लुम्बिनी विकास बैंकका पाँच शाखा एकैसाथ उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंकले पाँच नयाँ शाखा कार्यालयहरू एकैसाथ उद्घाटन गरेको छ । बैंकिङ् सेवा विस्तार क्रममा आज (मंसिर १९ गते) काठमाडौं, रूपन्देही, नवलपरासी, दाङ र बाँकेमा एकैसाथ नयाँ शाखा खोलिएको सो बैंकले जानकारी दिएको छ । काठमाडौंको नयाँ बानेश्वर चोक, रूपन्देहीको मणिग्राम, नवलपरासीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुर साझाचोकमा बैंकले नयाँ शाखा खोलेको हो । यी शाखाहरू बैंकका क्रमशः ७३, ७४, ७५, ७६ र ७७ औं हुन् । थपिएका पाँचसहित देशभर बैंक शाखा संख्या ७७ पुगेको हो ।

नयाँ बानेश्वर शाखा उद्घाटन बैंक सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजुकुमारी गुप्ता, बर्दघाट शाखा बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल र बैंक सञ्चालक केशव खतिवडा, मणिग्राम शाखा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले संयुक्त गरेका हुन् ।

घोराही शाखा उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले संयुक्त गरेका बैंकले जानकारी दिएको छ । बैंकका अनुसार कोहलपुर शाखा उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैंक सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन् ।

७७ शाखासहित देशभर लुम्बिनी विकास बैंकका १७ वटा एटिएम सञ्चालनमा छ । करिब तीन लाख ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवम् नवीनतम प्रविधिसहित सुरक्षित बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको दाबी छ ।

प्रतिक्रिया