साफ यू–१९ वुमन्स च्याम्पियनसिप : उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं । सन् २०१८ मा भुटानमा भएको साफ यू–१९ वुमेन्स च्याम्पियन्सिपमा नेपाल उपविजेता बन्यो । तीन वर्षअघि भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा पनि नेपाल पराजित भएको थियो । सेमिफाइनलमा भने नेपालले भारतलाई हराएको थियो । तर उपाधि जित्ने चाहना अधुरै रह्यो । त्यसवेला पहिलो रोजाइकी गोलकिपर रहेकी अन्जन राना मगरको नेतृत्वमा नेपालले यसपटक भने च्याम्पियन बन्ने लक्ष्य राखेको छ । बंगलादेशसँग बदला लिने अनि उपाधि जित्ने लक्ष्यसहित नेपाली यू–१९ महिला राष्ट्रिय टिम मंगलबार ढाका प्रस्थान गर्दैछ । नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठ र कप्तान अन्जनाले टिम राम्रो रहेको र उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

यसपटक पाँच टिम मात्र सहभागी छन् र राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टिमबीच उपाधिका लागि फाइनल खेल हुनेछ । नेपाललले उपाधि जित्ने लक्ष्य पूरा गर्न पहिला शीर्ष दुईमा स्थान बनाउनुपर्छ । नेपाली टिमका प्रशिक्षक हरिओम श्रेष्ठले टिम राम्रो रहेको र टार्गेट नै उपाधि जित्ने रहेको बताएका छन् । ‘हाम्रो टिम राम्रो छ । हाम्रो टार्गेट विजेता बन्ने हो । खेल पनि राम्रो छ,’ सोमबार अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको बिदाइ कार्यक्रममा प्रशिक्षक श्रेष्ठले भने ।

उनले सिनियर टिमका खेलाडी टिममा हुँदा टिम राम्रो बनेको बताए । भारतमा हुने भनिएको फोर नेसन्स कप स्थगित हुँदा दुई खेलाडी यू–१९ टिममा थपिएको उनले बताए । कप्तान अन्जनासहित कुल ६ खेलाडी सिनियर टिमबाट खेलिसकेका छन् । प्रशिक्षक श्रेष्ठले यसपटक बंगलादेशविरुद्ध बदला लिनेसमेत बताए । ‘बंगलादेशविरुद्ध बदला लिनु छ । जितेरै आउनु छ । उनीहरूको मैदानमा भए पनि जित्नुपर्छ’ श्रेष्ठले दृढका साथ भने, ‘पहिलाको भन्दा टिम राम्रो छ । नयाँ आएने खेलाडीहरू पनि राम्रो छ । कुसुम खतिवडा, अमिशा कार्कीलगायत खेलाडी छन् ।’

यू–१९ टिमले तयारी स्वरुप सिनियर टिमसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा पनि राम्रो प्रदर्शन भएको श्रेष्ठले बताए । कप्तान अन्जनाले पनि प्रशिक्षककै भनाईमा सहमत जनाउँदै उपाधि जित्ने लक्ष्य रहेको बताइन् । ‘टिमको लक्ष्य च्याम्पियन हुने नै हो । त्यही अनुसार तयारी भएको छ र रिजल्ट ल्याउने आशासहित जाँदैछौं । हाम्रो मुख्य टार्गेट भनेको भारत र बंगलादेशलाई हराउनु नै हो,’ अन्जनाले भनिन् । उनले त्यसका लागि राम्रो तयारीसमेत भएको र टिम राम्रो रहेको बताए । ‘हाम्रो राम्रो तयारी भएको छ । राम्रो कोचहरू पाएका छौं’ अन्जनाले भनिन्,‘हाम्रो बलियो पक्ष भनेकै टिम राम्रो छ । एउटा राम्रो भन्ने छैन । सबै क्षेत्रमा राम्रो छ । बहिनीहरु पनि खेल्न उत्साहित छन् ।’
कप्तान अन्जनासहित डिफेण्डर विमला विक, मिडफिल्डर प्रिती राई, फरवार्ड रजनी थोकर, रश्मिकुमारी घिसिङ र सबिता राना मगरले सिनियर राष्ट्रिय टिमबाट खेलेका छन् ।

यस्तै उपमेयर कप महिला राष्ट्रिय लिग छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दीपा शाही, चन्द्रा भण्डारी, कुसुम खतिवडा, अमिशा कार्कीलगायत खेलाडी पनि टिममा छन् । प्रशिक्षक श्रेष्ठले कुसुम, अमिसालगायत खेलाडी राम्रो रहेको बताए । प्रशिक्षक श्रेष्ठले राम्रो खेलाडी छनोट गरेर नै राम्रो टिम बनाएको बताए । नेपालले डिसेम्बर ११ मा घरेलु टोली बंगलादेशसँग नै पहिलो खेल खेल्दै च्याम्पियनसिप सुरुआत गर्नेछ । यसपटक नेपालसहित आयोजक बंगालदेश, भारत, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएको च्याम्पियनसिप खेलेको पाकिस्तान र माल्दिभ्स यसपटक सहभागी छैनन् भने श्रीलंकाले पहिलोपटक खेल्दैछ । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ भने तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ मा खेल्नेछ । यस्तै लिगको अन्तिम खेलमा भारतसंग डिसेम्बर १९ मा खेल्नेछ । राउन्ड रोविनको खेलपछि शीर्ष दुई टोलीले डिसेम्बर २२ मा फाइनल खेल्नेछन् ।

प्रतिक्रिया