बिहानै ट्रक भिरबाट खस्यो, दुई जनाको मृत्यु

मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ ।

ट्रक चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया