खेल-खेलाडी

नेपाल यू–१९ एसिया कपको सहज समूहमा

सौर्य अनलाइन २०७८ मंसिर २३ गते ९:३१ मा प्रकाशित

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी यू–१९ एसिया कपमा सहज समूहमा परेको छ । अर्को महिना युएईमा हुने यू–१९ एसिया कपको लागि नेपाल सहज समूह बी मा छ । समूह बी मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू–१९ एसिया कप पुष ८ देखि १७ गते सम्म ( डिसेम्बर २३ देखि जनवरी १) युएईमा चल्नेछ । दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ । दुबै सेमिफाइनल पुस १५ (३० डिसेम्बर) मा हुनेछ ।
सबै टोली पुस ५ मा युएई पुगि सक्नुपर्ने हुन्छ । पुस ६ मा क्वारेनटाइन र पुस ७ मा अभ्यास हुनेछ । नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।

फाइनल पुस १७ गते दुबई इन्टरनेशल स्टेडियममा हुनेछ । यद्यपी एसियन क्रिकेट काउन्सिलले औपचारिक रुपमा भने समूह चरण र खेल तालिका भने सार्वजनिक गरेको छैन । बंगलादेश, पाकिस्तान र अफगानिस्तानले यू१९ एसियाकप खेल्ने टोली घोषणा गरि सकेका छन् । नेपालले २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । एक साताको बन्द प्रशिक्षणपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ । नेपालले यसै साता सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिता आधारमा खेलाडी छनोट गरेको जनाएको थियो । तर प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गर्ने तीव्र गतिका बलर दुर्गेश गुप्ता, अलराउन्डर नारायण जोशी लगायतका केहि खेलाडी भने बन्द प्रशिक्षण मै परेका छैनन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय