पृथ्वीनारायण शाहदेखि र गणतन्त्रको वीजारोपणसम्म

बिमान लिम्बु

२००७ सालको जनक्रान्तिले राष्ट्रप्रमुखका रूपमा राजा रहने र जननिर्वाचित प्रधानमन्त्रीले देश सञ्चालन गर्ने विधि तय गर्यो । यो विधि युरोप अमेरिकाबाट आयात गरिएको विधि थिएन, युरोप अमेरिकीहरूले अवलम्वन गर्नुभन्दा सयौँ वर्षअघि गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोगमा ल्याइसकेको विधि थियो यो । तर पृथ्वीनारायण शाहका १०औँ पुस्ताका उत्तराधिकारी महेन्द्र हदैसम्म अदूरदर्शी राजाका रूपमा प्रकट भए । जननिर्वाचित संसद्लाई विघटन गरेर, जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई जेलमा थुनेर आफू शासन गर्न राजा महेन्द्र उद्यत भए । बास्तवमा महेन्द्रको यही कदमले नेपालमा गणतन्त्रको वीजारोपण गरेको थियो ।

२७ पुस राष्ट्रनिर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती । नेपाल सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा पनि मनाउने गरेको छ । विश्वका सबैभन्दा पुराना १० वटा देशको सूचीमा नेपालको नाम छ । नेपालको प्रमाणित इतिहास तीन हजार वर्ष पुरानो हो । तर नेपाललाई कुन युुगमा कुन नामले पुकारिन्थ्यो भन्ने पौराणिक दस्तावेज खोतल्ने हो भने नेपालको इतिहास करोड वर्ष पुरानो छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

महाभारतको लडाइँ समाप्त भएपछि कलियुग सुरु भएको मान्यता छ । यस हिसाबले नेपाल भनिन थालिएको करिब चार हजार वर्ष भएको अनुमान लगाउन सकिन्छ । महाभारत ग्रन्थमा नेपाल र किरात राजाको उल्लेख छ । महाभारत ग्रन्थ लेखिएको कम्तिमा पनि तीन हजार वर्ष भएको इतिहासविद्हरूको अनुमान छ । पृथ्वीनारयाण शाहले एकीकरण थालनी गर्नुअघि नेपालले किरातकाल, लिच्छवीकाल र मल्लकाल गरी तीन वटा शासकीय कालखण्ड गुजारीसकेको थियो । तर, यी तीनै वटा कालखण्डमा नेपालको सीमाना पूर्वतर्फ व्रह्मपुत्र नदीसम्म भए पनि पश्चिमतर्फ भने बुढीगण्डकीसम्म मात्रै सीमित थियो ।

पृथ्वीनारायण शाहले थालनी गरेको एकीकरणपछि नेपालको सीमाना पश्चिमतर्फ सतलजसम्म पुग्यो । बुढीगण्डकीभन्दा पश्चिमतर्फको भूभाग भने नेपालअन्तर्गत रहेको ऐतिहासिक ग्रन्थ तथा पौराणिक ग्रन्थले पुष्टि गर्न सकेका छैनन् । बुढिगण्डकीदेखि पञ्जाबसम्म खस साम्राज्य रहेको इतिहास पाइन्छ । किराँतकाल, लिच्छवीकाल र मल्लकालको भन्दा पृथ्वीनारायण शाहले नेपाललाई थप विशाल बनाएका थिए । मल्लकालको अन्तिम समयतिर त तत्कालीन नेपाललाई भाइ र छोराबीच अंश लगाउन थालिसकिएको थियो । भाइ छोरामा अंश लगाउँदै जाँदा नेपालको अस्तित्व करिबकरिब मेटिइसकेको थियो ।

विक्रम संवत १७९९ मा गोर्खाको राजगद्दी संहालेपछि नेपाल एकीकरणको थालनी गरेका पृथ्वीनारायण शाहको निधन १८३१ सालमा नुवाकोटको देवीघाटमा भएको हो । त्यतिबेलासम्म नेपाल एकीकरणको काम अधुरो नै थियो । पहिलो कुरा त गोर्खाभन्दा पश्चिमको भूभाग एकीकरण गर्न बाँकी नै थियो । दोस्रो कुरा सेन राज्यअन्तर्गत रहेका दक्षिणी तराईका भूभागमा नेपालको प्रशासनिक उपस्थिति पु¥याउने काम बाँकी नै थियो । यी बाँकी काम सम्पन्न गर्दै देशलाई चीरस्थायी र समृद्ध बनाउन पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम क्षणमा केही उपदेशहरू लेखाएका थिए, जसलाई दिव्योपदेश भनिन्छ ।

दिव्योपदेशमा कहाँदेखि कहाँसम्म एकीकरण गर्ने ? भन्ने कुरा मात्रै छैन । अर्थतन्त्र कसरी चलाउने ? कूटनीतिक सम्बन्ध कसरी कायम गर्ने, शासन सत्तामा जनतालाई कसरी सहभागी गराउने ? लगायतका धेरै कुरा पृथ्वीनारायण शाहले उल्लेख गरेका छन् । तर उनको उत्तराधिकारीहरूले कतिपय सन्दर्भमा दिव्योपदेशभन्दा ठिक उल्टो काम गरे । नाति रणबहादुर शाहका पालादेखि पृथ्वीनारायण शाहको दिव्योपदेशको हुर्मत लिन थालियो । दिव्योपदेशमा जे नगर्नु भनिएको थियो, त्यहि गरियो, जे गर्नु भनिएको थियो त्यो गरिएन ।

उदाहरणका लागि राष्ट्र प्रमुखका रूपमा राजा रहने र कार्यकारी प्रमुखका रूपमा काजी रहने कुरा पृथ्वीनारायण शाहले दिव्योपदेशमा उल्लेख गरेका छन् । जनताले जसलाई मनपराउँछन् उसैलाई काजी नियुक्त गरियो भने मात्रै देश बलियो हुन्छ भन्ने कुरा पृथ्वीनारायण शाहले उदाहरणसहित व्याख्या गरेका छन् । आपूmलाई मन पर्ने विराज बखेतीलाई काजी नबनाएर जनताले मन पराउने कालु पाण्डेलाई किन काजी बनाएँ ? भन्ने कुरा उनले उदाहरणसहित प्रस्तुत गरेका छन् ।
पृथ्वीनारयाण शाहको पालामा चुनाव गर्ने प्रचलन विश्वमा कहीँ पनि सुरु भएको थिएन, तर उनले काजी नियुक्त गर्ने बेला घरघरमा आफ्ना विशेष दूत पठाएर लोकमत लिए । यहाँभन्दा ठूलो दूरदर्शिता अर्को के हुन सक्छ ? त्यो युगमा यहाँभन्दा ठुलो लोकतन्त्र के हुन सक्छ ? तर उनका उत्तराधिकारीहरूले काजी नियुक्त गर्दा जनताको राय लिएनन्, जसलाई मन लाग्यो उसैलाई काजी नियुक्त गर्ने, मन नपर्नासाथ साविकको काजीलाई हत्या गरेर अर्को काजी नियुक्त गर्ने सिलसिला सुरु गरे । जंगबहादुरभन्दा पहिलेका कुनै पनि काजी तथा प्रधानमन्त्रीहरू आफ्नो कालगतिले मर्न पाएनन् ।

यदि, जंगबहादुर राणाले दूरदर्शिता नअपनाएको भए नेपालको अस्तित्व त्यतिबेला नै समाप्त हुने निश्चित थियो । राजाहरूलाई खोपीमा थुनेरै भए पनि जंगबहादुर राणाले देशको अस्तित्व बचाए । जंगबहादुरका उत्तराधिकारीहरूको ज्यादती बढ्दै गएपछि २००७ सालमा जनक्रान्ति भयो । २००७ सालको जनक्रान्तिले राष्ट्रप्रमुखका रूपमा राजा रहने र जननिर्वाचित प्रधानमन्त्रीले देश सञ्चालन गर्ने विधि तय ग¥यो । यो विधि युरोप अमेरिकाबाट आयात गरिएको विधि थिएन, युरोप अमेरिकीहरूले अवलम्वन गर्नुभन्दा सयौँ वर्षअघि गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोगमा ल्याइसकेको विधि थियो यो । तर पृथ्वीनारायण शाहका १०औँ पुस्ताका उत्तराधिकारी महेन्द्र हदैसम्म अदूरदर्शी राजाका रूपमा प्रकट भए । जननिर्वाचित संसद्लाई विघटन गरेर, जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई जेलमा थुनेर आफू शासन गर्न राजा महेन्द्र उद्यत भए ।

बास्तवमा महेन्द्रको यही कदमले नेपालमा गणतन्त्रको वीजारोपण गरेको थियो । महेन्द्रले गरेको गल्ती ३० वर्षपछि राजा वीरेन्द्रले सच्याए, तर गल्ती सच्याएको एकदशक बित्दानबिन्दै वीरेन्द्रको वंश विनास भयो । त्यसपछि राजा बन्नुभएका वीरेन्द्रका भाइ ज्ञानेन्द्रले घोषणा गरेरै भन्नुभयो, ‘म दाजुजस्तो राजा होइन, पिताजस्तो राजा बन्न चाहन्छु ।’ नभन्दै उहाँले आफ्ना पिता महेन्द्रले जस्तै राजाको कुर्सीबाट ओलेर, प्रधानमन्त्रीको कुर्सीमा आपैmँ बसेर शासन गर्न थाल्नुभयो । १७ शताव्दीमा पृथ्वीनारायण शाहले बसालीसकेको स्थितिलाई २१औँ शताव्दीमा उल्लंघन गर्नुको सिधा संकेत थियो, राजतन्त्रको पतन । आखिर भयो त्यही ।

०६३ साल अघिसम्म पृथ्वीजयन्तीका अवसरमा २७ पुसमा सार्वजनिक बिदा दिने गरिन्थ्यो । ०६२÷६३ को जनआन्दोलनपछि केही वर्ष पृथ्वी जयन्तीमा बिदा दिन छाडियो । जनताको व्यापक दबाबपछि फेरी बिदा दिन थालियो । हुन त नेपालमा सार्वजनिक बिदा नै बढी छ । सार्वजनिक बिदा बढी भएकाले देशको प्रगतिमा बाधा पुगेको भन्दै केही मानिसहरू बिदा कटौतीको अभियानमा पनि लागेका छन् । नेपाल सरकारले सूचना जारी गरेर बेलाबखतमा चाडपर्वका बिदा दिने गरेको पाइन्छ । यस हिसाबले सार्वजनिक बिदाको प्रावधान खुकुलो छ । कुनै वर्ग वा समुदायले दबाब दिएमा बिदा थप्ने र दबाब नपरेमा बिदा काट्ने चलन नेपालमा व्यापक छ ।

राष्ट्र निर्माताको जन्म दिन पृथ्वी जयन्ती (पुस २७ गते) बिदा दिन खास फरक पर्ने होइन तर गणतन्त्रवादीहरू हिच्किचाइरहेका छन् । हरेक वर्ष पौष २७ गते नजिक आयो कि किन बिदा नदिएको होला भनेर चासो राख्नेको जमात नेपालमा ठूलै छ । नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदानको कदर गरेर नै विगतमा उहाँलाई बडामहाराजाको दर्जा दिएको हुनुपर्छ । त्यो बडामहाराजा भन्ने दर्जा आफैँमा निकै महत्वपूर्ण छ । हाम्रो पुस्ताले हाम्रो देशको निर्मातालाई नै बिर्सियो भने पृथ्वीनारायण शाहप्रति अनादर र अमान्य हुने छ । हुन त २ सय ९९ वर्ष अगाडि (अर्थात विसं १७७९ मा ) जन्मिएका पृथ्वीनारायण शाहको सम्झनामा बिदा दिएर वा नदिएर के फरक पर्ने हो र ? बिदाको बहसको बारेमा बस यति नै ।

