै जलाइएको देख्ने बाबुआमाको मन कस्तो हुन्थ्यो होला ? दिमागले कल्पना गर्दासमेत मन थाम्न सकिन्न । अझ गरुड पुराणमा त सती जानु भनेको ठूलो पूण्य मिल्ने र सती नजानु भनेको महापापको भागिदार हुनु हो भनिएको छ ।

पुराणा हाम्रै पुर्खाहरूले लेखेका हुन्, तर हाम्रो इतिहास भने पश्चिमाहरू खासगरी अंग्रेजहरूले लेखेका हुन् । अंग्रेजहरूले हाम्रो इतिहास लेख्दा बास्तविकतालाई आधार बनाएका हुन् या पुराणामा उल्लेख गरिएको कुरालाई समेत आधार बनाएका हुन् ? भन्ने अध्ययन अनुसन्धान हुन अझै बाँकी छ । सती जानु भन्ने कुरालाई जिउँदै डढाइनु भन्ने अर्थ लगाएर इतिहास लेखिएको हो कि ? त्यतिबेला साँची नै पति मरेपछि पत्नीलाई जिउँदै डढाउने परम्परा थियो ? भन्ने कुरामा अनुसन्धान गर्न ढिलाइ भइसकेको छ । जसरी पृथ्वीनारायण शाहबाट पराजित भएपछि कीर्तिपुरेहरूको इज्जत गएको प्रसंगलाई लाक्षणिक रूपमा नाक काटिएको भनेर उल्लेख गरियो । इज्जत जानुलाई नाक काटिनु भनिन्छ । तर, अंग्रेजहरूले अनुवाद गर्दा नाक काटिनुको लाक्षणिक अर्थ नबुझेर ‘नोज काट’ भनेर लेखे । इतिहासको कथालाई रोचक बनाउने नाममा कीर्तिपुरेहरूको नाक काट्ने क्रममा १७ धार्ने जम्मा भएको उल्लेख गरियो । सति प्रथाको पनि त्यसरी नै लाक्षणिक अर्थ अंग्रेजहरूले बुझेनन्, अझ नेपाली पण्डितहरूले नै संस्कृत भाषाको त्यो अर्थ बुझेनन् ।

सती जाने कुरा हाम्रा थोरै पुराणामा उल्लेख छ, तर सती जानु भनेको के हो ? भन्ने परिभाषा उल्लेख छैन । धेरैजसो पुराणाहरूमा पतिको निधनपछि पत्नीलाई जिउँदै डढाइएको उल्लेख छैन । त्रेता युगको ग्रन्थ रामायणलाई हेर्ने हो भने पनि राजा दशरथको निधनपछि उनका रानीहरूले मज्जाले राजकाज चलाएको देखिन्छ । रावण मारिएपछि उनकी रानी मन्दोदरीले देवर विभीषणसँग विवाह गरेको उल्लेख छ । बाली मारिएपछि उनकी पत्नी ताराले पनि देवर सुग्रिवसँग विवाह गरेको उल्लेख छ । द्वापर युगको अन्त्य र कलियुगको सुरु हुँदाको घटनालाई समेटेर लेखिएको महाभारतमा पनि पति मारिएपछि पत्नीले सक्रियताका साथ घरव्यवहार चलाएको र राजकाज संहालेको पाइएको छ । अझ सन्तान नजन्मदै पति गुमाएका रानीहरूले त परपुरुषबाट गर्भाधान गरेर राजकुमारको जन्म दिएको उल्लेख छ ।

‘तिमीहरूको मुलुकमा, तिमीहरूको समाजमा पतिको निधनपछि पत्नीलाई जिउँदै डढाउने चलन थियो’ भनेर अंग्रेजहरूले लेखिदिएको कुरालाई हामीले थप अध्ययन अनुसन्धान गरेर बास्तविकता खोज्न पट्टी लाग्नुपथ्र्यो । ‘तर हो हो, जिउँदै डढाउँथे, सती प्रथा भनेकै जिउँदै डढाउनु हो’ भनेर हामीले ताली पिट्दै आयौँ । हाम्रा सन्ततीहरूलाई पनि त्यही झुठो कलंक पढाइरहेका छौँ । कहाँ थियो जिउँदै मान्छे जलाउने परम्परा कसकसलाई यसरी जलाइयो ? भनेर सत्यतथ्य खोज्नुपर्नेमा विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा अंग्रेजले लेखिदिएको यही अफवाहलाई इतिहास भन्दै अध्ययन गराइएको छ । यतिसम्मकी सति प्रथाको उन्मुलन जंगबहादुरले गरेको भन्दै अर्को भ्रम छरिएको छ । जंगबहादुरले मुलुकी ऐन ल्याएका हुन् । राज्यले दण्ड सजाय गरेको अवस्थामा बाहेक मान्छे मार्न नपाइने गरी लिखित रूपमा विधिवत कानुन जंगबहादुरले तय गरेका हुन् ।

अंग्रेजहरूले इतिहासका नाममा लेखिदिएको भ्रमलाई पुष्टि गर्न जंगहादुर राणाले सति प्रथा उन्मुलन गरे भनेर अर्को भ्रम सिर्जिना गरियो । एउटा भ्रमलाई टाल्न अर्को भ्रमको सिर्जना गरियो । जंगबहादुर राणाको शासनकाल बितेको त सय वर्ष पनि पुगेको छैन । जंगबहादुरको शासनलाई राम्रोसँग बेहोर्नेहरू आजभन्दा ६०–७० वर्ष अघि मज्जाले सक्रिय थिए । देखे त उनीहरूले जिउँदै मान्छेलाई जलाइएको ? यदि देखेको भए त भन्थे होलान नी कहीँ न कहीँ उल्लेख गर्थे होलान नी । जंगबहादुर भन्दा जेठा हुन् आदीकवि भानुक्त आचार्य, जंगबहादुरकै समकालिन हुन् मोतिराम भट्ट । खोइ त उनीहरूले आफ्ना कृतिमा पति मरेपछि पत्नीलाई जिउँदै जलाइने कुरा उल्लेख गरेका ? यदि समाजमा यो विकृति विद्यमान भएको भए भानुभक्तका साहित्यमा अवश्य पनि उल्लेख हुन्थ्यो होला ।

यसैगरी हाम्रो सामाजिक चालचलन तथा परम्पराको कोणबाट पनि यो पाटोलाई विश्लेषण गर्न सकिन्छ । हाम्रो मुलुकको जनजाति समुदाय वैदिक सनातन धर्मभित्र अन्तर्गतको होइन । चार वर्ण छत्तीस जातभित्र जनजाति समुदाय पर्दैन । त्यसैले जनजाति समुदायले सति प्रथा चिन्ने कुरै भएन । खस समुदायको कुरा गर्ने हो भने पनि यो सुमदाय वर्णाश्रमअन्तर्गत चार जात छत्तीस वर्णको अवधारणामा गएको धेरै भएकै छैन । भनिन्छ खस समुदायमा दाजुभाइले एउटै केटी विवाह गर्ने चलन थियो । यसको अवशेष हिमाली भेगका कतिपय गाउँमा अझै पनि पाइन्छ । खस सुमदायमा पतिलाई वर भनिन्छ भने पतिको भाइलाई देवर भनिन्छ । देवरको शाव्दिक तथा लाक्षणिक अर्थ के हुन्छ ? यहाँ उल्लेख गर्न जरुरी छैन । यदि वर मरेपछि वधुलाई जिउँदै जलाउने चलन भएको भए, वरको भाइलाई देवर भनिन्थेन होला ।

हाम्रो सामाजिक चालचलन तथा परम्पराका अन्य पाटाहरू पनि छन् । यी पाटा तथा चालचलनहरूले पति मरेपछि पत्नीलाई जिउँदै जलाइन्थ्यो भन्ने कुरा पुष्टि गर्दैनन् । धार्मिक तथा परम्परागत संस्कारमा कट्टर मानिने ब्राह्मण समुदायमा समेत पतिको निधनपछि पत्नीले अर्को विवाह गर्ने चलन थियो भन्ने कुरा स्पष्ट छ । एउटा उखान नै छ, ‘उपाध्यायकी विधवा, जैसीकी विर्ता ।’ यसको अर्थ हो विधवासँग विवाह गर्नुलाई परापूर्वकालमै व्राह्मण समुदायले समेत बहादुरी मान्ने गरेको रहेछ ।

अहिले पनि बाहुन समुदायमा दुई वटा वर्ग छ । पूजापाठ गर्ने वर्गलाई उपाध्याय भनिन्छ । ज्योतिषीको काम गर्ने वर्गलाई जैशी भनिन्छ । जैसी वर्गमा आफ्नै जातकी विधवा विवाह गर्दा जात खस्दैन । अझ उपाध्यायकी विधवा विवाह गर्नुलाई त पूण्यकर्म नै मानिएको छ । उपाध्याय बाहुनले आफ्नै जातकी स्त्री पनि कन्यादनविना अपनाएमा उसका सन्तान जैसी हुने व्यवस्था थियो । विधवासँगको विवाह हुने भनेको कन्यादानविना नै हो । नेपालमा जैसी बाहुनहरूको संख्या उपाध्यायको तुलनामा दोब्बर छ । त्यसैले बाहुन समुदायमा सती प्रथा थिएन भन्ने कुरा छर्लंग छ । यसरैगरी क्षत्रीले विधवा बाहुनी विवाह गरेमा उसका सन्ततीले खाती थर लेख्ने चलन थियो । क्षेत्री, ठकुरी, दशनामी समुदायमा पनि विधवा विवाह छुट भएको पाइन्छ । विधवा विवाह गर्दा उपाध्याय बाहुनमा जात खस्ने भए पनि जैसी, क्षेत्री ठकुरी तथा दशनामी समुदायमा जात खस्ने परम्परा थिएन । यस विषयमा संस्कृतिविद् जनकलाल शर्माले आफ्ना पुस्तकहरूमा बृहत् व्याख्या गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय