देउवाले पनि बाेलाए पदाधिकारीका आकांक्षीकाे बैठक

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आज आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेतासँग छलफल गर्ने भएका छन् । महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन् । ‘साथीहरुसँगको छलफलका लागि सभापतिज्यूले बुढानिलकण्ठमा बिहान ९ बजे बैठक बोलाउनु भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने । देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए । देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन ।

पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ । कांग्रेसकाे १४औँ महाधिवेशन २४ मंसिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ । देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन् । संस्थापनइतरले पनि सभापतिमा साझा उम्मेदवार चयन आजसम्ममा टुंग्याउने तयारी गरेको छ ।

मंगलबार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसके पनि सहमतिको नजिक पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनकाअनुसार आजसम्ममा सभापतिको साझा उम्मेदवार चयन गर्ने उनको दाबी छ । सभापतिमा निर्णयमा पुगेपछि संस्थापन इतरले पदाधिकारी र केन्द्रीय सदस्यहरु विषयमा छलफल गर्ने तयारी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ । न्युज कारखाना

प्रतिक्रिया