एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । आज र भोलीका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यस्ता छन् एजेण्डा

केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा १० औं महाधिवेशन सम्पन्न भए लगत्तै मंसिर १४ गते बसेको थियो । बैठकमा बाँकी मनोनित हुने १० प्रतिशत अर्थात ३१ जना केन्द्रीय सदस्यहरुको सपथ ग्रहण हुने छ । महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बैठकको कार्यसूची रहेको छ। एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने छ ।

एमालेको माहाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन् । आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने छ। विधान सम्पादन र नियमावली संशोधन, बैठक संचालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूचीमा छ ।

प्रतिक्रिया