सबै नेपालीको साझा चाड पृथ्वी जयन्ती

विभिन्न साना देशहरूलाई एकीकरण गरी नेपालको वर्तमान भौगोलिक स्वरूप निर्माण भएको तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हो । उनी वर्तमान नेपालका जन्मदाता हुन् भन्ने कुरामा कसैको पनि विमति छैन । तर उनी जन्मेको पुस २७ गतेको दिनलाई राष्ट्रिय एकीकरणका रूपमा मनाउने वा नमनाउने ? मनाउने हो भने कुन रूपमा मनाउने ? भन्ने सन्दर्भमा भने पछिल्लो कालखण्डमा विवाद उत्पन्न भएको छ । यो विवादमा विभिन्न मतहरू पाइन्छ । एक थरीको मत छ, ‘पृथ्वीनारायाण शाह भनेका राजा हुन्, गणतन्त्र स्थापना भइसकेका कारण राजाको जन्मजयन्ती मनाइ रहनुको अर्थ छैन ।’ अर्काथरीको मत छ पृथ्वीनारायण शाह विस्तारवादी हुन्, राज्य विस्तारका क्रममा संयोगवश नेपालको एकीकरण भएको हो । तर तर्कहरू जे सुकै भए पनि पृथ्वीनारायण शाहका कारण वर्तमान नेपालको जन्म भएको कुरा साँचो हो । पृथ्वीनारायण शाहले एकीकरण गर्नुभन्दा ठीक अघिको कालखण्डलाई हेर्ने हो भने नेपालको अस्तित्व करिबकरिब समाप्त भइसकेको थियो । त्यतिबेलासम्म नेपाल भन्ने देशको नाम काठमाडौं उपत्यकाको चार भञ्ज्याङभित्र सीमित भइसकेको थियो भने चार भञ्ज्याङभित्र पनि कान्तिपुर, ललितपुर र भक्तपुर गरी तीन वटा राज्य सक्रिय थिए । जबकी नेपाललाई सत्ययुगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ । तर पृथ्वीनारायण शाहले एकीकरण गर्नुभन्दा केही अघिसम्म नेपाल देश भनेको कुन हो त ? भन्ने एकीन गर्न सकिने अवस्था थिएन ।

पृथ्वीनारायण शाहको नेतृत्वमा जे जसरी नेपालको पुनर्जन्म भयो, संसारभर देश बन्ने प्रक्रिया त्यहि थियो । राज्य या देशको निर्माण हुने भनेकै जबरजस्ती तथा बल प्रयोगको माध्यमबाट थियो त्यो युगमा । त्यसैले नेपाली नागरिकका रूपमा गर्व गर्न चाहनेले पृथ्वीनारायण शाहलाई दोष दिनु बेकारको कुरा हो । यस्ता बेकारका कुराको पछि लाग्नु हुन्न । पृथ्वीनारायण शाहलाई सम्मान गर्ने मामिलामा कन्जुस्याइँ गर्नु उपयुक्त छैन । तर राष्ट्रिय एकता दिवसका रूपमा पृथ्वीनारायण शाह जन्मेको दिनलाई मनाउने कि ? पृथ्वीनारायण शाहले तत्कालीन कान्तिपुरको राजगद्दीमा बसेर आँफ्नो नेतृत्वमा एकीकरण भएको सबै सरहदलाई नेपाल अधिराज्यको घोषणा गरेको दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने ? भन्ने सन्दर्भमा भने बहस हुनसक्छ ।

सरकारी बिदा नै दिएर राज्यका कामकाज ठप्प बनाए मात्रै पृथ्वीनारायण शाहप्रति सम्मान हुन्छ, अन्यथा हुँदैन भन्ने तर्क पनि अतिवादी हो । मुख्य कुरा भनेको नेपालको पुनर्जन्म के कसरी भयो ? यसका लागि पृथ्वीनारायण शाहको नेतृत्वमा कसकसले कति योगदान पु¥याए ? भन्ने कुरा नयाँ पुस्तालाई जानकारी दिँदै जानु हो । हरेक तहका पाठ््यपुस्तकमा यी विषयहरू समावेश गर्दै लैजानुपर्छ ।

पछिल्लो समयमा पृथ्वीनारायण शाहको नाममा ज्यादै घिनलाग्दो राजनीति हुन थालेको छ । एक थरीले ‘तिमीहरूका पुर्खाको राज्य खोसेको पृथ्वीनारायण शाहले नै हो’ भन्दै सोझा साझा जनजाति तथा मधेसीहरूलाई उकासेर आफ्नो क्षणिक राजनीतिक तुष्टि लिएका छन् । अर्काथरीले ‘पृथ्वीनारायण शाहले निर्माण गरेको नेपालमा शासन गर्ने अधिकार उनका बंशजलाई मात्रै छ, लोकतन्त्र या गणतन्त्रका नाममा पृथ्वीनारायण शाहका बंशजमाथि अन्याय गरिएको छ’, भन्दै सिधासाधा जनतालाई भड्काइरहेका छन् । मुलुकका लागि बास्तविक समस्या भनेका यी दुई थरी अतिवादीहरू नै हुन् । पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए आज हामी नेपालीका रूपमा रहँदैनथ्यौँ, नेपाल भन्ने देश रहँदैनथ्यो भन्ने कुरा सबैले आत्मासाथ गर्नुपर्छ । यसैगरी जसको नेतृत्वमा एकीकरण भयो उसैका सन्तान दरसन्तानले शासन गरिरहनुपर्छ भन्ने मानसिकता त्याग्नु जरुरी छ । यो मानसिकता राख्नेहरू जति सवल रूपमा प्रकट हुन्छन्, पृथ्वीनारायण शाह त्यति नै विवादित बन्दै जान्छन् ।

पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका हुन्, पारिवारिक तानाशाही व्यवस्थाको सूत्रपात गरेका होइनन् भन्ने यथार्थता बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जरुरी छ । पृथ्वीनारायण शाहको योगदानलाई गलत व्याख्या गर्ने चेष्टा कहीँ कतैबाट नहोस् । पृथ्वीनारायण शाहले दिव्योपदेशमा भनेकै छन्, ‘जनता जो देखि राजी हुन्याछन् । उसैलाई कज्याई दिनु ।’ यसको अर्थ हो, ‘जनताले जसलाई निर्वाचित गर्छन् शासन सत्ता उसले सञ्चालन गर्ने हो ।’

प्रतिक्रिया