कुन्ती शाहीलाई दीपकराजले भने, ‘क्यामेरा अगाडि तपाईंको पसिना छुट्नेछ’

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले राप्रपा अभिनेत्री कुन्ती कुमारी शाहीलाई चलचित्रको कामलाई सजिलो नआंक्न चुनौती दिएका छन् । कुन्तीले अभिनेत्री रेखा थापालाई राजनीति गर्न चलचित्र खेल्नजस्तो सहज नरहेको चुनौति दिएपछि दीपकले रेखाको पक्ष लिँदै चलचित्रलाई सहज र सजिलो कामका रुपमा नबुझ्न चुनौती दिएका हुन् ।

‘रेखा थापालाई कुन्ती जीले राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन भन्नु भएछ । कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर ? एकचोटी ट्राई गरेर हेर्नु हुन्छ ? क्यामेरा अगाडि तपाईंको पसिना छुट्नेछ,’ दीपक भन्छन्, ‘संसारका सबै काम आआफ्नो ठाउँमा गाह्रो नै हुन्छ । त्यसैले कुनै पेशालाई सजिलो ठान्ने काम नगरौं ।’

राप्रपाको जारी एकता महाधिवेशनमा महिलातर्फ महामन्त्री पदका लागि कलाकार रेखा थापा र नेतृ कुन्तीकुमारी शाहीबीच प्रतिस्पर्धा हुँदै छ । शाही अध्यक्षका उमेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उमेदवार छिन् । रोखा राजेन्द्र लिङ्देन समूहबाट उमेदवार छिन् । राप्रपामा एक जना महिलासहित तीन महामन्त्री रहने व्यवस्था छ ।

शाहीले रेखालाई राजनीति गर्न चलचित्र खेलेजस्तो सजिलो नरहेको बताएकी थिइन् । त्यसको प्रतिक्रिया दीपकले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । त्यसो त कलाकारलाई राजीतिक दलहरुले चुनाव जित्न प्रयोग गर्ने गरेको भन्दै दीपकले रेखालाई सचेत पनि गराएका छन् ।

“एउटा कलाकारलाई चुनाव जित्नका लागि सधैँ दलहरूले प्रयोग गर्दै आइरहेको र उनीहरूलाई कुनै पनि महत्त्वपूर्ण जिम्मेवारी वा पदबाट बत्तिचत गरिँदै आएको छ,” दीपक भन्छन्, “यस्तो अवस्थामा रेखा थापाले महामन्त्री जस्तो महत्त्वपूर्ण पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुलाई मैले एक कलाकारको हिसाबले स्वागत योग्य ठान्दछु ।” दीपकले रेखालाई जितको शुभकामना मात्रै दिएका छैनन् । गणतन्त्रबादी रेखा कसरी राप्रपा भइन् भनेर प्रश्न चिह्न पनि उठाएका छन् । सुरुमा रेखा तत्कालीन माओवादी केन्द्रमा थिइन् । पछि राप्रपा प्रवेश गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया