कालापानी–लिपुलेकको जनगणना गर्न गोप्य तयारी !

काठमाडौं । ‘मेरो गणना मेरो सहभागिता’ को मुल नारासहित शुरु भएको १२ औँ राष्ट्रिय जनगणना २०७८ हालै सम्पन्न भयो । केन्द्रीय तथ्यांक विभागले सफलतापूवर्क जनगणना सम्पन्न भएको बताइरहँदा नेपालको नयाँ नक्शामा समावेश गरिएको कालापानी–लिपुलेक क्षेत्रमा भने गणकहरु पुग्न सकेनन् । देशैभर जनगणना सकिएको १३ दिन वितिसक्दा पनि यी विवादित भूमिमा रहेको बस्तीलाई कसरी समेट्ने भन्ने ध्याउन्नमै छ, विभाग । विभागका अधिकारीहरु त्यहाँ जनगणनाका लागि गोप्य तयारी भइरहेको दावी गर्छन् । तर, कसरी जनगणना हुन्छ भन्ने अहिले खुलाउन नमिल्ने ती अधिकारीको भनाइ छ ।

विभागले उक्त क्षेत्रमा भौतिकरुपमै जनगणना गराउन कुटनीतिक पहल गरेको थियो । तर, सफल भएन । परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाइए पनि भारतबाट कुनै जवाफ आएन । भारतबाट औपचारिक रुपमा पत्र आए भौतिकरुपमा फिल्डमा नै गएर जनगणना गर्ने तयारी रहेको विभागका एक उच्च अधिकारीले बताए । उनले भने, ‘परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ । उताबाट केही आएको छैन । पत्र आयो भने हामी भौतिकरुपमा फिल्डमा फेरि पनि जान सक्छौ ।’

विभागले कालापानी लिपुलेकमा जनगणना गर्ने गोप्य तयारी भइरहेको बताएको छ । तर, संवेदनशील विषय भएकाले यसबारे धेरै खुलाउन नमिल्ने उच्च स्रोतले बतायो । ‘यो गम्भिर विषयमा चुप लागेरै बस्दा ठिक हुन्छ । भोलि रिजल्ट आएपछि मात्रै हेर्नतिर जानुपर्छ । अहिले बोल्यो भने देशका लागि घातक हुन सक्छ,’ स्रोतले भन्यो । त्यहाँ जनगणना नगराउँदा नेपालको जनसंख्यादेखि हरेक तथ्यांकमा छुट्ने विभागका अधिकारीहरु बताउँछन् । तर, जनगणना गर्न सरकारले भने चासो दिएको छैन ।

कालापानी, लिपुलेक लिम्पियाधुराको बस्तीमा २०१८ सालमा नेपालले पहिलोपटक जनगणना गरेको थियो । २०१८ सालमा भैरव रिसालले त्यहाँ जनगणना गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा नेपालको तर्फ २०४८ सालमा पनि सरकारले जनगणना गरेको थियो । त्यसबखत दार्चुला जिल्लाको साविकको व्यास गाउँ पञ्चायत वडा १ को जनगणना गर्दा जम्मा ४२३ जना बासिन्दा र १ सय ५० घर धुरी भेटिएका थिए । त्यसबखत पनि कालापानी–लिपुलेक समेटेर जनगणना गरिएको थियो ।

२०६८ मा जनगणना नभएका कारण त्यस क्षेत्रमा नेपालीको कति जनसंख्या छ भन्ने तथ्यांक ब्यास गाउँपालिकासँग पनि छैन । भारतले हस्तक्षेप गरेको अवस्थामा कसरी सरकारले ती क्षेत्रलाई जनगणनामा समेट्छ भन्ने प्रश्नचिन्ह खडा भएको छ । अहिले ती क्षेत्रमा दुई तरिकाबाट जनगणना गर्न सकिने सीमाविद् वुद्धिनारायण श्रेष्ठको सुझाव छ । एउटा स्याटलाइटको माध्यमबाट र अर्को घरगन्ति ।

लिपुलेक लिम्पियाधुरा क्षेत्रको कुटी, नाभी, गुञ्जीमा रहेका बासिन्दाहरुको पनि नेपालबाट जनगणना हुनुपर्ने सीमाविद् श्रेष्ठ बताउँछन् । भौतिक दृष्टिकोणले गणना गर्न नसके पनि त्यस क्षेत्रको तथ्यांक स्थापना गर्नैैपर्ने उनको भनाइ छ । उनले भने, ‘यो राष्ट्रियता देशको स्वाधिनता र भौगोलिक अखण्डतासँग गाँसिएको क्षेत्र हो । अब त्यसलाई वैकल्पिक माध्यमबाट भर्चुअलरूपमा गर्नुपर्छ ।’ ती क्षेत्रमा भारतले जान नदिए स्याटेलाइटबाट जनगणना गर्न सकिने विकल्प छ । पाकिस्तान, अफगानिस्तान लगायतका अन्य देशहरूमा पनि स्याटलाइट विधिबाट जनगणना गरिएकोले नेपालमा पनि त्यस्तो प्रयोग गर्न सकिने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया