नाटक लेखन कार्यशाला हुँदै

कास्की । नेपाली नाटकलाई विकास र विस्तार गर्ने लक्ष्यका साथ कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशालासहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ । कला र साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा नाटक लेखन कार्यशालासहित नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गर्ने भएको हो । यसैगरी, स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठीका साथै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो शृंखला आयोजना गर्ने प्रतिष्ठानका ंसदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले नाटक लेखन कार्यशाला पुस १ देखि ११ गतेसम्म बिहान १०.०० देखि साँझ ५.०० बजेसम्म गरिने बताए । उनका अनुसार एघार दिनसम्म पूरा समय दिनसक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराइने र सहभागिताका लागि नाटकको नमूना पठाउनुपर्ने छ । इच्छुकले एक हजार शब्दमा नबढाई नमूना नाटक लेखेर मंसिर २३ गते बेलुका ५.०० बजेसम्म पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । आवेदनमा परेका नाटकमध्येबाट बढीमा आठ आवेदकलाई उत्कृष्टताका आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिए ।

पोखरा प्रज्ञा प्रतिष्ठान कार्यशालाको आयोजक हो भने पोखरा थिएटरको सहआयोजक छ । पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजना हुने कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्ने जनाइएको छ । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानको आयोजनामा पुस ४ बाट ८ गतेसम्म स्याङ्जा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिने प्रतिष्ठानले जनाएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा हुन लागेको कार्यशालामा २५ जनालाई सहभागी गराइने कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले बताए ।

त्यस्तै, स्थापित जाति विस्थापित भाषाको दुई महिने कार्यशाला पुस १० गतेदेखि गरिने र यो प्रदेशका माग भएका जिल्लामा गरिने सदस्यसचिव श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेश अन्तर्गतका ८४ जातिमध्ये क्रमाङ्क १ देखि २० सम्मका २० जातिको अध्ययन गरिने र प्रत्येकको तीन संस्कृति तथा पाँच बाजाको अध्ययन गरेर ती जाति, संस्कृति र बाजाका बारेमा पुस्तक तयार पार्ने प्रतिष्ठानको योजना छ । अध्ययनलाई आधार बनाएर विद्यालयअन्तर्गतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयका रूपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी रहेको श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानले पुस महिनामा नै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गर्नुका साथै पुस महिनाको दोस्रो हप्ता म्याग्दीमा कवि गोष्ठीको आयोजना गर्न लागेको छ । प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यसको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैँ क्रियाशील बन्ने कुलपति सूर्य खड्का विखर्चीले बताए । उनले भने, ‘प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन, अनुसन्धान र संवद्र्धनका लागि निरन्तर कार्य गर्ने गरी काम अगाडि बढाएका छौं ।’ कुलपति विखर्चीले कला र संस्कृतिको विकास र विस्तारमा प्रतिष्ठानले विविध गतिविधि गरिरहेको जिकिर गरे ।

प्रतिक्रिया