पुरानो पुस्ता र नयाँ पुस्ताबीच पुलको खाँचो छ

नवराज गुरुङ

यसपटक भने केन्द्रीय सदस्यको उम्मेदवार बनेर मैदानमा उत्रने निधो गरेको छु । पार्टीबाट केही लिनका लागि केन्द्रीय सदस्य बन्ने मेरो चाहना होइन, आफ्नो क्षमताले भ्याएसम्म दिनका लागि हो । नयाँ पुस्ता र पुरानो पुस्तावीच पुल आवश्यक परेको छ यसैका लागि मेरो उम्मेदवारी हो ।

मेरो राजनीतिक प्रारम्भ आफ्नै पिताजी चन्द्रबहादुर गुरुङको प्रेरणाबाट भएको हो । २००७ सालको क्रान्तिका क्रममा धेरै मोर्चामा सक्रिय मेरा पिताजी परिवर्तनको आरम्भ आफ्नै घरबाट गर्नुपर्छ भन्ने आदर्शबाट ओतप्रोत हुनुहुन्थ्यो । त्यतिबेला गुरुङ समुदायमा सामान्य लेखपढ गर्न जानेपछि बेलायती, भारतीय सेनाका लाहुरे बन्न जाने प्रचलन थियो । तर, पिताजीले त्यो समयमा पनि गण्डकी धवलागिरि क्षेत्रमा शिक्षाको जागरण आरम्भ गर्नुभयो ।

मेरो विद्यार्थी जीवन आरम्भ हुँदा नेपालमा निरंकुश पञ्चायती व्यवस्था सुरु भइसकेको थियो । व्यापक दमनका बाबजुद नेपाली कांग्रेसले आफ्ना गतिविधि अघि बढाइरहेको थियो । नेपाली कांग्रेसका प्रचार सामग्री ओसारपसारमा संलग्न हुने क्रमसँगै मेरो राजनीति जीवन प्ररम्भ भयो । १६ वर्षको उमेरमै उच्च शिक्षा हासिल गर्नका लागि त्रिचन्द्र क्याम्पसमा भर्ना भएँ । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा त्यतिबेला नेविसंघको अध्यक्ष हुनुहुन्थ्यो । त्रिचन्द्र कलेजमा उहाँको आउजाउ निकै बाक्लो थियो । देउवाजीले नेविसंघको केन्द्रविन्दु त्रिचन्द्र क्याम्पसलाई नै बनाउनुभएको थियो । तत्कालीन सत्ताले त्रिचन्द्र कलेजलाई टार्गेट बनाएर मण्डले परिचालन गर्न थाल्यो । मण्डलेसँग प्रतिकार गर्ने क्रममा म सख्त घाइते भएपछि पूर्णकालीन राजनीतिमा होमिने निधोमा म पुगेँ ।

लाहुरे बन्ने कुरालाई त पिताजीले इन्कार गरिसक्नुभएको थियो । पढाइ राम्रो भएका कारण छोरो डाक्टर वा इन्जिनियर बनोस् भन्ने पिताजीको चाहना थियो । तर, पञ्चायतको दमन तीव्र भएको आफ्नै आँखाले देखेपछि, मण्डले लगाएर क्याम्पसभित्रै गरिएको आक्रमणमा आपैmँ घाइते भएपछि डाक्टर वा इन्जिनियर बन्ने चाहनालाई त्याग्दै आजीवन संघर्षमा होमिने निधो गरेँ ।

०३३ सालमा बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केने क्रममा हामी स्वागत गर्न एयरर्पोट पुगेका थियौँ, तर मूल गेटमै प्रहरीले व्यापक लाठीचार्ज र गिरफ्तार गर्न थाल्यो । गिरिफ्तारबाट जोगिनेहरूलाई पक्राउका लागि वारेन्ट जारी भयो । केही महिना भूमिगत बस्न बाध्य भएँ । ०३६ सालको विद्यार्थी आन्दोलनको केन्द्रविन्दू त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको कान्ति छात्रावासलाई बनाइएको थियो । छात्रवासमा बस्ने विद्यार्थीहरूको कमान्डिङ गर्ने जिम्मेवारी नेविसंघले मलाई दिएको थियो । त्यतिबेला म त्रिवि कीर्तिपुरको स्ववियु सदस्यमा नेविसंघको तर्फबाट निर्वाचित भइसकेको थिएँ ।

०३६ सालमा जनमत संग्रहको घोषणा भएपछि नेपाली कांग्रेसले बहुदलको प्रचारप्रसारका लागि मलाई आफ्नै गृह जिल्ला पर्वतमा खटायो । तर म पर्वतमा मात्रै सीमित हुने परिस्थिति भएन । गुरुङ समुदायको बसोवास भएका क्षेत्रमा राज्य सत्ताले बहुदलप्रति अफावह फैलाएका कारण गोरखा, लमजुङ, काश्कीलगायत केही जिल्लाको उत्तरी भेगमा पनि खटिनुपर्ने भयो । बिपी कोइरालालाई प्रचारका लागि गण्डकी क्षेत्रमा टेक्न नदिने भन्दै मण्डलेहरूको जत्था नै तयार पारिएको खबर आएपछि प्रतिकारका लागि मैले पनि गतिलै दस्ता तयार गरेँ । हामीले मज्जाले प्रतिकार ग¥यौँ । यद्यपि स्याङ्जा जिल्लामा भने हाम्रा निकै साथीहरू घाइते हुनुभयो ।

जनमत संग्रहका बेला गण्डकी क्षेत्रमा मैले पु¥याएको योगदानका कारण हुनुपर्छ या धेरै साथीहरूले नाम लिएका कारण हुनुपर्छ, ०३६ साल चैतमा जनकपुरमा भएको नेविसंघको तेस्रो महाधिवेशनमा परम आदरणीय जननेता बिपी कोइरालाले मलाई छुट्टै भेटघाट दिनुभयो । न्यानो अँगालो हाल्दै बिपीले भन्नुभयो, ‘नवराजी, देशीविदेशी शक्ति लागेर बहुदललाई हराउने ठूलो षड्यन्त्र भइरहेको छ, बहुदललाई हराइएछ भने पनि अब निर्दलीय पञ्चायत धेरै समय टिक्नेवाला छैन, केही वर्षभित्रै मुलुकको बागडोर हामीले संहाल्नुपर्ने हुन्छ, त्यतिबेला शिक्षित र असल व्यक्तिहरू पार्टीलाई आवश्यक पर्छ, तपाईं मेधावी विद्यार्थी पनि हुनहुन्छ, पढाइ र विषयवस्तुको ज्ञानलाई महत्व दिनु, आफ्नो क्षेत्रमा असल व्यक्तिको रूपमा छवी कायम गर्नु ।’

त्यतिबेला बिपीले मलाई नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै दिएको यो मूल मन्त्रलाई मैले कुनै पनि क्षण बिर्सिनँ । जनमत संग्रहमा षड्यन्त्रपूर्वक बहुदललाई हराइयो । जरुरी कामबाट फुर्सद मिलेसम्म बिपी कोइरालालाई भेट्न उहाँको निवास चाबहिल पुग्ने मेरो दिनचर्याजस्तै थियो, त्यतिबेला । तत्कालीन राजाले आफ्नो घोषणामा उल्लेख गरेको प्रतिवद्धता पूरा नगरेपछि ०३८ सालको पञ्चायती निर्वाचन सक्रियताका साथ बहिष्कार गर्ने नीति पार्टीले लियो । त्यसका लागि हरेक अञ्चलमा र जिल्लामा सम्पर्क समिति गठन गरियो । धवलागिरि सम्पर्क समितिको सल्लाहकार सदस्यका जिम्मेवारी मैले निर्वाह गरेँ ।

०३९ सालमा बिपी कोइरालाको स्वास्थ्य अवस्था ज्यादै खराब भयो । उपचारका लागि ठूलै खर्च लाग्ने अवस्था थियो । मेरो संयोजकत्वमा त्रिवि कीर्तिपुरमा बिपी कोइराला स्वास्थ्य कोष खडा गरियो । तर, तत्कालीन राज्य प्रशासनले क्रुरताको हद नाघ्दै मलाई पक्रेर २१ दिनसम्म डिएसपी कार्यालयमा राख्यो ।

०३९ साल साउन ६ गते मुलक र प्रजातन्त्रका लागि निकै दुःखद् घटना भयो । बेलुका ७ बजे गिरिजाबाबुले बिपीको निधन भएको खबर सुनाउँदा हामी मर्माहत भयौँ । रातभरी बिपीको पार्थिव शरीर कुरेर बस्यौँ । भोलिपल्ट नेविसंघको कमान्डमा शवयात्रा भयो । शवयात्राको कमान्ड गर्ने संयोजकको जिम्मेवारी नेविसंघले मलाई दिएको थियो ।

०४० सालमा बनकालीमा भएको नेविसंघको अधिवेशनबाट मैले उपाध्यक्षको जिम्मेवारी पाएँ । नेविसंघको उपाध्यक्षका नाताले ०४२ सालको सत्याग्रहको केन्द्रीय एक्सन कमिटीको सदस्यको जिम्मेवारी मैले निर्वाह गरेँ । सत्याग्रहले अपेक्षा गरेअनुसार सफलता प्राप्त गर्न नसकेपछि अर्को आन्दोलनको तयारी गर्नुपर्ने भयो । तत्कालीन कार्यबहाक सभापति किशुनजीले मलाई छुट्टै बोलाएर भन्नुभयो, ‘नवराज बाबु, ब्यापक तयारीविना निर्णायक आन्दोलन गर्नुहुन्न भन्ने पाठ हामीलाई सत्याग्रहले सिकायो । अब जनस्तरमा र विद्यार्थीस्तरमै पार्टीलाई थप सशक्त बनाउनुपर्ने भयो । नेपालकै सबैभन्दा धेरै विद्यार्थी पढ्ने पोखराका पृथ्वीनारायण क्याम्पसमा नेविसंघ कमजोर भएको तपाईंलाई थाहै छ, पोखरा भनेको काठमाडौंपछिको दोस्रो महत्वपूर्ण ठाउँ हो, त्यहाँका नेविसंघका विद्यार्थीहरूको मनोबल बढाउनका लागि पनि तपार्इं पृथ्वीनारायण क्याम्पसमा लेक्चर भएर जानुप¥यो ।’

आदरणीय पार्टी सभापति किशुनजीको आग्रहलाई शीरोधार्य गर्दै ०४५ सालमा अंग्रेजी विषयको लेक्चर बनेर म पृथ्वीनारायण क्याम्पसमा गएँ । गाउँगाउँबाट आएका विद्यार्थीहरूको अंग्रेजी कमजोर हुन्थ्यो । केही साथीहरूको सहयोगमा मैले निःशुल्क ट्युसन पढाउने व्यवस्था मिलाएँ । धेरै विद्यार्थीहरूलाई नेविसंघका आवद्ध गराउने र आवद्ध भइसकेका विद्यार्थीलाई थप जुझारु बनाउने उद्देस्यका साथ सुरु गरिएको ट्युसनको कार्यक्रम निकै सफल भयो । प्राध्यापक संघलाई नै थप सक्रीय बनायौँ । अखिलको गड मानिने पृथ्वीनारायण क्याम्पसबाट नेविसंघका धेरै क्याडरहरू उत्पादन हुन थाले । ०४६ सालको जनआन्दोलनमा पृथ्वीनारायण क्याम्पसको योगदान उल्लेखनीय रह्यो । आन्दोलनले गति लिँदै गर्दा भूपति ढकार सर र म पक्राउ प¥यौँ । आन्दोलन सफल भएपछि हिरासत मुक्त भयौँ ।

