वीरगञ्जका चामल उद्योगीद्वारा भारतबाट धान खरिद

वीरगञ्ज । यहाँका चामल उद्योगीले भारतबाट धान भित्र्याउन सुरू गरेका छन् । भारतको बिहार र उत्तरप्रदेश राज्यका विभिन्न ठाउँबाट यहाँका चामल उद्योगीले धान आयात गरिरहेका छन् । दीपावलीदेखि माघसम्म धान खरिद गरी भण्डारण गर्ने चामल उद्योगीहरूले अहिले चामल उत्पादन गरी बिक्री गर्न सुरू गरेको एकजना उद्योगीले बताए । नेपाल चामल, तेल, दाल संघका अध्यक्ष सुबोध गुप्ताले स्वदेशी चामल उद्योगले चामल उत्पादनका लागि ६० प्रतिशत स्वदेशी धान र ४० प्रतिशत भारतीय धानमा निर्भर हुनुपरेको बताए । उनले सोहीअनुसार धान खरिद भइरहेको बताए । नेपाली धानबाट चामल कम निस्कने गरेको तर भारतीय धानको गुणस्तर तथा मोइस्चर पनि राम्रो हुने भएकोले भारतीय धानको आयात बढेको उनले बताए । धान आयातमा पाँच प्रतिशत भन्सार महसुल मात्र लाग्छ ।

परवानीपुरस्थित ओम एग्रोका सञ्चालक सुरेश रूँगटाले हाल भारतीय सोना मन्सुली धान प्रतिकिलो भारु १८ र जिरामसिनो प्रतिकिलो भारु ३० मा खरिद भइरहेको बताए । वीरगञ्ज–पथलैया, वीरगञ्ज–पोखरिया र वीरगञ्ज–कलैया सडकखण्डमा सञ्चालित करिब दुई दर्जन राइस मिलले अहिले सोना मन्सुलीको थोक मूल्य प्रतिकिलो ४० र जिरामसिनो प्रतिकिलो ५४–५५ रुपैयाँमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार थोक मूल्यमा २० प्रतिशत बढी लिएर रिटेलरलाई बिक्री हुने गरेको छ ।

केही खुद्रा पसलेले सुगमताको आधारमा सोना मन्सुली र जीरामसिनो चामल प्रतिकिलोमा पाँचदेखि आठ रुपैयाँसम्म बढी मूल्य लिएर बिक्री गर्ने गरेको उपभोक्ताहरूको भनाइ छ । यता वीरगञ्जमा सरकारी निकायले किसानको धान खरिद गर्ने अहिलेसम्म सुरसार गरेको छैन । धान खरिद गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगञ्जले अहिलेसम्म धान खरिदको प्रक्रिया अगाडि नबढाउँदा किसान चिन्तित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आपैmँसँग राखेको वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको सो कार्यालयलाई मन्त्रालयले चालु आवमा कुन दरमा कति धान खरिद गर्नेबारेमा पत्राचार नगरेको कारण धान खरिद गर्न नसकेको बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगञ्जका प्रमुख विकास कटुवालले मन्त्रालयको पत्र कुरिरहेको र पत्र आएपछि धान खरिद प्रक्रिया सुरू हुने बताए । उनले सम्भवतः एक÷दुई हप्तामा धान खरिद गर्न निर्देशनसहितको मन्त्रालयको पत्र वीरगञ्ज आइपुग्ने बताए । कार्यालयले गत वर्ष सोना मन्सुली धान प्रतिकिलो २८ रुपैयाँ ८५ पैसाको दरमा किसानबाट धान खरिद गरेको थियो ।

चालु आवमा सरकारले करिब १ रुपैयाँ ७ पैसा समर्थन मूल्यमा बढोत्तरी गरेको छ । यस अनुरूप चालु आवमा करिब २९ रुपैयाँ ९२ पैसा प्रतिकिलोमा धान खरिद हुने अनुमान छ । गत वर्ष करिब ३५ टन सोना मन्सुली धान सरकारले खरिद गरेको थियो भने जिरामसिनो (कतर्नी) धान ३१ रुपैयाँ प्रतिकिलोको दरमा मात्र तीन क्विन्टल खरिद गरेको थियो । सरकारले धान खरिद गर्न ढिला गर्दा किसानले २३÷२४ रुपैयाँ प्रतिकिलोमा व्यापारीहरूलाई बिक्री गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया