मेरो सपना पूरा गरेकी छु : देवी घर्ती

काठमाडौं । लोकगायिका देवी घर्ती आफैँलाई थाहा छैन ठ्याक्कै यति नै गीत गाएँ भन्ने । सयौँ कर्णप्रिय गीत गायिका देवी भन्छिन्, ‘ठ्याक्कै त थाहा छैन । सायद ६ हजारभन्दा बढी नै भयो होला ।’ बागलुङ, पाण्डवखानी–१ की गायिका घर्ती नेपाली लोकदोहोरी तथा लोकगायनका लागि एक प्रतिष्ठित नाम हो । उनका प्रायः गीत दर्शक तथा स्रोताले रुचाउँदै आएका छन् । ‘बिर्सियौ कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘गण्डकी पौडेर’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’ जस्ता लोकप्रिय गीतको उनीसँग चाङ नै छ । यस्तै, ‘जिम्मल बाको आँगनीमा’, ‘यही चाल होला भन्याभा’, ‘उही खोलीमा पानी’ जस्ता गीतहरु स्रोताको ओठमै झुण्डिएको छ । २०६१ सालमा दोहोरी साँझमा गाउनका लागि बागलुङबाट काठमाडौं आएकी घर्ती एकताका यति व्यस्त भइन्, त्यो उनलाई खान र राम्ररी सुत्नसमेत पाउँदिनन् थिइन् । उनी भन्छिन्, ‘त्यो समय एकैदिन आठ वटासम्म गीत रेकर्ड गरेकी छु ।’

लोकदोहोरी क्षेत्रमा उनको माग कहिल्यै तलमाथि भएको छैन । करिब डेढ दशकको सांगीतिक यात्रामा उनी अलिकति पनि डग्मगाएकी छैनन् । उनी उस्तै तीव्रता र उस्तै गतिमा दौडिरहेकी छन् । सांगीतिक माहोलमै हुर्केबढेकी उनी भन्छिन्, ‘बुबाआमा भजन गाउनुहुन्थ्यो । त्योबेला म पनि उहाँहरुसँग भजन सुन्न जान्थेँ ।’ आफ्ना बुबाआमाबाटै आफूमा गाउने गुण सरेको पनि उनी आँकलन गर्छिन् ।

लोकगायिका देवी घर्ती गाउँमा युवा क्लबले नयाँ वर्षको अवसर पारेर गरेको दोहोरी प्रतियोगितामा सहभागी भएको पहिलोपटक नै प्रथम भएकी थिइन् । कक्षा आठमा पढ्दै गर्दा जिल्ला–जिल्लामा एफएम रेडियो खुल्ने लहर चलेको थियो । लक्ष्मी न्यौपाने, बिमाकुमारी दुरा, हरिदेवी कोइराला, सिन्धु मल्ल लगायतका गीत सुनिरहँदा उनलाई लाग्थ्यो, ‘एकदिन म पनि यसरी गीत गाउनेछु ।’ त्यो उनको एउटै लक्ष्य थियो, गायिका बनेर रेडियोमा आफ्नो आवाज घन्काउनु । त्यतिबेलै बाग्लुङमा बसेर गीत–संगीतमा जम्न सकिँदैन भन्ने लागेपछि गायिका घर्तीले काठमाडौं आउने योजना बनाएको सुनाइन् ।

गायिका देवी भन्छिन्, ‘अब काठमाडौं गएर गायिका बन्ने हो । दोहोरी साँझमा गीत गाउने हो भनेर पढ्न छाडेँ ।’ गायिका बन्न राजधानी आउने कल्पनामै उनको चार वर्ष बित्यो । उनी सम्झिन्छन्, ‘एकदिन म्याग्दीमा मेलामा गायिका लक्ष्मी भुजेल काठमाडौंदेखि आएको थाहा पाएपछि मेला हेर्न माइला दाइसँग गएँ ।’ देवीको बारेमा दाइले नै लक्ष्मीलाई सुनाएका थिए । गायिका लक्ष्मीले बोलाएपछि पहिलोपटक दाइको साथ लागेर २०६१ सालमा काठमाडौं आएपछि दोहोरी साँझमा जागिर सुरु गरिन् । त्योबेला काठमाडौंमा दोहोरी साँझको लहर चलेको थियो । उनी भन्छिन्, ‘एक वर्षसम्म एकदिन पनि नबिराई दोहोरी साँझ हाजिर भएँ ।’ त्योबेला उनलाई जागिर पाउन समय नलागेझैँ पहिलो गीत रेकर्ड गराउन पनि समय लागेन । उनी भन्छिन्, ‘दोहोरी साँझमा गायक खड्ग गर्बुजा आउँजाउ गरिरहन्थे । उहाँ नयाँ एल्बमको तयारीमा हुनुहुन्थ्यो । मेरो स्वर उहाँले मनपराएपछि गाउन अफर गर्नुभयो ।’

गायिका देवीले पहिलो पटक रेकर्ड गराएको गीत हो, ‘बतासले रुमाल फरर’ । जुन गीत स्रोताले अत्याधिक रुचाए । त्यसपछि उनका हरेक गीत चर्चामा आउन थाले । ‘पल्के भेना बाई’ होस् वा ‘झल्को लाली ओठको’ बोलको गीत नै किन नहोस् । उनी एकपछि अर्को हिट गीत गाउन थालिन् । हजारौं गीत गाए पनि उनी हिजो जस्तो थिइन्, आज पनि त्यस्तै छन् । उनी भन्छिन्, ‘म पनि सामान्य मानिस नै हुँ । म कलाकार भन्दैमा घमण्ड गर्दिनँ ।’ उनी आफ्नो सपना पूरा भएको खुसी छिन् । देवी भन्छिन्, ‘म खुसी छु । स्रोताको माया पाएकी छु । जसले गर्दा मेरो सपना पूरा भएको छ ।’

प्रतिक्रिया