बहुदलीय व्यवस्था पुनस्र्थापना पछि हाम्रो पार्टीको काँधमा थप गहन जिम्मेवारी आइप¥यो । प्राध्यापनमा संलग्न रहँदारहँदै पनि बिपी कोइरालाले दिएको सुझावलाई मूल मन्त्र मान्दै मैले आफ्नो पढाइलाई निरन्तरता दिइरहेको थिएँ । यस क्रममा मैले कानुन विषयमा स्नातक र भूगोल विषयमा स्तातकोत्तर गरिसकेको थिएँ । राजनीति शास्त्रमा पनि स्नातकोत्तर तहसम्मको अध्यायन पूरा गरिसकेको थिएँ । कुनै एउटा विषयमा विद्यावारिधि गर्ने सोच अघि बढाएको थिएँ । उम्मेदवार बन्ने सोचका साथ जनस्तरमा गएर गृहकार्य गर्न भ्याएकै थिइनँ । ०४८ सालमा पर्वत क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुपर्ने भयो । तर, कम्युनिस्टहरूको तयारीका अगाडि हाम्रो पूर्वतयारी कमजोर भएछ । सफल हुन सकेनौँ । त्यसपछि अरू सबै कुरा छाडेर जनस्तरमै काम गर्न थालेँ, तर हाम्रै पार्टीमा आन्तरिक प्रतिस्पर्धा सुरु भयो । अरू साथिहरूका लागि त्याग गर्नुपर्ने परिस्थिति बन्यो ।

०५९ सालदेखि ०६७ सालसम्म नेपाली कांग्रेस पर्वतको सभापतिका रूपमा काम गरेँ । ०६७ सालमा सम्पन्न १२औँ महाधिवशनबाहेक ०४८ साल यताका सबै महाधिवेशनमा महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिका रूपमा भाग लिने अवसर पाइरहेको छु । तर त्यहाँभन्दा माथिल्लो जिम्मेवारी बहुन गर्ने अवसर जुर्न सकेको छैन ।

०४६ सालभन्दा अघिको दुईदशक त अत्यन्त कठिन संघर्षैसंघर्षमा बित्यो । जुन कुरा माथि उल्लेख गरिसकेको छु । ०४६ पछिको दिन दशकमा पनि मैले आफ्नो योग्यता र क्षमता अनुसारको लाभको पद तथा अवसर पाएको छैन । किनकी मलाई चाहियो भन्दै आपैmँ अघि सर्ने स्वभाव मेरो रहेन । देखेको कुरा बोल्ने, विसंगति विकृति नसहने मेरो स्वभावले चाकडी र चाप्लुसी कहिल्यै जानेन । पार्टीबाट के पाउँछु ? भन्नुभन्दा पनि पार्टीलाई के दिनसक्छु ? भन्ने उद्देश्य बोकेर नेपाली कांग्रेसमा होमिएको सिपाहीको नाताले म एउटा कुरामा भने गौरवान्वित छु । त्यो हो साथीहरूको माया र सहानुभूति । ५० वर्षको यो दौरानमा मैले साथीहरूको धेरै माया पाएको छु ।

केन्द्रीय सदस्यको जिम्मेवारी बहन गर्न विगतदेखि नै साथीहरूले आग्रह गर्दै आउनुभएको मैले बिर्सेको छैन । तर विविध कारणबस विगतमा उम्मेदवार बन्ने परिस्थिति मिलेन । उम्मेदवार नै नबनेपछि मैले जिम्मेवारी पाइनँ भनेर गुनासो गर्ने ठाउँ पनि छैन । तर, यसपटक भने केन्द्रीय सदस्यको उम्मेदवार बनेर मैदानमा उत्रने निधो गरेको छु । पार्टीबाट केही लिनका लागि केन्द्रीय सदस्य बन्ने मेरो चाहना होइन, आफ्नो क्षमताले भ्याएसम्म दिनका लागि हो । नयाँ पुस्ता र पुरानो पुस्ताबीच पुल आवश्यक परेको छ यसैका लागि मेरो उम्मेदवारी हो । (कुराकानीमा आधारित)

प्रतिक्रिया