प्रथम महिलाको विवादास्पद छवि

कार्यकारी प्रमुखकी श्रीमतीलाई प्रथम महिलाका रूपमा सम्मान गर्ने चलन छ । शासन सत्तामा प्रथम महिलाको भूमिकाको परिकल्पना गरिएको हुँदैन । तर आफ्नो खुवी, क्षमता र हैसियतअनुसार अप्रत्यक्ष भूमिका रहने कुरालाई अस्वीकार गर्न मिल्दैन । यतिबेला हाम्रो मुलकमा शेरबहादुर देउवा प्रधानमन्त्री छन् । उनकी श्रीमती डा.आरजु राणा प्रथम महिलाको हैसियतमा मात्रै छैनन्, उनी विभिन्न उद्यम तथा व्यवसायमा हात हालेकी प्राज्ञिक महिलासमेत हुन् । दर्जनौँ सरकारी तथा गैरसरकारी संस्थामा संलग्न रहेकी डा.राणा दुई कार्यकाल संविधानसभा सदस्यसमेत भइन् । यतिबेला नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत छन् । त्यसैले शासन सत्तामा प्रधानमन्त्री पत्नी डा.राणाको भूमिका के कस्तो छ ? भन्ने प्रश्न खासै महत्वपूर्ण होइन । सक्रीय भूमिका छ भन्ने कुरा यथार्थ हो, तर यो भूमिकालाई उनले सदुपयोग गरेकी छन् या व्यक्तिगत लाभका लागि दुरुपयोग गरेकी छन् ? दुरुपयोग पनि कुन हदसम्म गरेकी छन् ? भन्ने प्रश्न महत्वपूर्ण हो ।

मिडियामा आएका समाचार हेर्ने हो भने प्रथम महिला राणाले सम्मानित हैसियत कायम राख्न सकेको देखि“दैन । तीन दिनदेखि नारायणहिटी दरबार संग्रहालयको जग्गामा रेस्टुरेन्ट सञ्चालन गर्न बतास अर्गनाइजेसनलाई अनुमति दिइएको समाचारले मुलुक तातेको छ । बतास अर्गनाइजेसनसँग डा.राणाको व्यावसायिक संबन्ध रहेको समाचारका कारण पनि मुलुक तातेको हो । पहिलो कुरा त नारायणहिटी दरबार संग्रहालयजस्तो ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्रमा निजी कम्पनीलाई रेस्टुरेन्ट सञ्चालन गर्ने अनुमति दिइयो । यस्ता ठाउँमा रेस्टुरेन्ट खोल्ने अनुमति दिनै हुँदैनथ्यो । दोस्रो कुरा नेपालकै सबैभन्दा प्राइम लोकेसनमा रहेको स्थानको जग्गा विनाप्रतिष्पर्धा कौडीको भाउमा भाडामा दिइयो । यसरी भाडामा दिने संझौता हुँदा योगेश भट्टराई पर्यटन मन्त्री रहेको देखिन्छ । तर आफ्नो पालामा यो संझौता नभएको भन्दै तत्कालीन पर्यटन मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत खण्डन गरिसकेका छन् । यता रेस्टुरेन्ट सञ्चालन गर्ने बतास अर्गनाइजेसनमा प्रधानमन्त्री पत्नी डा. राणाको संलग्नता रहेको समचार पनि आएका छन् ।

बतास अर्गनाइजेसनको वेब साइटमा डा. राणा सल्लाहकार रहेको भन्दै मिडियाले समाचार प्रवाह गरेका छन् । यद्यपि त्यो समाचार झुठो भएको भन्दै डा. राणाले स्पष्टीकरण दिएकी छन् । प्रधानमन्त्रीकी पत्नी भएका कारण यसबारे सत्यतथ्य छानविन हुनसक्ने संभावना छैन । बतास कम्पनीले आफ्नो लहडमा डा.राणालाई सल्लाहकारका रूपमा राख्यो होला भन्न सकिने आधार छैन । प्रधानमन्त्री पत्नी डा.राणाका अन्य गतिविधि हेर्ने हो भने नारायणहिटी जग्गा भाडा प्रकरणको समाचार गलत नै हो भन्न सकिने अवस्था छैन ।

उदाहरणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातिले मासिक ५० हजार रुपैंया शुल्क तिरेर पढ्ने नेपालकै सबैभन्दा महँगो स्कुल हो, ‘ललितपुरस्थित युलियन्स स्कुल ।’ देउवा पत्नी डा.आरजु राणा उक्त स्कुलकी अध्यक्ष हुन् । यो स्कुलमा उनको ५० प्रतिशतभन्दा बढी सेयर छ । यही स्कुलका ‘ट्रस्टी मेम्बर’ डा.विश्व पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका छन् । युलियन्सकै सिइओ अरनिको पाण्डे राष्ट्रिय योजना आयोगको विज्ञ सल्लाहकारका रूपमा नियुक्त भएका छन् । सलोनी सिंह प्रधानलाई राष्ट्रिय योजना आयोगको सदस्य बनेकी सलोनी सिंह प्रधान डा. राणाकी एनजीओ पार्टनर हुन् । डा. राणाले आफना अर्का ‘व्यावसायिक पार्टनर’ उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएको प्रकरणलाई लिएर त डा.गोविन्द केसी आमरण अनशन बस्ने तयारीमा समेत पुगेका थिए ।

श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएपछि डा.राणाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा समेत हात हालेकी थिइन् । यसपटक मात्रै होइन देउवा अघिल्लोपटक प्रधानमन्त्री हुँदा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही र आरजु राणाका भाइ भूषण राणा बीचको द्वन्द्व सतहमै प्रकट भएको थियो । एउटाका नाममा अर्कोले शासन सत्ता सञ्चालन गर्ने अवस्था भनेको लोकतन्त्रका लागि ज्यादै ठूलो खतरा हो ।

प्रतिक्रिया