पृथ्वीनारायण शाहलाई स्मरण र सम्मान गर्नुपर्ने कारणहरू प्रशस्तै छन् । २२ से २४ से राज्यमा विभाजित नेपाललाई आजको आकारमा ढाल्न पृथ्वीनारायण शाहले धेरै बल र बुद्धि खर्च गर्नुभएको इतिहासमा प्रष्ट लेखिएको छ । गोर्खाको एउटा साँघुरो घेरामा जन्मे हुर्केका पृथ्वीनारायण शाहले अंग्रेज साम्राज्यलाई परास्त गर्दै नेपालको एकीकरण गरेका हुन् । अंग्रेजहरू त्यतिखेर भारतलाई उपनिवेश बनाएर शासन गरिरहेका थिए । व्यापार गर्ने बहाना बनाएर भारत छिरेका अंग्रेजले दक्षिण र दक्षिण पूर्वी एसियालाई आफ्नो कब्जामा लिएका थिए । अंग्रेजहरूको दाउ नेपाललाई लिनु थियो । पृथ्वीनारायण शाहको बौद्धिक क्षमता र उनका छोरा बहादुर शाहको समेत योगदानले नेपालमा कहिल्यै बिदेशीको झण्डा गाढिएन । नेपाल र नेपालीले विदेशीको दास (गुलाम) हुन परेन । स्वाधीनता र स्वतन्त्रता भन्ने कुरो ज्यादै ठूलो हो । विदेशी शासकहरू कति क्रुर हुन्छन् भन्ने कुरा इराकको इतिहास बुझेपछि प्रष्ट हुन्छ । अमेरिकाले इराकलाई कब्जा गरेपछि राष्ट्रपति सद्दाम हुसेनलाई नै फासी दिए । स्वाधीनता र स्वतन्त्रता कति ठूलो कुरा हो भन्नेकुरा उपनिवेश र दासत्व स्वीकार गरेका वा झेलेका नागरिकलाई मात्र थाहा हुन्छ । आज हामी नेपालीहरू एकआपसमा लड्छौ र विवाद बहस पनि गर्छौं । यो विवाद दाजुभाइ दिदिबहिनी बीचको हो तर जब विदेशी शासकहरूले लठ्ठी र गोली बर्साउँछन् अनी त्यो सहन निक्कै गाह्रो हुन्छ । नेपाल र नेपालीले त्यस मामिलामा गर्व गर्नुपर्ने हुन्छ ।

भारत मात्र होइन अस्ट्रेलिया, क्यानडा, अमेरिका र अफ्रिका तथा दक्षिण अमेरिका धेरै राष्ट्रहरूले उपनिवेश बन्न प¥यो । जापानले कोरियालाई उपनिवेश बनाउँदा कोरियाले जनताले कति सास्ती सहनु प¥यो भन्ने कुरा अझै ताजै छ । त्यसरी विश्लेषण गर्दा पनि पृथ्वीनारायण शाहले नेपाल र नेपालीको शिर उच्च राखेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकै योगदानका कारण आज नेपाल ४ वर्ण ३६ जातको फूलबारी बनेको छ । हामी सबै जात र वर्गको कर्मथलो र जन्मथलो हो नेपाल । नेपाल विश्व मानचित्रमा सानो देखिए पनि आफैँमा ठूलो देश हो । विश्वमा हाल २ सय १० वटा देश छन् । ती मध्ये नेपाल ४९औँ ठूलो राष्ट्र हो । जनसंख्याको दृष्टिले पनि करिब तीन करोड जनता भएको देश सानो होइन ।

चीन र भारतजस्ता ठूला राष्ट्रको बीचमा रहेकाले मात्र नेपाल सानो देखिएको हो । नेपाल वीर गोर्खालीको देश, भगवान् गौतम बुद्ध जन्मेको देश, विश्वकै अग्लो हिमाल सगरमाथा रहेको देश भनेर विश्वभरी परिचित छ । यो कुरालाई पनि कम आँक्न मिल्दैन । वडामहाराधिराज पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सकेपछि उहाँले गोर्खाबाट राजधानी काठमाडौंमा सार्नुभयो । त्यतिखेर जनतालाई सुबिधा पुगोस् र सबैलाई पायक परोस् भनेर यो महत्वपूर्ण काम गरिएको हो । आज पनि राजधानी काठमाडौंमै छ । काठमाडौं उपत्यकाको आजको सहरीकरण र विकास त्यसैको नतिजा हो । संक्षेपमा भन्नुपर्दा हामी हिमाल, पहाड र तराईमा बस्ने थरीथरी नेपालीले आज साझा देश पाएका छौँ । एउटा सम्पर्क भाषाको रूपमा नेपाली भाषा छ । सूर्य चन्द्र अंकित झण्डा छ । हामी धेरै भाग्यमानी छौँ । आजका हाम्रा शासकले पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई मनन गरी सुशासन कायम गरेमा नेपाल विश्वसामु आपैmँ चम्कने छ । नेपाल प्राकृतिक स्रोत र साधनले ज्यादै धनी र रमणीय देश पनि हो । तर शासन व्यवस्था राम्रो भए पनि शैली राम्रो नभएकोले धेरै मानिस कामको खोजीमा पलायन भइरहेका छन् ।
हामी नेपाली एक भई देशको समृद्धिमा लागौँ । यहि हो पृथ्वी जयन्ती र राष्ट्रिय एकताको सन्देश ।

प्रतिक्रिया